रंगमञ्चमा डेब्यु अनुभव : प्रेमिका बन्न गाह्रो भो
अहिले नेपाली चलचित्रमा रंगकर्मीको दबदबा छ। कुनै समय रंगकर्म र चलचित्रबीच त्यति नजिकको सम्बन्ध थिएन। तर अवस्था बदलिएको छ। रंगमञ्चमा रुचाइएका कलाकार पर्दामा पनि चम्केका छन्। त्यसैले चलचित्रमा जस्तै रंगकर्मप्रति पनि युवाको आकर्षण देखिन्छ।
जीवनमा कुनै पनि काममा पहिलो अनुभव अविस्मरणीय हुन्छ। गन्तव्यमा पुग्न पहिलो खुड्किलोको विशेष महत्रव पनि हुन्छ। रंगमञ्चमा पहिलोपटक प्रस्तुत भएका कलाकारले विनीता मरहट्टासँग आफ्नो अनुभव सुनाएका छन्।
नाटकको भोक बढ्दै छ
आरजु खरेल
पहिला म्युजिक भिडियोमा अभिनय गरेकी थिएँ। म्युजिक भिडियोमा सिक्न नपाएका धेरै कुरा नाटकमा सिक्न पाएँ। चरित्रमा डुबेर भावना कसरी ल्याउने भनेर सिकेँ। अझै धेरै सिक्न बाँकी छ। पहिले स्कुलको कार्यक्रममा नाटक गरेकी थिएँ। व्यावसायिक रूपमा चाहिँ मेरो पहिलो नाटक लू हो।
सुरुमा एकदम गाह्रो हुँदो रहेछ। पछि सजिलो लाग्दै गयो। अभिनय गर्ने वातावरण आफैं बन्दै जाँदो रहेछ। टिममा काम गर्छौं। पूरै टिमको शक्तिले मात्र सफलता सम्भव हुन्छ। यसले ऊर्जा दिने रहेछ। रंगमञ्चमा काम गर्ने विषयमा सोचेकी थिइनँ। सिक्न चाहिँ मन थियो।
एउटा कार्यक्रममा निर्देशक सरिता गिरी दिदीसँग भेट भएको थियो। उहाँलाई मुस्लिमजस्तो देखिने अनुहार चाहिएको रहेछ। त्यही भेटबाट मैले नाटकमा अभिनय गर्ने मौका पाएकी हुँ। सिक्दै जाँदा नाटकको भोक बढ्दै गएको छ।
रंगमञ्च छाड्दिनँ
रिनेक्स बस्नेत
रंगमञ्चमा काम गर्दा रमाइलो भइरहेछ। धेरै मेहनत गर्नुपर्ने रहेछ। मैले बुख्याँचा मनबाट रंगमञ्च डेब्यु गरेको हुँ। सोचेभन्दा धेरै गाह्रो पनि रहेछ। रंगमञ्चमा काम गर्छु भनेर मैले कल्पना पनि गरेको थिइनँ। बाहिरबाट हेरेर यसको गहिराइ बुझिँदैन।
गहिराइ बुझ्न काम गर्नु नै गर्नु पर्छ। तर थिएटरमा जति गाह्रो छ, त्यति नै रमाइलो पनि छ। यसका लागि सबैभन्दा महत्रवपूर्ण कुरा लगन हो। भोक हो। जति भोक भयो त्यति राम्रो काम गर्ने चाहना बढ्दै जान्छ। नसोचेरै आएको थिएँ, अब रंगमञ्च छोड्न सक्दिनँ। सर्वनामकै लागि केही गर्ने सोचमा छु। स्कुल कलेजमा रंगमञ्चका बारेमा बुझाउन मन छ।
गाली पनि प्रेरणा
आरोही शर्मा
चलचित्रमा काम गर्दा नसिकेको कुरा यहाँ सिक्न पाएकी छु। चलचित्रमा यति गहिरो बुझाइ हुँदैनथ्यो। चलचित्रभन्दा नाटक फरक रहेछ। पहिले दर्शक भएर नाटक हेर्थें। एक घन्टाको नाटक हेर्यो निस्कियो। कलाकारलाई कमेन्ट गरिन्थ्यो। अहिले आफू कलाकार भएर काम गर्दा सानो कुरामा पनि कत्ति गाह्रो हुँदो रहेछ भन्ने थाहा भयो।
नाटक गर्न एकदम ठूलो धैर्य चाहिन्छ। एक घन्टाको नाटकमा प्रस्तुत हुनुअगाडि धेरै मेहनत गरिएको हुन्छ। यो काम सकेपछि अर्को काम गर्दिनँजस्तो लाग्छ। तर, काम गर्दै जाँदा अझै धेरै गर्ने चाहना बढ्दो रहेछ। बुख्याँचा मन मेरो पहिलो नाटक हो। रंगमञ्चको अभिनयलाई दर्शकले तुरुन्त प्रतिक्रिया दिन्छन्। नाटकमा दर्शकले गरेको गाली प्रेरणाजस्तो लाग्छ तर चलचित्रमा दर्शकको गाली अलि फरक हुन्छ।
जीवन्त रंगमञ्च
सरस्वती अधिकारी
सानोमा क्यारिकेचर गर्न एकदम मन पथ्र्यो। कक्षामा जो शिक्षकशिक्षिका पढाएर जानुहुन्थ्यो, उहाँकै क्यारिकेचर गर्थें। अभिनयको रहर भए पनि रंगमञ्चकै विषयमा चाहिँ सोचेकी थिइनँ। नाटक हेर्दै जाँदा रंगमञ्च जीवन्त लाग्न थाल्यो।
लाइभ क्यारेक्टर देखेपछि यसैले तान्यो। लू मेरो पहिलो अनुभव हो। रमाइलो हुँदैछ। साउन्ड, लाइटसँग कहिल्यै नखेलेको मान्छे, के होला भन्ने डर थियो। पहिले दर्शक भएर जाँदा नाटक हेरेर रमाइलो गरिन्थ्यो।
आफूमा नाटकको पात्र देखिन्थ्यो। त्यतिबेला दर्शकका रूपमा रमाइलोमात्र हुन्थ्यो। अहिले कलाकार हुँदा जिम्मेवारी बढी हुँदो रहेछ। स्टेजमा पुग्नुअगाडि धेरै संघर्ष हुँदो रहेछ।
रिहर्सलको समयमा खाने सुत्ने समय नभनी काम गर्यौं। चरित्रलाई आफूमा ढाल्न नसक्दासम्म निकै गाह्रो हुन्छ। चरित्रमा डुबेपछि सजिलो हुँदै जान्छ। नपढेका मान्छेले कलाकारिता गर्छन् भन्ने मान्यता समाजमा छ। त्यही मान्यता तोड्न पढाइ पूरा गरेर अभिनय गर्दैछु। अब यसलाई निरन्तरता दिन्छु।
रमाइलो लागिराछ
समृद्धि चापागाईं
पहिलो पटक थिएटरमा उत्रिँदा रमाइलो लागिराछ। यसअघि मैले म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिसकेकी छु। नाटकमा काम गर्दा रमाइलो लाग्यो।
सुरुमा त के भन्ने के गर्ने भनेर आउँदैनथ्यो। म्यामले सिकाउनुभयो। दर्शकको अगाडि अभिनय गर्न डर चाहिँ खासै लागेन। लु मेरो पहिलो नाट हो। सजिलो लागिराछ। अब यसपछि म्युजिकमा काम गर्न मन छ।
उत्सुकता थपिएको छ
शर्मिला नगरकोटी
नाटकको तालिम लिँदा भन्दा बुख्याँचा मनमा काम गर्दा धेरै सिक्न पाएँ। विद्यार्थी हुँदा नसिकेको कुरा मञ्चमा सिकेकी छु। राज दाइसँगको काम गराइ बेग्लै लाग्यो।
पहिले नाटक हेर्दाहेर्दै रंगमञ्चको विषयमा जान्ने इच्छा भयो। उत्सुकता बढ्यो। त्यही उत्सुकताले यहाँसम्म ल्यायो। बुख्याँचा मन गरेपछि केही उत्सुकता मेटिएको छ, केही थपिएको छ। जति बुझ्न बुझ्यो झन् बुझ्न मन लाग्दो रहेछ। नाटकको यो गहिराइका बारेमा सोचकै थिइनँ।
दर्शक हुँदा र कलाकार हुँदाको अनुभवमा आकाश जमिनको फरक पाएँ। यति गाह्रो हुन्छ भनेर सोचेको थिइनँ, काम गर्न थालेपछि यति धेरै लगाव हुन्छ भनेर पनि सोचेको थिइनँ।
सुरुमा त दर्शकको अगाडि कसरी पर्ने भनेर डर थियो। पछि आफ्नो क्षमता बढाउँदै लैजानुपर्छ भन्ने सोच आउँदो रहेछ। गल्तीबाटै सिक्दै जाने हो। सक्छु भनेर लागेपछि गरिँदो रहेछ। अब त रंगमञ्च छोड्दै छोड्दिनँ।
प्रेमिका बन्न गाह्रो भो
सुजिता अधिकारी
रंगमञ्चमा रमाइलो लागिरहेछ। अभिनय सिक्न भनेर यहाँ आएकी थिएँ। यसबारे अलिअलि थाहा पनि थियो। तर यति गाह्रो हुन्छ भन्ने चाहिँ सोचेकी थिइनँ। पर्दा पछाडिको दुःख धेरै हुँदो रहेछ।
चरित्रलाई स्वीकार गर्न गाह्रो लाग्यो। नाटकमा पश्चिमको लवज बोल्नुपर्ने, त्यसलाई यति सजिलै गर्न सक्छु जस्तो लागेको थिएन। लवज टिप्न सके पनि आफूलाई पूर्ण रूपमा चरित्रमा ढाल्न चाहिँ समय लाग्यो।
प्रेमिकाको भूमिकामा अभिनय गर्नुपर्ने। त्यो वातावरण सिर्जना गर्न अलि गाह्रो भयो। कलाकारिता भनेको यही रहेछ। धेरै मेहनत गरेर मञ्चमा प्रस्तुत हुँदा सबैभन्दा आनन्द लाग्दो रहेछ। सबै पीडा त्यहीँ भुलिँदो रहेछ।
रंगमञ्च डेब्युमा थप
सुजिता अधिकारी
रंगमञ्चको अनुभव रमाइलो लागिरहेछ। अभिनय सिक्न भनेर यहाँ आएकी थिएँ। यसबारे अलिअलि थाहा पनि थियो। तर यति गाह्रो हुन्छ भन्ने चाहिँ सोचेकी थिइनँ। पर्दा पछाडिको दुःख धेरै हुँदो रहेछ।