अवरुद्ध काम सुरु गर्दै चिनियाँ कम्पनी
बुटवलः रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थल निर्माणको काम सुरु गर्न चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल कन्स्ट्रक्सनले तत्परता देखाएको छ । चिनियाँ कम्पनी र सहयोगी नेपाली कम्पनीबीचको लेनदेन विवादका कारण विमानस्थल निर्माणको काम ८ दिनदेखि ठप्प छ ।
चिनियाँ कम्पनीले नेपाली कम्पनी नर्थ वेस्ट इन्फ्रा नेपालले गरेको काममा ओभरल्यापिङ नहुने गरी काम गर्ने तयारी गरेको हो । विमानस्थल परियोजनाले विवाद नहुने संरचनाको काम सुरु गर्न चिनियाँ कम्पनीलाई लिखित रूपमा आग्रह गरेको छ ।
एसियाली डेपलपमेन्ट बैंकबाट कालो सूचीमा परेको चिनियाँ कम्पनीले आफ्नै कारणले विवाद सिर्जना गरेपछि विमानस्थल निर्माण अवरुद्ध हुने आशंका गरिएको थियो । एडीबीले यसअघि नै चालु आयोजना प्रभावित नहुने गरी नर्थ वेस्टलाई तीन वर्षका लागि कुनै पनि आयोजनामा काम गर्न नदिने गरी कारबाही गरेको छ । कम्पनीले भैरहवा विमानस्थलको टेन्डर प्राप्तिमा फर्जी कागजात पेस गरेको थियो ।
विमानस्थल निर्माण परियोजनाका प्रमुख ओम शर्माले नापजाँच भइरहेको काममा असर नपुग्ने गरी काम गर्न निर्देशन दिइएको बताए । ‘हामीले लिखित रूपमा ओभरल्यापिङ नगरी काम गर्न आग्रह गरेका छौं । कम्पनीले प्रक्रिया सुरु गरिसकेको छ', उनले भने ।
चिनियाँ कम्पनीले निर्माणका लागि आवश्यक पर्ने सामग्री र मजदुरको व्यवस्थापन गर्न सुरु गरेको छ । कम्पनी बिहीबार जिल्ला समन्वय समितिमा नदीजन्य पदार्थको रोयल्टी तिर्न पुगेको थियो । समितिले रोयल्टी लिएको छैन ।
नदीजन्य पदार्थ चोरी
यसअघि विमानस्थल निर्माणका लागि भन्दै नदीजन्य पदार्थ चोरी भएको जिल्ला समन्वय समितिले जनाएको छ । परियोजनाको मागका आधारमा मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवका आयोजनालाई नदीजन्य पदार्थ उपलब्ध गराउन निर्देशन दिएको थियो ।
निर्देशन बमोजिम तत्कालीन जिल्ला विकास समितिले तिनाउको पौनेघाटबाट नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको थियो । १ लाख रोयल्टी बुझाएको कम्पनीले सोभन्दा बढी नदिजन्य पदार्थ निकालेको जिल्ला समन्वय समितिका वातवरणीय अधिकृत उपेन्द्रराज ज्ञवालीले बताए । १५ लाख घनमिटर नदीजन्य पदार्थ निकाल्न स्वीकृति दिइएको थियो ।
तिनाउकै बेतानी घाटबाट पनि नदीजन्य पदार्थ चोरी गरेको समितिले जनाएको छ । तीन लाख घनमिटर चोरी भएको नापजाँचबाट खुलेको हो । चिनियाँ कम्पनीले रोयल्टी तिर्न पुगेपछि समितिले पुरानो स्टक अवलोकन गरेको थियो । तीन लाख घनमिटर चोरी भएकालाई जरिवाना तिराइने अधिकृत ज्ञवालीले बताए । ‘तीन लाख राजश्व र तीन लाख जरिवाना तिर्नुपर्छ', उनले भने ।
खण्डखण्डमा निर्माण
कारबाहीमा परेको चिनियाँ कम्पनीले कुनै समय धोका दिन सक्ने सम्भावनालाई आकलन गरी योजना खण्डीकरण गरेर निर्माणको तयारी विमानस्थलले गरेको छ । अहिले एउटा मात्रै नेपाली कम्पनीले निर्माण गरिरहेको थियो । योजनाका विभिन्न काम भाग लगाएर धेरै निर्माण कम्पनीलाई जिम्मा दिने तयारी आयोजनाको छ । आयोजना प्रमुख शर्माले तोकिएको समयमै योजना सक्ने गरी नै सम्भावित चुनौती सामानाको तयारी गरिएको बताए । ‘चिनियाँ कम्पनीलाई पनि पार्टपार्टमा काम गराउन सुझाव दिएका छौं', उनले भने, ‘चिनियाँ कम्पनी गइहाल्ने अवस्था आएमा पनि पार्टपार्टमा योजनाको रिटेन्डर गरी समयमै काम सकिन्छ ।'