काबेली ‘ए' जलविद्युत आयोजनाको शिलान्यास
फिदिमः काबेली इनर्जी प्रालिद्वारा पाँचथर र ताप्लेजुङको सीमाक्षेत्रमा बग्ने काबेली नदीमा निर्माण सुरु गरिएको काबेली ‘ए' जलविद्युत् आयोजनाको बिहीबार शिलान्यास गरिएको छ । प्रदेश नं. १ कै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको रूपमा चिनिएको काबेलीको शिलान्यास कार्यक्रममा बुटवल पावर कम्पनी र सिंगापुर इन्फ्राका प्रमुख पनि उपस्थित थिए । आयोजना प्रभावित क्षेत्रका ७७ वर्षीय दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा आयोजनाको शिलान्यास गरिएको थियो ।
आयोजना निर्माणका लागि बुटबल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत लगानी छ । एक सय मिलियन अर्थात १० अर्बको लगानीबाट ३७.६ मेगावाट क्षमताको कावेली ‘ए' जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । बुटवल पावर कम्पनीका निर्देशक तथा काबेली हाइड्रोपावर इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ र सिंगापुरको इन्फ्राको कम्पनीका कार्यकारी प्रमुख अलर्ड एम नोएको उपस्थितिमा आयोजनाको शिलान्यास गरिएको हो ।
आयोजनाको शिलान्यास भएपछि अलर्डले आयोजनाले गति लिने भन्दै खुसी व्यक्त गरे । ‘लामो विवादपछि आयोजनाको कामले गति लिएको छ', अलर्डले भने, ‘सबैको सहयोगबाट यो आयोजना सञ्चालन हुने भएपछि मलाई अत्यन्त खुसी लागेको छ, अबको तीन वर्षभित्रमा आयोजनाबाट बिजुली बाल्ने लक्ष्य छ ।' अलर्डले आयोजना सम्पन्न गर्न सबैको सहयोग हुनुपर्ने बताए ।
काबेली इनर्जी प्रालिका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले अन्तर्राष्ट्रिय नम्स अनुसार आयोजनाको काम अघि बढ्ने भएकाले निर्माणको कामले तीव्रता पाउनेमा शंका नगर्न आग्रह गरे । ‘देशको समृद्धिका लागि आर्थिक विकासको चक्का तीव्र रूपमा घुमाउनेमा काबेली ‘ए' जलविद्युत् आयोजनालाई कोसेढुंगा सावित गर्नुपर्छ', श्रेष्ठले भने, ‘त्यसका लागि यहाँका राजनीतिक दल र स्थानीय जनताको सकारात्मक सहयोग जरुरी छ ।' अमरपुरको काबेली खोलाको किनारमै आयोजना गरिएको कार्यक्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । अबको एक महिनाभित्र सुरुङ निर्माणका काम सुरु हुने आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
आयोजना निर्माणका लागि दुई ओटा चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएका छन् । जसमध्ये झिझ्याङ कम्पनीले पहिलो चरणको काम सुरु गरेको छ । आयोजनाले रोड पब्लिक गर्ने काम अन्तिम चरणमा पु¥याएको बेला झिझ्याङले पहिलो चरणको काम गरिरहेको छ । ‘महिना दिनभित्र झिझ्याङले सुरुङ निर्माणको काम थाल्नेछ, अहिले पूर्वतयारीको काम गरिरहेको छ', श्रेष्ठले भने । आयोजना निर्माणस्थलमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजना प्रभावित क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ ।
पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविस आयोजना प्रभावित क्षेत्रमा पर्छन् । अमरपुरको वडा नं. २ र ५ को खोला खर्कमा पोखरी बनाई साढे चार किमि सुरुङमार्गद्वारा पानी अमरपुर ९ पिनासी घाटको पावरहाउसमा खसाउने गरी पूर्वाधार निर्माणको काम गरिएको हो । सन् २०२० भित्र आयोजनाको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्यका साथ काबेली निर्माणको काम थालिएको हो ।