सोलारबाट झिलिमिली दुर्गम वस्ती
प्युठानः विद्युत् विस्तार नभएका जिल्लाका अति दुर्गम वस्ती सोलारबाटै झिलिमिली बनेका छन् । गाउँलेले आफ्नै लगानीमा सोलार जडान गरी गाउँ झिलिमिली बनाएका हुन् । जिल्लाको रजवारा, अर्खा, पूँजा, खुङ, खवाङ, स्याउलीवाङलगायत क्षेत्रका स्थानीयले सोलारको उज्यालोले रात कटाइरहेका छन् ।
जिल्लामै १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् उत्पादन भए पनि झन्डै आधा दर्जनभन्दा बढी गाउँमा विद्युत् विस्तार हुन सकेको छैन । ‘आफ्नै जिल्लामा विद्युत् उत्पादन भए पनि प्रयोग गर्न पाएका छैनौं', अर्खाका सामाजिक अगुवा एवं निवर्तमान गाविस अध्यक्ष रतिमान रानाले भने, ‘धेरै पटक विद्युत विस्तार गर्न भन्यौं तर हाम्रो माग कसैले सुनेन ।' विद्युत् विस्तार नभएपछि उज्यालोका लागि गाउँलेले रकम उठाएर सोलार जडान गर्न बाध्य भएको उनको भनाइ छ ।
‘एउटा सोलार जडान गर्न १५ हजार रुपैयाँ लाग्छ', अर्खाकै स्थानीय मित्रबहादुर थापाले भने, ‘वृद्धवृद्धा र विद्यार्थीलाई रातको समयमा पढ्न गाह्रो भएपछि सबैले सोलार जडान गरेका हुन् ।' जिल्लामै उत्पादन भएको झिमरुक जलविद्युत् आयोजना नदीको उद्गमस्थल अर्खामै भए पनि विद्युत् उपयोग गर्न नपाएकोमा गाउँले निरास भएको उनले सुनाए । ‘गाउँबाटै बग्छ झिमरुक नदी', थापाले भने, ‘हाम्रै गाउँबाट बगेको खोलाबाट विद्युत् निकाले पनि गाउँलले अझै उपयोग गर्न पाएनन् ।'
जिल्लास्थित राजनीतिक दलसँग गाउँमा विद्युत् विस्तारका लागि पहल गरिदिन उनले माग गरे । ‘चुनावको बेला भोट माग्न आउने ? ', दललाई प्रश्न गर्दै उनले भने, ‘गाउँलेका समस्या बुझ्न अरुबेला पनि आउने बानी बसाल्नुपर्छ ।' स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उनले विकासप्रेमी नेतालाई मात्र विजयी गराउन गाउँले अग्रसर भएको जानकारी दिए । गाउँका झन्डै ५० घुरधुरी सोलारबाटै झिलिमिली भएको उनले बताए ।
नयाँगाउँको दारीमचौरमा विगत २९ वर्षदेखि जलविद्युत् आयोजना सञ्चालन भइरहेको छ । लामो समय वितिसक्दासमेत गाउँमा विद्युत् नपुग्दा यस क्षेत्रका स्थानीयले आश मारेका छन् । विद्युत् नभएपछि यस क्षेत्रका अधिकांश सर्वसाधारणले कुटानीपिसानीको लागि समस्या झैल्दै आएका छन् । गाउँलेले डिजेल र पानीघट्टबाट अन्न कुटानीपिसानी गर्ने गर्छन् । ‘विद्युत् नआएपछि ३१ वर्षदेखि पानीमिल चलाइरहेको छु', खुङ ठूलाबेसीका स्थानीय भरत केसीले भने, ‘नारीकोट, खुङ र पुँजाका स्थानीय कुटानीपिसानी गर्न आउँछन् ।'
विद्युत् नपुगेका जिल्लाका दुर्गम वस्तीमा विस्तारका लागि माग गरिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बिजुवार प्युठानका प्रमुख कृष्णहरी दाहालले जानकारी गराए । ‘पटक पटक यस क्षेत्रमा विद्युत् पुर्याउन बजेट माग गरेका छौं', उनले भने, ‘बजेट अभावले गर्दा विस्तार गर्न सकिएको छैन । माग गरेका छौं बजेट अख्तियारी आएमा काम थाल्छौं ।' आवश्यक बजेट स्टिमेट गरी पठाएको जानकारी गराउँदै उनले राजनीतिक नेतृत्वलाई पहल गर्न आग्रह गरे ।