लाप्राकमा रूखको ढोगभेट
घाम डुबिसकेको थियो लाप्राक पुग्दा । खोँच र पाखामा रंगीचंगी त्रिपालका टहरा थिए । नीला, पहेँला, काला र सेता प्लास्टिकले मोरेका छाप्रा देखिएथे परैबाट । हामी अत्तालिई-अत्तालिई पुग्यौं गुप्सी पाखामा ।
हो, त्यहीँ पुगेपछि मुटुमा गाँठो पर्यो । छातीभरि उकुसमुकुस भयो । आँखा रसाउन पुगे । बोली कता हरायो कता ।सुनार र उत्तम छन् मेरा दायाँबायाँ । मेरा ओठ खुले पनि ती दुईका आँखा र ओठको बोली झन् बेपत्तिएको छ ।'तातोपानी खाने कि !' सानिमाले सोधिन् ।
'नखाने छ्यामा । एकपटक यो पाखा डुल्ने !' सुनारले दुःखलाई किलकिलेमाथि सारे ।'यो एक्काइस सय मिटरको उचाइमा छ । के गरी बाँच्लान् मान्छेहरू !' पाइला चालिरहेका छौं हामी दुई ।'भुइँचालोले केही बाँकी नराखेपछि तलका मान्छे जोगिन यहाँ सरेका !' गुरुङ आफ्नो छाप्रो खोजिरहेका छन् ।
मेरा आँखामा वेदनाको चित्र थुप्रिएको थुप्रिएकै छ, मेरा छातीमा पीडा अग्लिएको अग्लिएकै छ, मेरो छातीमा दुःखको छाती पहिरो गएको गएकै छ ।छाप्रैछाप्रा छन् । रंगीविरंगी छाप्राले पाखाको आफ्नो संसार छोपिएको छ ।'कति घर छन् यहाँ ? '
'पाँच सय एकानब्बेको रातो कार्ड सरकारले दिएको छ !' काकाले अड्केर भने ।कुम जोडिएका घरहरू छन् । तलको बस्ती सर्लक्क यहाँ सरेको हुनाले हरेक कुरा मानिससँगै आएका छन्— कुकुरको साङ्लो, कुखुराको खोर, बाख्राको टाट्नो, घोडा बाँध्ने तबेला, पानी थाप्ने धारो, दाउराको चाङ, दिसापिसाब जाने घर, घर अगिल्तिर फर्फराउने फिरफिरे ध्वजा ।
चिहान र गुम्बा भने तलै रहेछन् ।'एघारजना परे नि हाम्रो घरमा !' भाषा नबुझे पनि सेतै कपाल फुलेकी एउटी बूढीले आँखा पुछिन् मखमलको खास्टोले ।बाहिर निस्केर हिँड्न लाग्दा भेटिए विसन । उनले त गाँठो फुकाए फेरि हाम्रासामु ।
'म त वैशाखको १२ गते पाखामा थिएँ । पाखामा भत्केको कुलो मिलाइरा'को थिएँ । छिनभरमै गड्याम्म सुनेँ । अघि बनाएको कुलेसो भत्केर पानी फेरि अन्तै गयो । पर-पर पाखामा बड्ङ-बड्ङ पड्किन थाल्यो । पड्किएको ठाउँमा पहिरो गयो । ढुंगा, माटो खसेर जताततैबाट छोपियो हाम्रो लाप्राक !'
'गुराँसका बुट्टा ड्याम्म-ड्याम्म मीत लाएसरी मुन्टो जुधाएको मैले देखेँ । रूखले ढोगभेट गरेको पहिलो चोटि देखेँ मैले त !''सबै घर बगाउने गरी पानी परेको थियो । कोठा, ओछ्यान र छानाभरि जुकैजुका लागेर सताएको थियो । राति त त्यो बेला एकै झप्को पनि सुतेनौं यो पाखामा !' गोरीले बन्चरो चलाइरहँदा नि बोल्न छोडिनन् ।
ठूलो साँझ परेपछि विद्यालय छेउको उकालोतिरबाट हामी डुम्नीकै छाप्रोमा पस्यौं । घर पनि के भन्नु र खै ! बार्दली ह्वांगै छ । छानोबाट ओस मज्जाले पसेको छ । ढोकाले यो लेकाली जाडो रोक्न सकेको छैन । प्लास्टिकको बारले यो डाँडाको फुइँकी काँ सक्नु र छेक्न ।
डुम्नीले आगो सल्काएर हाम्रो जाडो भगाउन खोजिन् । तर, सबैतिर काम छुटाउने चुलीको स्याँठले हाम्रो सेकताप के गर्ला र ! हामी एक गाँस च्यापेर ओछ्यानतिर पसिहाल्यौं ।ओछ्यान पसेर के छामेको थिएँ— खोलामा चोबलेर ल्याए जस्ता छन् सिरक र तन्ना । ओछ्यान देखेर एक पटक फेरि मनमा भुइँचालो गयो ।
म थर्थराइरहेको ओठबाट केही बोल्न सकिरहेको छैन । बरु मोजा खापिरहेको छु, टोपीको तुना कसिरहेको छु, लगाएका लुगामा अर्को सुइटर थोपरिरहेको छु ।पल्लो कोठाबाट सुनार बोले, 'एकै ठाउँमा छ जना केटाकेटी भुइँचालोले पुर्रिए । केही नभएको बस्तीमा मैले चैं गएर के खोज्नु ? 'दुःखको स्वर भनेको एकैसाथ आउँदो होला । सायद आँखा र नाकको बाटो भएर यति बेला सुनारसँग दुःख आएर चिनाजानी गरेको हुनुपर्छ ।
चिसो छ, डरलाग्दो जाडो छ । स्याँठ हुइँहुइँ चलेको-चलेकै छ । प्लास्टिकको छानोमा हावाले हिर्काएर शक्ति देखाउन थालिरहेको छ निरन्तर । बौद्ध हिमाल र हिमचुलीको हिउँ यतै ओर्लेको लाग्दैछ । रात र स्याँठ गहिरिँदै छ झन्झन्... झन्झन्...।
०००
रातभरि छटपटी भइरह्यो । ओर्किने र फर्किने काम भयो । सास फेर्न गाह्रो भयो पटकपटक । लेक लागेजस्तै भयो ।नाकमा जमेको ओस पुछेर उत्तमलाई भनेँ, 'आज त अक्सिजन नपुगेजस्तो भयो मलाई !'
उनी पनि त्यसकै सिकार भएछन् । हत्त न पत्त बोले ।
'हाई अल्टिच्युड लागेको जस्तै मलाई पनि भयो । अब भोलिदेखि शरीरले पचाउँछ !'बाहिर आएर हेरेँ । जूनको उज्यालोमा सारा पहाड, लेक, चुलीहरू पनि बिउँझिने तर्खरमा थिए । बादलका टुक्राहरू लेकाली सिरेटोमा कक्रक्क परेका लाग्थे । पातलो हिउँ परेर सेताम्मे थियो । टोपी र गलबन्दीमा गुटुमुटिएर ओछ्यानमै रह्यौं हामी । अलिक छ्यांग भएपछि भुइँचालोले माटै पारेको बस्तीमा जानु छ । यो त अस्थायी शिविर । ज्यान जोगाउन आएर दुःख खाइरहेको, दुःख ओढिरहेको र दुःख पढिरहेको ठाउँ हो ।
छेमाले दिएको तातोपानी घुटयाएर हाम्रा पाइला लम्के ।
बाहिर बाटोबाट हेर्दा पाखाका छाप्रा र टहरामा कताकति पिलपिल बत्ती बलेको देखिन्थ्यो । एकाध बूढाबूढी दाउरा ठोसठोसी पारिरहेका देखिन्थे । केही तन्नेरीहरू बख्खु ओढेर तल गोठतिर गइरहेका देखिन्थे ।हामी पूर्वतिर लाग्यौं । तुसारोले बाटो छेकुँला झैँ गरिरहेको थियो । घोडाका बथान हाम्रा दाहिनेतिर बेस्सरी धुलो उडाएर उक्लिए । हामी देब्रेतिरको गोरेटोतिर झर्यौं ।
यहाँ फाँटजस्तो थियो ।
'खोइ त लाप्राक ? ''तलै छ !' मैले गुरुङबाट सुनेको उत्तर ।हामी निकै ओरालो झर्यौं । बाटो मोडिएर पूर्वउत्तर गइरहेको छ ।निकै तल गएपछि पाँचसात घर देखिए ।ओरालो झरेका-झरेकै छौं । बस्ती देखिएको छैन । बरु पारिका हरिया खेत देखिए ।
जौ र गहुँ उम्रिएका छन्— बुस्पुका तरेली खेतमा ।लाक्पा दोर्जे, श्रृंगी हिमाल, गणेश हिमालको लस्कर छ । चरन, खर्क र गोठ राखेका टार र पखेरा देखाउँदै सुनार लम्किरहेका छन् । जहाँ उनको बाल्य र किशोरकाल अत्यन्तै चोखोसँग बितेको थियो ।'बारपाकी र लाप्राकीका गोठ यो जेब्रु खोला वारिपारि राखिन्थ्यो । हाम्रो र उनीहरूको सिमानै भने नि हुन्छ यो डाँडोलाई !'
उनले पश्चिम उत्तरतिर पसारिएको लमतन्ने डाँडो देखाएर भने ।म एक ठाउँमा चिप्लिएँ । 'हामी त चिप्लेर तल पुग्यौं भने पाँच पाइला घट्यो भन्छौं, तपाईंहरूको पाँच ठाउँमा घाउ हुन्छ !'निकै तलको फाँट पुगेपछि फेरि मैले सोधेँ, 'खोइ त बस्ती ? '
'उहिल्यै राजाहरूले कताकता हाम्रो गाउँबारे सुनेछन् । अनि हेर्न भनी आएछन् । एउटा डाँडा काटी आएर हेर्दा नि छैन । अलिक तल आइहेरे फेरि पनि छैन । अनि फेरि ओरालो हेरे । गाउँ छैन । जत्ति पटक आउँदा नि हाम्रो गाउँ नदेखेपछि— घरगाउँ छैन भन्ने निक्र्योल गरेछन् । यो लुकेको गाउँ हो !'
हामी ओरालो ओर्लिरहँदा सुनिरहेका छौं सुनारका कुरा ।
लाप्राकका सबै घर माटैमा मिलेका थिए । तर, केही जागरुकले पुरानै हिसाबले काठहरू हाली भित्ता मर्मत गरेछन् । छानामा पानी भित्र पस्ला भनी प्लास्टिकले छोपेर चार सुर्कामा ढुंगाका डल्ला तुर्लुंग झुन्ड्याएर चपक्क कसेका रहेछन् ।
निकै घुम्ती, पाखा र कुइनेटा छिचोलेपछि देखियो— तल खोला छेउमा सुन्दर र झुरुप्प बस्ती । थपक्क-थपक्क बसेका ससाना घरको लहर ।बस्ती देख्नेबित्तिक्कै सुनार भावुक भए । भुइँचालोले माटै भएको लाप्राकमा उनको सबै संसार थियो । घर-खेत, बारी, गोठ र अन्नपात थियो । तर अहिले भने सबै स्वाहा !!!
सबैतिर उज्यालो भएर पारि मनास्लु जाने गोरेटाहरू पनि छर्लंग देखिएका थिए । पहाड र हिउँका चुलीसमेत निख्खर देखिन्थे ।आइमाईहरू डोकामा केटाकेटी बोकेर उक्लिरहेका थिए उकालो । हामी भने ओरालो झरिरहेका थियौं— खुट्टा कमाई-कमाई । साना आठदस बर्से केटाकेटीहरू थुन्सेभरि आलुका बीउ बोकेर माथि पुसु डाँडातिर उक्लिइरहेका थिए ।
'यी हिजो दिनभरि खेतमा काम गर्दागर्दै रात परेपछि यतै बसेर अहिले डाँडातिर फर्केका छन् । सबै स्थायी कुरा यतै छन् । गुम्बा, घर, बारी, अन्नपात, धारो, कुलपूजा यतै छ । भुइँचालोपछि सरकारले यो ठाउँ जोखिमपूर्ण छ भनेकाले यी टहरा बनाएर माथि बसेका मात्र छन् । तर यी गाउँलेको मन यहाँबाट अन्यत्र जान सकेको छैन !' सुनार सुनाइरहेका छन् लाप्राकीको हालखबर ।
हामी एकोहोरो तल झरेर मणिकामदेवी माध्यमिक विद्यालय पुग्यौं । यहाँ उनले करोडौं अर्थ सघाएका थिए— अहिले माटैमा मिलेको थियो । लथालिंग भवनका रङ लागेका माटो एकातिर, नरंग्याइएका काला ढुंगा अर्कातिर छरिएका थिए । यही ढुंगा जोड्न सुनारले रातोदिन पसिना खर्चेका थिए ।
'मेरी नातिनी त यो भत्केको स्कुल भए जान्छु, माथिको त जान सक्तिनँ भनेर रुन्छे !' अर्की गुरुङ्नीले आँखा पुछ्तै भनिन् ।
हामी तल लाग्यौं बस्तीतिर । धेरैजसो अब बाक्लै घरहरू भेटिए । घर टालटुल पारिएका भए पनि पर्खाल बांगिएका, दलिन टेढिएका, छाना उछिट्टिएका, बलो पर सरेका प्रस्ट देखिन्थे । कति घरहरू त ढुंगाका पर्खाल हटाएर प्लास्टिकमात्र टाँगेर छोपछाप पारेका देखिन्थे ।
ढुंगेनी चेप र साँघुरा पर्खालले जाँतो घुमेझैं बनेका गोरेटोमा दगुरिरहेको छु म । जति तल आयो घरसँगै डोका, डाला, थुन्से, नाङ्लो, चाल्नो, भकारी र चित्रा बुनिरहेका बूढाबूढीका गतिमान अनुहारसँग देखादेख हुन्छ ।साइँली गुरुङले भुइँचालो गएको सम्झेर भनिन्, 'आफ्नो घरमा पुरिएको छु, अर्काको घरको धुलो आँखामा परेको परेकै छ । म त धामीजस्तै कामेँ भुइँचालो आएको दिन ।'
लाप्राकका सबै घर माटैमा मिलेका थिए । तर, केही जागरुकले पुरानै हिसाबले काठहरू हाली भित्ता मर्मत गरेछन् । छानामा पानी भित्र पस्ला भनी प्लास्टिकले छोपेर चार सुर्कामा ढुंगाका डल्ला तुर्लुंग झुन्ड्याएर चपक्क कसेका रहेछन् । मैले यस्तो धेरै ठाउँमा देखेँ ।
'हामी पुसु डाँडामा बस्दैनौं । तिमी सरकारलाई भनसुन गरिदेऊ । हाम्रा बारी, गोठ, चिहान, अन्नपात यतै छन् । माथि बस्न सक्तैनौं । यो ठाउँमा अन्नपात फल्छ । माथि त मागेर खानुपर्छ । यहाँ त सबैलाई खान पुग्छ', अर्का गुरुङले भने ।
ठूलो आँगनमा आएपछि लाप्राकको छातीले थेगेको भुइँचालो देखियो छर्लंगसँग । सारा घर लडेर बाटो छेकिएको छ अहिलेसम्म । घर बांगिएर आँगन साँघुरिएका छन् । पर्खाल ह्वात्त उछिट्टिएकाले धेरै ठाउँमा धारा स्वात्तै सुकेछन् ।
बाटोमा टक्क अडेसिएर सुनार सुनिरहेका थिए, '२०५६ सालमा माथिबाट पहिरो गएदेखि नै यो ठाउँ जोखिममा परेको छ । सरकारले यो ठाउँ छोड् भने पनि विकल्प दिन सकेको छैन ।'म गर्मीले पाकेर उकालो सिँढी चढिरहेको छु। निधारमा, ढाडमा र कुनाकानीमा भल बगेको छ पसिनाको।
'तर मभन्दा पनि मेरा हजुरबुवासम्म जन्मेको यो गाउँ उनीहरू चटक्क छोड्न सक्छन् ? को सक्छ आफ्नो रगतपसिना बगेको घरआँगन त्याग्न ? 'मसँग फेरि अर्को भुइँचालोको परकम्पन गयो । बारीमा आलु रोपिरहेकाहरू, सुकेका झारपात डढाइरहेकाहरू, मल हालिरहेकाहरू र हलो जोतिरहेका अनुहारसँग सुनार बोलिरहेका छन् ।
हामी सिँढीमा थामिई थामिई उक्लिरहेकै छौं । कुइनेटोको बारीमा एउटी बूढीले अघिसम्म गुरुङ भाषामा भनेको मैले बुझिनँ ।'यो रोपेको आलु आउँदो बर्खसम्म म त टिप्न आउन सक्तिनँ । माथिको जाडोले मलाई लान्छ होला !'सकीनसकी यत्ति भनिन् उनले । लाप्राकीसँग धेरै खालका भुइँचालोहरू आइजाई गरिरहेका छन् । ती बाँडिएका छन् । तिनको मन बाँडिएको छ हरक्षण ।
लाप्राकको दुःखले त्यो रात मसँग बस्नै मन गरेन । डुब्दो घाममा म झरेँ गोरखातिर । छातीमा थियो व्यथाको अथाह उकुसमुकुस ।