काठमान्डु कथा: बौद्धनाथको कोरा
फेसबुकमा घन्टौं अल्मलिएर म भर्खरै ट्विटरमा छिरेको छु। साथीभाइ, परिवार र निकटजनका सयौं अपडेटले दिक्कपनाबाट मुक्ति नमिलेपछि संसारका सूचनामा आफूलाई भुल्न ट्विटर वल्र्डमा पसेको छु। अहँ, संसारका यावत् सूचनाभन्दा पनि ठूलो छ मेरो दिक्कपना ! कम्युटर बन्द गरेँ।
रातिको एक बज्न लागेको छ। आँखामा निद्रा छैन। दिक्कपनाको औषधि कतै भेटेको छैन। आज बिहान उठ्दै मनमा गहिरो उदासी भरिएको थियो। शरीर स्फूर्त थियो, मन भने गहिरो दिक्कपनाको सागरमा गोता लगाइरहेको थियो। कहीँ अल्मलिँदैन यो मन। केले बनाउँछ यस्तो? केले आउँछ यति धेरै दिक्कपना? दिक्कपनाको यति गहिरो तह मनभित्र गुजुल्टिएको छ, लाग्छ कैंचीले खुर्केर दिक्कपनालाई डस्टबिनमा फ्याँकिदिऊँ ! तर, कैंचीले कहाँ खुर्कने? हृदयमा कि दिमागमा? कहाँ छ त्यो मन जहाँ दिक्कपनाले डेरा जमाएको छ?
काठमाडौंमा दिलदिमाग तरोताजा बनाउन कुनै ठाउँ पनि छैन। डिप्रेसन निम्त्याउन सहरको धुलोधुवाँ नै काफी छ। व्यस्त र अव्यवस्थित सडक, धुलो, धुलाम्मे पातहरू, धुलाम्मे मानिसहरू, कोलाहल। कतै शान्त ठाउँमा जान पाए पनि दिक्कपना ठीक हुँदो हो ! तर, कहाँ? काठमाडौंवरिपरि रारा-खप्तड छैन।
काठमाडौंमा मलाई मन पर्ने एउटा ठाउँ मृगस्थली हो जहाँ भनिन्छ, कुनै समयमा भगवान् शिवजी मृगको रूप धारण गरेर विचरण गर्थे। दिउँसो केही बेर मृगस्थलीको गोरखनाथ मन्दिरबाहिर सुस्ताउँदा हृदयमा मलम लगाएझैं भएको थियो तर गौरीघाट झर्नेबित्तिकै फेरि आयो दिक्कपनाको बादल। म त्यहाँबाट पागलजसरी भित्री बाटो बौद्ध पुगेँ र घुम्न थालेँ बौद्धनाथ।
पाइताला झम्झमाइरहेको थियो। पसिनाले च्यापच्याप भएजस्तो। हिजो पानी परेर धोएको मोजा नसुकेपछि चौथो दिन पनि त्यही मोजा लगाएर बिहान घरबाहिर निस्केको थिएँ। मोजा नसुक्दैमा नयाँ मोजा किनिहाल्ने कुरा पनि भएन।
च्यापच्याप मोजाको अनुभूतिसहित म बौद्धनाथको कोरा गरिरहेको छु। एउटै आशा छ— मनभित्रको यो दिक्कपना हटोस् र त्यहाँ आनन्दको घाम लागोस् ! तर, के हुन्थ्यो मैले भनेजस्तो ! थाहा छैन, कतिपटक मैले बौद्धनाथलाई कोरा गरेँ तर दिक्कपना बिसेक भएन। हजारभन्दा बढीपटक घुमाइसकेँ होला बौद्धनाथका माने, दिक्कपना हट्दै हट्दैन।
अचानक मनमा रामप्रीत बाबा झुल्कनुभयो। रामप्रीत बाबासँग सोझै प्रीत लगाउन नपाएको पनि महिनौं भइसक्यो। शिवरात्रिको बेला बाबा कैलाशयात्राका लागि नेपाल आउनुहुन्छ भन्ने सुनेको थिएँ। शिवरात्रि आउन एक हप्तामात्र बाँकी थियो। शिवरात्रिमा कैलाश पुग्न अब एक÷दुई दिनमै रामप्रीत बाबा काठमाडौं आइपुग्नुपर्छ।
के बाबासँग भेट होला ?
रामप्रीत बाबाको यादमात्रैले मन प्रफुल्ल भयो। उहाँ काठमाडौं आए केही बेरका लागि भए पनि साक्षात्कार गर्न पाइन्थ्यो र कमसेकम केही महिना यो सहरमा बाँच्न ऊर्जा संकलन हुन्थ्यो भन्ने ठानेर म एक्लै मुस्काएँ।
मेरो हृदयमा बास गरेको यो दिक्कपना अब रामप्रीत बाबाकै जिम्मा लगाइदिन्छु।
...
दिक्कपनाबाट आजित भएर नजाने कतिपटक हो, बौद्धनाथको कोरा गरेको तीन दिनपछि म फेरि बौद्धनाथको कोरा गर्दै थिएँ तर यसपटक मनमा आनन्दको लहर थियो। मन दिलदिमागबाट फुत्केर भुइँमै खस्ला भनेजसरी फुरफुर गरिरहेको थियो। म रामप्रीत बाबासँग बौद्धनाथको कोरा गरिरहेको थिएँ।
हो, तीन दिनपछि नै रामप्रीत बाबाले मलाई बौद्धनाथ बोलाउनुभयो। उहाँ संयोगवश यसपटक बौद्धनाथ नै बस्नुभएको रहेछ।शिवरात्रिको बेला कैलाश जान रामप्रीत बाबासँग ठूलो टोली हुँदैन। यस्तो बेला उहाँ हायात होटलमा बस्नुहुन्न। बौद्धनाथभित्र एउटा भक्तको घरमा बस्नुभएको थियो, यसपटक उहाँ।
आममानिसका उत्सुक आँखाबाट भाग्न बाबाहरू यस्तै एकान्त मन पराउँछन्। आममानिस बाबाबाट चमत्कार चाहन्छन्। तर, बाबाका लागि के चमत्कार ? सामान्य र सहज जीवन नै सबै अस्तित्वको रहस्य हो भन्नुहुन्छ बाबा। त्यही भएर सकेसम्म आममानिसबाट टाढा बस्न रुचाउनुहुन्छ।
बौद्धनाथ पछिल्तिर बाबा बसेको चारतले घरको सिँढी म यति फटाफट चढेँ, चौथो चलामा आइपुग्दा स्याँस्याँ भइसकेको थियो। चौथो तलाको बरन्डामा बाबा बेतको हल्लिने कुर्सीमा हल्लिरहनुभएको थियो, आँखा चिम्लिएर। मेरो स्याँस्याँको आवाज सुन्नेबित्तिकै बाबाले कुर्सीमा हल्लँदै आँखा चिम्लिएरै भन्नुभयो, 'आयौ तिमी ? यति धेरै किन हतारिन्छौ? '
नजाने किन हो, म साँच्चै हतारमा थिएँ। बाबाको एउटै प्रश्नले मेरो हतार मत्थर भयो। म बाबासँग लुटपुटिएँ। बाबाले मेरो हात आफ्नो हातमा लिनुभयो र सुम्सुम्याउनुभयो, निकै बेर। करिब पाँच मिनेटपछि म आफूलाई फूलजस्तो हलुङ महसुस गरिरहेको थिएँ। तीन दिनयताको मेरो दिक्कपना कता भाग्यो कता !
एकजना शेर्पाको घर रहेछ त्यो। बाबाको कैलाश जाने पाँच सदस्यीय टोलीमा यसपालि उनी पनि रहेछन्। घरबेटीले ल्याएको तिब्बती चिया पिउँदा फेरि मैले हतार गरिहालेछु। बाबाले भन्नुभयो, 'कहाँ जान हतार छ तिमीलाई ? किन हतारिन्छौ यो चिया पिउन पनि? जीवनमा एक कप चिया पिउनुको समग्र आनन्द पनि लिन सक्दैनौ ? कहाँ पुग्नु छ तिमीलाई? यो चियालाई १५ मिनेट लगाएर खाऊ न।'
बाबा कुर्सीमै हल्लिरहनुभएको थियो र उहाँको साधारण प्रश्नले मेरो मुटु हल्लिरहेको थियो। बाबाले आँखा चिम्लनुभयो र भन्नुभयो, 'यो हतार केका लागि ? यो रिस केका लागि ? कोसँग दिक्क मानिरहेका छौ ? तिम्रै मनसँग ?
'
मेरो मुटुको ढुकढुकी अघि सिँढी चढेभन्दा तीव्र भएको थियो। म आफैंसँग रिसाएँ, 'केका लागि म यति अधैर्य छु? 'बाबाले आँखा चिम्लेरै भन्नुभयो, 'तिम्रो दिक्कपनाको एउटा स्रोत तिम्रो यो बेचैनी, यो हतार हो। किन यति बेचैन छौ? केका लागि ? '
मसँग कुनै जवाफ थिएन। बाबाले नै भन्नुभयो, 'सहरको अव्यवस्थाले तिमीलाई दिक्क पारेको हुन्छ। दिक्क पार्नुको स्रोत अव्यवस्था हो। तर, सहरको अव्यवस्थामा तिमी आफूलाई नभुल। सहरको अव्यवस्थालाई बिर्सने क्षमता तिमीले आफूमा विकास गर्नुपर्छ। अस्तित्व जहिल्यै व्यवस्थित छ। यही व्यवस्थित अस्तित्वसँग जहिल्यै आफूलाई एक बनाइराख।'
मैले एकपटक आनन्दले चिया सुरुप्प पारेँ। चियाको स्वाद अघिभन्दा फरक थियो। मीठो। अघि मैले चियाको स्वाद थाहा नै पाइनँ कि !
बाबाले भन्नुभयो, 'जीवनमा यति कम आवश्यकता राख कि ती सहजै पूरा हुन्। दुई छाक खाना, एकजोर कपडा र सुत्न एउटा ओछ्यान- यीभन्दा बढी तिम्रो आवश्यकता के हुन्छ ?आवश्यकताभन्दा बढी इच्छा राख्यौ भने दिक्कपनाको सुरुआत त्यहीँबाट हुन्छ।'
मैले भनेँ, 'बाबा, मेरो इगोले मलाई दुःख दिएको हो ? '
बाबाले हाँस्दै भन्नुभयो, 'इगो भनेको तिम्रो अज्ञानता हो। तिमीले अस्तित्वका आयाम बुझ्न सकेनौं। आफूलाई मनोज दाहाल सम्झ्यौ।'
म अल्मलिएँ, के म मनोज दाहाल होइन ?
....
केही बेर हामी चुप लाग्यौं। बाबा कुर्सीबाट उठ्नुभयो र कोठाभित्र पस्नुभयो। भित्रबाट एउटा गुलाबको फूल हातमा लिएर आउनुभयो। मलाई त्यो फूल दिँदै भन्नुभयो, 'तिमी फगत एउटा फूलमात्र हौ। एउटा गुलाबसँग आफूलाई दाँजेर हेर न। आफूलाई एउटा गुलाबको फूलमा परिणत गर न। तिम्रो जीवनको सम्पूर्ण यात्रा नै आफूलाई गुलाबको फूलमा परिणत गर्ने र अरूलाई सुगन्ध बाँड्ने हो।'
मैले बिस्तारै सोधेँ, 'बाबा, मेरो समस्या के हो? यति गहिरो दिक्कपना किन? ' बाबाको सामुन्ने म आफूलाई जति पनि खोल्न सक्थेँ।बाबाले भन्नुभयो, 'तिमीले आफूलाई संसारको केन्द्रमा राख्यौ। यही तिम्रो समस्या हो। तिम्रो होइन, सबै मानिसको। उनीहरू आफूलाई नै केन्द्र ठान्छन् र त्यसरी नै सोच्छन्। यसो विचार गरिहेर, तिमी संसारको केन्द्र हौ त ? अस्तित्वको एउटा माटोले आफूलाई संसारकै केन्द्र ठान्यो भने परिणाम के होला?'
मैले बरन्डाबाट दक्षिणतिर हेरेँ। बौद्धनाथका घरहरूमा लगाइएका ध्वजापताकाको रङले हो वा बाबाको बोलीले, मेरो हृदय शीतल हुँदै थियो।
बाबा भन्दै हुनुहुन्थ्यो, 'तिमी रिसायौ र रिसाउनुलाई ठीक ठान्यौ, रिसाउनु कहिल्यै ठीक हुन सक्दैन। तिमी रिसायौ र रिसाउनुलाई बाध्यतासम्म मान्यौ भने ठीक छ तर रिसाउनु ठीक हुनै सक्दैन।
रिसले तिम्रा शरीरका अंगहरू उत्तेजित बनाउँछ, रक्सी खानुजस्तै घातक हुन्छ तिम्रो शरीरका लागि रिस। जस्तोसुकै अप्ठ््यारो परिस्थितिमा पनि नरिसाउने अभ्यास गर्यौ भने त्यो तिम्रो जीवनको सबैभन्दा ठूलो साधना हो। जस्तोसुकै परिस्थितिमा पनि नरिसाऊ, जस्तोसुकै परिस्थितिमा पनि दिक्क नमान। परिस्थितिसँग जुध। परिस्थितिलाई स्वीकार गर।'
बाबाले थप्नुभयो, 'तिमी रिसाउँछौ र फेरि रिस नियन्त्रण गर्न खोज्छौ तर रिसलाई फगत होशले हेर त, प्रेमपूर्ण होशले। रिस आफैं विलीन हुन्छ। तिम्रो स्वभाव त्यो पातको जस्तो हुनुपर्छ जो काठमाडौंको धुलोमा पनि हाँसिरहेको छ। के त्यो पात कहिल्यै रिसाउँछ ? '
'तर, बाबा कहिलेकाहीँ रिसाउनु जरुरी हुन्छ', मैले भनेँ।
'जरुरी पर्यो भने रिसाएको नाटक गर। रिसलाई आफ्नो आवश्यकताका रूपमा हेर। रिस सत्य हुन सक्दैन। हो, कहिलेकाहीँ रिसको बहाना गर्नुपर्ने हुनसक्छ।'
मैले शिवपुरी बाबालाई सम्झेँ। रिसबारे उहाँ पनि यस्तै भन्नुहुन्थ्यो, 'नरिसाऊ, कहिलेकाहीँ रिसाएको नाटकसम्म गर।'
कताबाट बग्दैबग्दै एउटा पीपलको पात मेरो काखमा खस्न आइपुग्यो। बाबाले त्यही पीपलको पाततिर देखाउँदै भन्नुभयो, 'हेर भुइँमा खस्दा पनि यो कति आनन्दित छ? यसलाई थाहा पनि छैन होला एक दिनमै यो ओइलाउँछ र अर्को दुई तीनमा यसको अस्तित्व सधैंका लागि समाप्त हुन्छ। तर, यो मुस्काइरहेको छ।
तिमी यो अस्तित्वको सानो अंश होइनौ, यो पातजस्तै? एउटा पातभन्दा बढी के हौ तिमी? म त भन्छु, तिमी पातजत्ति पनि लायक छैनौ। एउटा पातले त अस्तित्वलाई अक्सिजन दिन्छ, तिमीले के दिन्छौ? पातले कहिल्यै चमत्कार गर्दैन। तर, पात कस्तै हुरीबीच पनि अल्पायु मर्दैन। सामान्य र सहज जीवन नै चमत्कार होइन?'
मैले टाउको हल्लाएँ र सोधेँ, 'बाबा, यो रिस र दिक्कपना कसरी हटाउने त?''तिमी कस्तो विषयमा रिसाउँछौ, हेर न। ज्ञानले कुनै दिन आफ्नो रिसलाई हेर, तिमी आफैं चकित पर्छौ। ज्ञानले हेरीहेरी तिमी यो रिसबाट बाहिरिन सक्छौ। मैले अघि नै भनेँ। आफूभित्रको दिक्कपनालाई हेर।
तिमीले यो चामत्कारिक श्वासको आनन्दसम्म लिन सकेनौ। यो अस्तित्वबाट प्राणवायु हरेक क्षण तिम्रो फोक्सोभित्र प्रवेश गरिरहेको छ, त्यसलाई तिमीले देख्न सकेनौ। महसुस गर्न सकेनौ। हेर त, तिमीभित्रको यो विशाल दिक्कपना साँचो हो ? वास्तविक हो ? कि तिमीले रचना गरेको दुःखको पहाड हो यो ? 'म केही बोलिनँ।
'कोठामै कति बसिरहने, जाऊँ बौद्धनाथतिर। मलाई एउटा रुद्राक्षको माला पनि किन्नु छ', बाबाले भन्नुभयो र तयार हुन कोठाभित्र पस्नुभयो।केही बेरमै हामी घरको भर्याङ ओर्लंदै थियौं। अघि उक्लेजस्तो हतारमा थिइनँ म अहिले। बाबाको पछिपछि सुस्तरी हिँडिरहेको थिएँ। बाबाको लामो कपालबाट सुगन्ध आएको महसुस भइरहेको थियो। मानौं, बाबा शरीरमै चन्दनको खानी बोकेर हिँडिरहनुभएको छ।
'तिमीभित्र आनन्दको गहिरो सागर तिमीबाट धेरै टाढा छैन, तर तिमीले अझै त्यो सागरको महसुस गर्न सकेका छैनौ। त्यो आनन्दको स्रोतमा प्रवेश गर र त्यही आनन्दले अरूलाई पनि आनन्दित बनाऊ', बाबाले यसो भन्दा हामी चोकमा झरिसकेका थियौं।
मन्त्रहरू गुञ्जिरहेको थियो, बौद्धनाथतिर अघि बढ्दै गर्दा। बाबाले भन्नुभयो, 'मन्त्रमा अद्भुत शक्ति छ। निरन्तर मन्त्र जप गर। ओम्, रामजस्ता मन्त्रहरू धेरै शक्तिशाली हुन्छन्, सूक्ष्म रूपमा। स्थूल शक्तिलाई सत्य मान्ने बानी परेको तिमी सूक्ष्म शक्तिको रहस्य बुझ्न सक्दैनौ। तर, केही दिन यी मन्त्रहरूको अभ्यास गरेर हेर्यौ भने आफैं थाहा पाउँछौ।
यिनीहरू धार्मिक मन्त्र होइनन्। एउटा हाडेबदाम सानो हुन्छ तर त्यसमा संसारका सबै पौष्टिक पदार्थहरू क्याप्सुलको फर्ममा हुन्छ। ओमले तिम्रो आज्ञा चक्रमा लगातार प्रहार गर्छ, जसले त्यहाँभित्र रहेको सुषूप्त शक्ति जागृत हुन्छ। त्यसैगरी राम मन्त्रले तिम्रो मणिपुर चक्रमा रहेको सुषूप्त शक्ति जागृत हुन्छ।
यतिन्जेल हामी बौद्धनाथ पुगेर कोरा गर्न थालिसकेका थियौं।त्यसपछि तीन परिक्रमा गरुन्जेल बाबा केही बोल्नुभएन। म त बाबासामुन्ने केही बोल्ने हैसियत नै राख्दिनँ। तीन परिक्रमापछि बाबाले मेरो हात समाउँदै भन्नुभयो, 'अब तिमी मनमनै राम मन्त्र जप्दै यो अस्तित्वमा आफूलाई एकत्व गराउँछु भन्दै परिक्रमा गर।
बाबाको हात समाउँदै अर्को तीनपटकको कोरामा मैले आफूलाई झनै हलुङ महसुस गरेको थिएँ। हामी नजिकैको एउटा गुम्बाका मानेहरू घुमाउन थाल्यौं। बाबाले भन्नुभयो, 'मानिसको विचारमा ठूलो शक्ति छ। तर, त्यो विचारलाई अस्तित्वको इच्छाअनुसार प्रयोग नगर्दा त्यसले ठूलो विनाश निम्त्याउँछ। इगोको अज्ञानताबाट बाहिर आऊ र एउटा सरल मानिस बन। रिसको दुष्चक्रबाट बाहिर निस्क। आफ्नो रिसलाई हेर, आफ्नो इगोलाई हेर। आफ्नो दिक्कपनालाई हेर।'
थप्नुभयो, 'काठमाडौंबाहिर कतै डाँडाहरूतिर जाऊ। प्रकृतिले तिमीलाई आफ्नो वास्तविक स्वरूपको महसुस गराउँछ। प्रकृतिसँग तिमी रिसाउन्नौ। पातहरू सुम्सुम्याऊ। फूलहरू हेर, घन्टौं अपलक। फूलको आनन्दमा आफूलाई बिर्सिदेऊ।
सहजतामा बाँच।'
म मुस्काएँ। बाबासँग हिँड्नुको आनन्दले आफूलाई अघि नै फूल ठान्न थालिसकेको थिएँ।बाबाले भन्नुभयो, 'सबै समस्याको जड तिम्रो मन हो जो अरू केही होइन, तिमीले समयक्रममा रचेको तिम्रो आफ्नै संसार हो। यो कुवा हो जसले संसारको कुनै अनुभूत नै गरेको छैन। नत्र तिमीले पाएको दुःख पनि कुनै दुःख हो? मन जब कुवाबाट निस्केर अस्तित्वमा मिसिन्छ जब यसको कुनै अवशेष बाँकी हुँदैन। यही ईश्वरीय चेतना बन्छ।'
मैले सोधेँ, 'ईश्वर भनेको के हो बाबा ?'बाबाले मुस्काउँदै भन्नुभयो, 'ईश्वर भनेको हाडमासुले बनेको मानिस होइन। जे तत्ववले मिहिनतापूर्वक यो अस्तित्वलाई बाँधेको छ, त्यही ईश्वर हो। त्यही भएर ईश्वर सूक्ष्मभन्दा सूक्ष्म छ भनिएको हो। अथवा विशालभन्दा विशाल। किनभने यो समग्र अस्तित्व पनि ईश्वरकै प्रतिरूप हो। शंकरजी, विष्णुजी, ब्रह्माजी ईश्वरका विम्बहरू हुन्।'
बाबाले थप्नुभयो, 'यही ईश्वररूपी समग्र अस्तित्वको एक अंश हौं हामी पनि। तिम्रो परिवार ईश्वरकै परिवार हो। तिम्रो दुःख तिमीले यही मनबाट रचना गरेका न हौ। नत्र कहाँ छ दुःख? यहाँ के छ जसका लागि तिमीले चिन्ता लिनु परेको छ? धेरै विचार सबै समस्याको कारण हो। किनभने धेरैै विचारको आवश्यकता नै छैन। तिम्रो चेतना नै तिम्रो जीवनयात्राका लागि पर्याप्त छ। आफ्नो चेतनामा बाँच।'
हामी फेरि बिस्तारै हिँड्न थाल्यौं, यताउति। बाबा बोल्दै हुनुहुन्थ्यो, 'शरीरको धर्मबाहेक अरू कुनै धर्म छैन जुन तिमीले निर्वाह गर्नु परोस्। श्वास पनि तिमीले फेर्नु पर्दैन, यो शरीरले आफैं फेर्छ। खालि यसको मार्गमा व्यवधान नबनिदेऊ।
शरीरलाई आफ्नो धर्म पूरा गर्न देऊ। अप्ठ्याराहरूसँग नरिसाऊ, ती शारीरिक अप्ठ्यारा हुन् भने शरीरले जुध। मानसिक अप्ठ्यारा मनका रचना हुन्। मनसँग आफूलाई जोड्न छाड्नेबित्तिकै मानसिक अप्ठ्यारा आफैं हटिहाल्छन्।इगो छाडेर कर्ममा अघि बढ। आफूले गर्नुपर्ने कामहरू गर। अनि हेर तिम्रो जीवन कति आनन्दपूर्ण हुन्छ !'
त्यसपछि बाबाले यति महत्ववपूर्ण कुरा भन्नुभयो जुन यहाँ मैले अन्डरलाइन गरेरै राखेको छु। उहाँले भन्नुभयो,'म आज तिमीलाई एउटा महत्ववपूर्ण कुरा भन्छु, यो इगो यति क्षणिक छ कि यो अब अस्तित्वबाट लोप हुन्छ, जे असत्य छ, त्यो यहाँ टिक्दैन। जसको बाँच्ने कुनै आधार छैन, त्यो टिक्दैन। अब इगो पनि टिक्दैन। इगोलाई तिमीले मात्र हो सत्य ठान्ने, अस्तित्वले सत्य ठान्दैन। किनभने यो सत्य होइन। अस्तित्वको अंश होइन यो। आज नभए भोलि, भोलि नभए पर्सि इगो यो अस्तित्वमा विलीन हुन्छ नै।'...
बाबा र म फेरि बिस्तारै बौद्धनाथको कोरा गर्न थाल्यौं। सयौंपटक गरिसकेको बौद्धनाथको कोरा यति आनन्ददायक मलाई यसअघि कहिल्यै लागेको थिएन। बाबा मेरो दाहिनेतिर हुनुहुन्थ्यो। अर्थात् बाबा र म बौद्धनाथको कोरा गर्दै थियौं भने म बाबाको कोरा पनि गरिरहेको थिएँ।
बौद्धनाथको स्तूपमा परेवाहरू चारो टिपिरहेका छन्। माला घुमाउँदै भिक्षुहरू बौद्धनाथ वरिपरि बिछ्याएको ढुंगामा खालि खुट्टा हिँडिरहेछन्। एकजना लामा शरीर लमतन्न पारेर भुइँमा सुत्दै कोरा गरिरहेका छन्। नीलो आकाशमा बादलका केही टुक्रामात्र छन्।
नजिकैको कुनै गुम्बामा भर्खरै बालेको चन्दन धूपको वासना मेरो नाक हुँदै त्यही नीलो आकाशतिर उड्यो।मलाई लाग्यो-के जीवनको सम्पूर्ण आनन्द यही होइन ? .