नेपालले चीन भन्दा भारतसँगै सुमधुर सम्बन्ध राख्नुपर्छ : बाबुराम
काठमाडौं : नयाँ शक्तिका प्रमुख एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले चीनसँग भन्दा भारतसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताएका छन्।
‘नेपालले छिमेकी मुलुकहरु भारत र चीनसँग असल सम्बन्ध राख्नुपर्छ। तर सबैलाई थाहा भएको कुरा के हो भने हामीले भारतसँग नै बढी व्यवहार गर्नुपर्छ,’ भारतीय पत्रकार सिद्दार्थ बर्धराजनलाई ‘दि वायर’ अनलाइनका लागि शनिबार दिएको अन्र्तवार्तामा नेता भट्टराईले भनेका छन्, ‘चीनलाई नचिढ्याइकन वा चीनका जायज चासोको ख्याल राख्र्दै नेपालले भारतका जायज सुरक्षा र रणनीतिक हितहरुप्रति बढी संवेदनशील हुनुपर्छ।’
भारतपरस्त नेताका रुपमा चिनिएका नेता भट्टराईले भारतका जायज रणनीतिक लगायत अन्य चासोमा नेपाल स्पस्ट प्रतिबद्दतासहित उभिन हिच्किचाउन नहुने बताएका छन्। उनले भारतले नेपालका आन्तरिक राजनीतिक मामिलामा राख्ने गरेको चासोको आलोचना समेत गरे।
संविधान जारी प्रक्रियाको समय तथा त्यसपछि नेपालमा कसले सरकार नेतृत्व गर्ने भन्ने जस्ता साना विषयमा भारतले चासो दिनुलाई नेपालमा भारतीय हस्तक्षेपका रुपमा बुझिएको उनले बताए।
‘भारतले नेपालका साना तीन मुद्दामा माइक्रोम्यानेज गर्नु उचित होइन। बरु नेपालमा आफूलाई बृहत्तर रणनीतिक र नीतिगत मुद्दामा केन्द्रित गर्नुपर्छ’ उनले भने। हालको एक क्षेत्रीय शक्ति र भविष्यको विश्व शक्तिका रुपमा भारतका नेपालमा निश्चित रणनीतिक स्वार्थ र सुरक्षाका सवालमा अपेक्षाहरु रहेको र नेपालले त्यसलाई स्पस्ट रुपमा सम्बोधन गर्नुपर्ने बताए।
भारतले लामो समयदेखि स्वतन्त्र र सार्वभौम मुलुक रहेको नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्न हिच्किचाउन नहुने उनले बताए। नेपाली जनताले आर्थिक विकास चाहेको बताउँदै उनले जलविद्युत् र अन्य स्रोतको विकास र लगानी लगायतका कुरामा भारतले ध्यान दिनुपर्ने बताए।
भट्टराईले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको एजेन्डा सुरुमा माओवादीले र पछि मधेसी र जनजातिले नेपालमा स्थापित गराएको दाबी गरे। उनले आफ्ना पूर्व कमान्डर प्रचण्डको आलोचना पनि गरे। ‘संविधान जारी गर्दा प्रचण्डले प्रतिगमन पक्षधर एमाले र कांग्रेसँग मिल्न पुगे। यसमा मेरो सहमति थिएन,’ उनले भनेका छन्, ‘मैले पहिलो संविधान सभाबाटै संविधान जारी गर्न प्रयास गरेँ। तर सकिन। पछिल्लो पल्ट एमाले र कांग्रेस सहितका शक्तिको संविधानसभामा बहुमत रह्यो। यसले गर्दा सीमान्तिकृत मधेशी र जनजातिको भावना संबिधानमा समेटिन पाएन। मैले संबिधानसभा सदस्यबाट राजीनामा गरेँ र नयाँ शक्ति स्थापना गरेँ।’
भट्टराईले नेपालमा खस समुदायले मधेसी र जनजातिलाई अधिकार दिन नचाहेका कारण समस्या उत्पन्न भएको आरोप लगाउँदै एमाले अध्यक्ष केपी ओलीले सोही खस समुदायको नेतृत्व गरेको र अहिले मुलुकलाई मुठभेडमा लैजान लागेको दाबी गरे।
‘हामीले केपी ओलीहरुलाई राजनीतिमा निरुत्साहित गर्न आवश्यक छ,’ उनले भनेका छन्, ‘नेपालको अहिलेको सत्ता भागवण्डामा ८० प्रतिशत खस क्षेत्रीले कब्जा गरेका छन् यद्यपी म पनि त्यही समुदायलाई प्रतिनिधीत्व गर्ने तर भिन्न खालको सोच भएको व्यक्ति हुँ।’
भट्टराईले आफू मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा रहेको बताए। भारतीय जनता पार्टीका महासचिव राम माधवलगायत भारत सरकार निकट व्यक्तिहरुले संचालन गरेको संस्था इन्डिया फाउन्डेसनको निमन्त्रणामा भट्टराई अघिल्लो साता दिल्ली पुगेका थिए। उनले त्यहाँ प्रति आतंकवादर सम्मेलनलाई सम्बोधन पनि गरेका थिए।