‘सीमांकन थाती राख्ने प्रस्तावभित्र अर्को स्वार्थ’
काठमाडौं : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले सीमांकन थाती राखेर संविधान संशोधन गर्ने प्रस्तावभित्र अर्कै रहस्य रहेको बताएका छन्। हाललाई सीमांकन थाती राखेर संविधान संशोधन गरिएपनि आगामी माघ ७ भित्र सीमांकनको टुंगो लगाउनुपर्ने सत्तापक्षको प्रस्तावका कारण सहमति जुटन नसकेको नेम्वाङ्गले बताएका हुन्।
‘हाललाई सीमांकन थाती राख्ने भनिए पनि माघ ७ भित्र त्यस विषयको टुंगो लगाउनुपर्छ भनी सत्तापक्षले प्रस्ताव गरिरहेको छ,’ नेम्वाङ्गले एमाले संसदीय दलको कार्यालयमा शनिबार सञ्चारकर्मीसँग भने, ‘माघ ७ भित्र सीमांकन टुंगिने विधि के हो ? भन्ने विषयमा सत्तापक्ष नै स्पष्ट छैन।’
प्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्ताव गर्ने दिन बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले नै सीमांकन थाती राखेर माघ ७ भित्र टुंगिने गरी सहमतिको प्रस्ताव गरेको नेम्वाङ्गले बताए।
‘सीमांकन टुंगो लगाउन आयोगको कुरा आयो, तर आयोग गठन गर्दा सत्तापक्षबाटै आयोगको कार्यविधी (टिओर) हेरेर मात्र आयोग गठन गर्नुपर्ने कुरा पनि आयो,’ नेम्वाङ्गले भने, ‘आयोगमा आ आफ्ना मान्छे राख्ने र त्यसको प्रतिवेदनका आधारमा थप्प थप्प प्रदेश बनाइने हो कि, के हो ? त्यो विषय प्रष्ट नभई कुराले मात्र सहमति जुटन सक्दैन।’
सत्तापक्षले एमाले सहमतिको विरोधी भनेर प्रचार गरेको दाबी गर्दै नेम्वाङ्गले भने, ‘सत्तापक्षले गर्न खोजेको के हो ? के गर्दा मधेसी मोर्चा स्थानीय तहको निर्वाचनमा आउँछ भन्ने कुराको स्पष्ट खाका सत्तापक्षले एमालेसँग ल्याओस न। एमाले छलफल र सहमतिका लागि सकारात्मक छ।’
सत्तामा रहेका कांग्रेस र माओवादी केन्द्रले प्रमुख विपक्षी एमालेलाई किनारा लगाएर सहमतिको रटान गरेकाले सहमति जुटन नसकेको नेम्वाङ्गले दाबी गरे। ‘संविधानको स्वीकार्यता बढाउछौं भन्नेहरुले संविधान बनाउने प्रमुख शक्तिलाई बाहिर राखेर सहमतिको प्रयास गरेर हुन्छ त ? ’
नेम्वाङ्गले प्रतिप्रश्न गर्दै भने, ‘सहमति खोज्ने भन्दा बाहिर हल्ला गरेर एमालेलाई मधेस विरोधीको गलत संज्ञा दिने काममा सत्तापक्ष केन्द्रित देखियो।’
मधेसी मोर्चाका माग आमने सामने भएर छलफल गर्न एमाले तयार रहेको र त्यसको सुरुवात भइसकेकाले आगामी दिनमा सकारात्मक राजनीतिक वातावरण बन्ने नेम्वाङ्गले विश्वास व्यक्त गरे।
‘बालुवाटारको बैठकमा हामीले मधेसी मोर्चाका नेतालाई पनि स्पष्ट भन्यौं, के गर्दा तपाईहरु चुनावमा आउने हो ? सत्तापक्षबीच के विषयमा कुरा मिल्यो र कसरी जाने हो ? त्यसमा छलफल गर्न हामी तयार छौं। तर सत्तापक्षबाट नै ठोस प्रस्ताव आउन सकेन,’ नेम्वाङ्गले भने, ‘एमालेको यस्तो प्रस्ताव सुनेपछि मोर्चाका साथीहरु नै एमालेप्रति सकारात्मक बन्नुभएको छ।’
पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा संविधानमा गरिएको पहिलो संशोधनको स्मरण सत्तापक्ष र मधेस केन्द्रित दलका नेताहरुलाई एमालेले गरेको छ। ‘त्यतिखेर कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले नै मधेसी, दलित, जनजाति, आदीवासी सबैको समस्याको हल हुन्छ भनेर पहिलो संशोधन गरौ भनेर जोड गर्नुभयो,’ संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङ्गले भने, ‘सबैका माग सम्बोधन हुन्छन् भनेर संशोधन गर्न एमाले पनि तयार भयो। तर संशोधन भइसकेपछि आन्दोलन गरिरहेको मधेसी मोर्चाले धन्यवादको एक शब्द पनि उच्चारण नगरि आन्दोलन जारी राख्यो। अहिले पनि संशोधन गरिसकेपछि मोर्चाले त्यस्तै त गर्ने होइन भन्ने आशंका निवारण हुन जरुरी छ।’
मधेसी मोर्चालाई चुनावमा ल्याउनका लागि गरिने सबै प्रस्ताव र सहमतिको प्रयासप्रति एमाले सकारात्मक हुने उल्लेख गर्दै नेम्वाङ्गले कुनै पनि प्रस्ताव ल्याउनु अघि सत्तापक्ष स्पष्ट भएर अरुसँग छलफल चलाउनुपर्ने बताए।