तस्बिरमा ५० वर्षअघिको पोखरा

तस्बिरमा ५० वर्षअघिको पोखरा

पोखरा : ४९ वर्षअघि पोखरामा ठाउँठाउँमा पाटी, चौतारा र पोखरी थिए । घरहरू पनि खरले छाएका माटो र ढुंगाका आकर्षक हुन्थे । ४२ वर्षपछि पोखरामा धेरै परिवर्तन आएको शनिबार सुरु भएको 'पचास वर्षअघिको पोखरा'का तस्बिर प्रदर्शनीमा अमेरिकाका नागरिक डग्लस हलले विगतको पोखरा सम्झँदै बताए । 'फेवाताल किनारमा ४९ वर्षपहिले खेत, घाँस र गाइभैंसीमात्र देखिन्थ्यो । अहिले त होटल नै होटलले भरिएछ', ७२ वर्षीय हलले भने, 'पर्यटन उद्योगको विकास भए पनि वातावरण बिग्रेको छ ।'

४९ वर्षअघि पदयात्राका क्रममा आफूले खिचेका र त्यति बेला एक सय सातजना अमेरिकी पिस्कोर भोलेन्टियरले खिचेका नेपालका विभिन्न स्थानका १८ हजार तस्बिरको सँगालो रहेको पेनड्राइभ पोखराका सुनिल उलकलाई हस्तान्तरण गर्दै उनले विकाससँगै पर्यावरण जोगाउन लाग्न उपस्थित पोखरेलीलाई सुझाए । नेपालका लागि महत्वपूर्ण रहेको त्यति बेलाका तस्बिर आफूले संकलन गरेर नेपालीलाई उपहारका रूपमा हस्तान्तरण गर्न पाउँदा खुसी लागेको उनले बताए ।

कार्यक्रममा हलकी श्रीमती केटले ४२ वर्षपहिले महिला दिदीबहिनीले धेरै टाढाबाट पानी बोकेर ल्याउने गरेको सम्झिइन् । बिजुली नभएर टुकी बाल्ने गरेको स्मरण गर्दै ४९ वर्षमा धेरै परिवर्तन भएको उनको भनाइ थियो । शिक्षासेवी जर्ज जोन पोखराको पृथ्वीनारायण क्याम्पस निर्माणमा बाउसेले बाँझो जमिन खन्दै गरेको तस्बिर देखेर छक्क परे । पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु भएको दुईदिने फोटो प्रदर्शनीमा पोखरा आसपासका ८४ तस्बिर राखिएको छ ।

त्यस बेलाको पोखरेली जनजीवन, भूगोल, संस्कृति र प्राकृतिक सुन्दरता झल्काउने तस्बिरले पोखरेलीलाई विगतको पोखरा सम्झाएको छ । नयाँबजारमा विगतमा खरको ढुंगामाटाका घर, बाँध भत्कँदा फेवातालको बीचमा रहेको वाराही मन्दिरमा हिँडेरै जान सकिने दृश्य, पृथ्वीनारायण क्याम्पसको खरको भवनसँगै देखिएको सुन्दर माछापुच्छ्रे पहिलोपटक पोखरा विमानस्थलमा हवाईजहाज अवतरण गर्दाको दृश्यले दर्शकको मन तानिरहेको छ ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले यी तस्बिरहरू समेटेर पुस्तक प्रकाशित गर्नुपर्ने बताए । पोखरा लेखनाथ महानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले पोखराको इतिहास सुरक्षित रूपमा संकलन गरेर हस्तान्तरण गरेकोमा हललाई धन्यवाद दिए ।

पोखराका अग्रज फोटोपत्रकार विश्वरत्न शाक्यले पोखरा र समग्र नेपालको फोटोग्राफीको विकासका बारेमा बोलेका थिए । तस्बिर संकलकमध्येका एक सुनिल उलकले पोखरा चिनाउने फोटो संग्रहालयका रूपमा विकास गर्न सघाउन सबैमा अनुरोध गरे । पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा स्विट्जरल्यान्डका भूवैज्ञानिक डा. टोनी हेगनका नेपाल चिनाउने तस्बिर पनि प्रदर्शनी भएका छन् । सन् १९५१ देखि १९५६ सम्म उनले नेपालका विभिन्न स्थानमा खिचेका तस्बिर प्रदर्शनी भएको हो ।

प्रदर्शनीमा एक सय पाँचवटा भूगोल, संस्कृति र जनजीवन झल्कने त्यति बेलाका तस्बिर राखिएको छ । तिनमा पोखरा र सेरोफेरोका २० वटा तस्बिर समावेश छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.