पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने भारतको चेतावनी
नयाँदिल्लीः भारतले आफ्ना छिमेकी देश पाकिस्तान र बंगलादेशसँगको सिमाना बन्द गर्न सक्ने शनिबार चेतावनी दिएको छ ।आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुई देशसँगको सिमाना बन्द गर्नुपर्ने भारतको भनाइ छ ।
‘भारतले सम्भव भएसम्म चाडो पाकिस्तान र बंगलादेशसँगको अन्तर्राष्ट्रिय सिमाना बन्द गर्ने योजना बनाइरहेको छ । आतंककारी गतिविधि र अवैध शरणार्थी नियन्त्रण गर्न भारतको यो प्रमुख कदम हुनेछ', गृहमन्त्री राजनाथ सिंहले भने । मध्यप्रदेशको टेकनपुरमा आयोजित कार्यक्रममा बोल्दै सिंहले यस्तो जानकारी दिएका हुन् । सिंहले सीमा सुरक्षा बलका अधिकृतहरूलाई सम्बोधन गर्दै थिए ।
‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ । घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो', उनले भने । भारतीय गृहमन्त्री सिंहले भारतीय सुरक्षा विज्ञ र सेना उच्च अधिकारीबाट अनुगमनपछि यस्तो निर्णयमा पुगेको बिताए । शुक्रबार मन्त्री सिंहले पाकिस्तानले आतंकवादलाई प्रायोजन गरेको दाबी गरेका थिए । पाकिस्तानले भारतमा आतंकवाद फैलाउन जोड दिएर मानवीय अपराध पनि गरेको पनि बताए । आतंकवादलाई हुने पाकिस्तानी सहयोगबाट संसारभर आतंक बढ्ने कथन थियो । उनले भने, ‘भारतले शून्य आतंकवाद नीति अंगीकार गरेको छ ।'
पाकिस्तानसँगको सीमाक्षेत्रमा सबै ठाउँमा तारबार गर्न सम्भव छैन । त्यस्तो ठाउँमा प्रविधिको प्रयोग गरेर सीमा बन्द गरिने उनको भनाइ थियो । लेजर पर्खाल बनाउने काम अघि बढेको उनको भनाइ थियो । भारत-पाक सीमामा हाल चारवटा गुरु योजना लागू भइसकेको उनले खुलासा गरे । तीमध्ये ७३ वटा बोर्डर आउट पोस्ट निर्माण भइसकेको छ ।
पाकिस्तानसँगको सिमानामा ३५ वटा र बंगलादेशसँगको सीमामा ३८ वटा त्यस्ता चौकी राखिएको छ । पाकिस्तान र भारतबीच ३ हजार ३ सय २३ किलोमिटर भाग जोडिएको छ । त्यस भागमा कंक्रिट, लेजर बिम, राडार र स्याटेलाइट सेन्सर पर्खाल बनाइनेछ । यसअघि कश्मीरमा ६९ किलोमिटर र पञ्जाबमा ४५ किलोमिटर लामो लेजर बिम प्रयोग गरिएको पर्खाल बनाइएको छ ।
उनले यसका लागि सीमा सुरक्षा बललाई सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने दृढता व्यक्त गरे । अन्तर्राष्ट्रिय सिमाना सुरक्षाबलको भूमिका अब बदलिएको उनको भनाइ थियो । सिंहले भारत-पाकिस्तान सीमामा इजरायलको जस्तै अग्लो पर्खाल लगाउने बताउँदै आएका छन् ।
भारत र पाकिस्तानबीच सीमारेखा लाइन अफ कन्ट्रोलले कश्मीर र पञ्जाबमा छुट्याउँछ भने गुजरात र राजस्थानमा र पाकिस्तानको सिन्ध प्रान्तलाई जिरो प्वाइन्टमा अलग गर्छ । भारत र बंगलादेशबीच ४ हजार ९६ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।
यसलाई संसारकै पाँचौं सबैभन्दा लामो अन्तर्राष्ट्रिय सिमाना मानिन्छ । यसै साता बंगलादेशले भारतीय गृहमन्त्रालयलाई दुई हजार आतंकवादी भारत छिरेको सूचना दिएको थियो । हुजी र जेएमबीका दुई हजारभन्दा बढी लडाकु पश्चिम बंगाल, असम र त्रिपुरा राज्यमा लुकेको हुनसक्ने जानकारी दिएको थियो । हाल भारतले आफ्नो पूर्वी सिमानामा सुरक्षा गस्ती बढाएको छ ।
असम राज्यका सशस्त्र बलका उच्च अधिकारी पल्लब भट्टाचार्यले विगत ६ महिनायता विद्रोहीका गतिविधि निकै बढेको हुनाले बंगलनदेशसँगको सीमामा सुरक्षा कडा बनाइएको जानकारी दिए ।