हाम्रो गाउँमा सिकारी लाग्थ्यो : ओली

हाम्रो गाउँमा  सिकारी लाग्थ्यो : ओली

काठमाडौं : 'हुन त यहाँभन्दा म अलिक कान्छो तर भोगाइ उस्तैउस्तै छन्, हामी जन्मेको गाउँ पनि नजिकै, वल्लो-पल्लो', प्रमुख अतिथिका रूपमा बोल्दै गर्दा केपी शर्मा ओलीले लेखक/प्राडा भीष्मराज प्रसाईलाई भने, 'हामी जन्मेको गाउँमा कसैको ब्रेन ह्यामरेज हुँदैन थियो, हर्टअट्याक आउँदैन थियो, त्यस बेला 'सिकारी' लाग्थ्यो ।'

ओलीले व्याख्या गरेनन्, भन्दै गए, 'म सानो हुँदा आकाशमा गुनुनु गर्दै सानो सेतो डल्लो हुइँकिन्थ्यो, मान्छेले भन्थे यसमा मान्छे हुन्छन्, मान्छेले नै चलाउँछन् ।'उनले सोधे, 'डाक्टर सा'ब जेठो, त्यो देख्नुभयो कि भएन ? आफंैद्वारा लिखित 'आफैंलाई फर्केर हेर्दा' पुस्तक विमोचन कार्यक्रमको ड्यासमा बसेका प्राडा भीष्मराज प्रसाईले भनिहाले, 'गुनुनु आवाज सुन्थेँ, देख्दिनथेँ ।'

ओलीले आफू जन्मिएको तेह्रथुम जिल्लाको इवा गाउँ र लेखक जन्मिएको पूर्वी पहाडकै ताप्लेजुङको करिब ६ दशकअघिको अवस्थाबारे बयान गरे, 'त्यस बेला गाउँमा हृदयाघातले कोही मर्दैन थिए, ब्रेनह्यामरेज हुँदैन थियो, किनकि मानिसलाई थाहै हुँदैनथ्यो र सिकारी लाग्यो भनिदिन्थे । वाण लाग्यो भनेर चित्त बुझाउँथे।'ओलीले त्यस बेलाको नेपालको बयान गर्दा लेखक प्रसाईले आग्रह गरे, 'अब प्रधानमन्त्री बन्नुभयो भने त्यस बेलाको जस्तो नेपाल अझै दूरदराजमा छ, त्यसका दिन फेरिदिनुहोला !'

'त्यति दुर्गम पहाडमा जन्मिएको, संस्कृत पढ्न पठाएको छोरो आज मुलुककै पहिलो मेडिकल शिक्षा सुरु गर्ने व्यक्तिका रूपमा स्थापित भएको छ', ओलीले भने, 'अब त्यो अवसर कसैले पाउनेछैन, नयाँ काम गर्ने अवसर भने धेरै छन् ।' ओलीले प्रसाईले सेवाकालीन जीवनमा सेवा गर्दै अवकाशप्राप्त जीवनकालमा आराम नगरेर ती अनुभव, भोगाइका पुलिन्दा समाजलाई एक सुन्दर काव्यात्मक तरिकाले पस्किएर ठूलो गुन लगाएकोमा प्रशंसा गरे । असाधारण यो पुस्तकले हामीले हामीलाई फर्केर हेर्न सिकाएको बताउँदै ओलीले भने, 'पेसासँगै समाज र जीवनप्रति यसरी नै सबैले इमानदारिता देखाउने हो भने मुलुक बन्न १० वर्ष पनि लाग्दैन ।'

तर उनले राजनीतिक दल, नेता, कर्मचारी, डाक्टर इमानदार नभइदिनाले समस्या बल्झिएको बताउँदै भने, 'नर्वे आज ह्यापिनेस इन्डेक्समा प्रथम भयो । नेपालमा प्रकृतिले र्याफ्टिङ गर्न खोला दिएको छ, पौडिन ठूला ताल दिएको छ, कीर्तिमान राख्न हिमाल दिएको छ, बिजुली निकाल्न यत्रो पानी दिएको छ तर हामी दुःखी छौं ।' उनले यहाँका राजनीतिक दलमा भिजन, मिसन, नेतामा आस्था र आचरण सही नभएको अनि गलत धन्दामा लागेर शक्ति आर्जन गर्ने परिपाटीले नेपाल ह्यापिनेस इन्डेक्समा नपरेको पनि दाबी गरे ।

ओलीले लेखकको आग्रहलाई सम्बोधन गर्दै भने, 'मलाई फेरि प्रधानमन्त्री बन्न इच्छा त छैन तर नेपालका सम्भावना मैले आधुनिक कृषि, विद्युत् उत्पादन, बाटोघाटो, रेल, मेट्रो रेलको विकास र व्यावसायिक शिक्षाप्रणालीमा देखेको छु, त्यो सम्भव गर्न एउटा टिम नै बनेको छ, म पूरा गर्छु ।' ओलीले त्यसो गरेमा आफू जीवितै भए भेटेर, नभए स्वर्गबाटै भए पनि धन्यवाद दिने लेखकले बोल्ने क्रममा भनिसकेका थिए । उनले पहिलोपटक १७ दिन लगाएर डोटीमा सेवा गर्न जाँदा त्यहाँको जनजीवनले मान्छेभन्दा भैंसीलाई महत्व दिनु परेको पीडाले पनि आफूलाई नेपालको स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्ने प्रेरणा मिलेको बताएका थिए ।

घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा संस्थाकी डाइरेक्टर सिर्जना ढकालले हरेक मानिसले आफ्नो जीवन र अनुभव लेखिदिनाले पनि नयाँ पुस्तालाई ठूलो सिकाइ हुने भएकाले आफूहरूले यो अभियानकै रूपमा थालेको भन्दै स्वागत गरेकी थिइन्।कार्यक्रममा डा. भोला रिजालले पुस्तकका हरेक हरफ अनुभवका महाकाव्यजस्तै भएकाले यसमाथि टिप्पणी गर्ने धृष्टता आफूले नगर्ने बताए।

नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको सभापतित्वमा भएको विमोचन कार्यक्रममा समीक्षक गीता त्रिपाठीले नेपालको स्वास्थ्य शिक्षा सुरु गर्नमा प्रणेताको काम गरेका लेखक प्रसाईको यो किताबमा जहाँनेर आँखा पर्यो त्यहीँनेर विशेष कुरा पाइने अनुपम पुस्तक भएको टिप्पणी गरिन् ।

आठ खण्डमा विभाजित पुस्तकमा बाल्यकालदेखि जीवन भोगाइ र संघर्षको कथामात्रै नभएर सबैले आफैंलाई फर्केर हेर्नु, नढाँटी हेर्नु, कसरी समाज र संसार परिवर्तन गर्न सम्भव छ भन्ने मन्त्रको पुलिन्दा भएको बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.