विविध कोणबाट प्रेम बहस

विविध कोणबाट प्रेम बहस

काठमाडौं : बदलिँदो राजनीतिक सामाजिक बनोटसँगै सामाजिक चिन्तन पनि फेरिँदो छ । त्यसैगरी बदलिँदा छन् प्रेमबारेका सोच र मान्यता पनि । समकालीन समाजले प्रेमलाई कसरी लिन्छ ? विभिन्न सामाजिक बनोटमा कसरी फेरिन्छन् प्रेमप्रतिका चिन्तनहरू ? यी प्रश्नको उत्तर दिने गरी कथाको संकलन बजारमा ल्याएको दावी गरेका छन् पुस्तक विमोचनका वक्ताहरूले । राजकुमार बानियाँ र दीपक सापकोटाको संयुक्त सम्पादनमा इन्डिगो इन्कले प्रकाशन गरेको २४ कथाकारको प्रेमकथा संग्रह 'पफ्र्युम'को विमोचन कार्यक्रममा यस्तो दाबी गरिएको हो ।

उपस्थित कथाकार र तीन लेखक नारायण ढकाल, प्रगति राई र संगीत श्रोताले पुस्तक सार्वजनिक गरेपछि आयोजित 'प्रेम-बहस'मा प्रेमबारे विविध कोणबाट टिप्पणी गरियो । पूर्वीय र पाश्चात्य परम्परामा प्रेमबारे स्थापित फरक मान्यताको चर्चा गर्दै लेखक ढकालले समयसँगै परिवर्तित चिन्तनको चिरफार गरे । 'मेरो पालामा प्रेम गर्नु अपराधजस्तै हुन्थ्यो', आफ्नो यौवनकालसँग दाँज्दै ढकालले भने, 'अहिले त्यस्तो बारबन्देज छैन । प्रेमका लागि बढी स्पेस त महिलाले पाएका छन् ।'

प्रगति राईले आममनोविज्ञानसँग मुन्धुमको मान्यता दाँजिन् । मुन्धुम संस्कृतिमा महिलाले प्रेमका लागि स्पेस बढी पाए पनि समाज र संस्कृतिअनुसार त्यसमा भिन्नता आउने टिप्पणी उनले गरिन् । समकालीन सन्दर्भमा प्रेम हराउँदै गएकोमा उनले चिन्ता पनि गरिन् । भनिन्, 'अहिले प्रेम हराउँदै गएको महसुस गरेको छु । यो पुस्तकले विविध आयाम समेटेर प्रेममाथि बहस गर्ने ठाउँ बनाइदिएको छ ।'

संगीत श्रोताले भने प्रेमको उपादेयतामाथि चिन्तन गरे । समाजलाई सकारात्मक दिशा दिन कुनै प्रेम जोडीले योगदान गरेमात्रै साँचो प्रेम हुने उनको टिप्पणी थियो । 'शारीरिक आकर्षणलाई केन्द्रमा राखेर लेखिने कथा प्रेमभन्दा पनि यौनकथा हुन्छ', श्रोताले भने ।

नाट्यकर्मी घिमिरे युवराजले सञ्चालन गरेको बहसमा सम्पाकद्वयले पुस्तक प्रकाशनका विविध पाटो उजागर गरे । बानियाँले पुस्तकमा फरकफरक भूगोल र संस्कृतिको स्वाद समावेश गर्ने प्रयास गरिएको बताए । पुस्तकका अर्का सम्पादक सापकोटाले 'पफ्र्युम'ले युवापुस्ताको प्रेम चिन्तन र उनीहरूको चुनौतीको कथा भन्ने दाबी गरे ।

पुस्तकमा समकालीन लेखनमा सक्रिय अमर न्यौपाने, अश्विनी कोइराला, अभय श्रेष्ठ, कुमार नगरकोटी, मनोज दाहाल, मनीषा गौचन, नवीन विभास, नयनराज पाण्डे, निरूपा प्रसुन, श्याम साह, सुबिन भट्टराई, उमा सुवेदी, ऋचा भट्टराईका कथा समावेश छन् । साथै अशोक सिलवाल, बच्चु विक, विमल आचार्य, विनोदविक्रम केसी, दिनमान गुर्मछान, रिविन, राजु स्याङ्तान, गणेशकुमार राई, लेनिन बन्जाडे, मुनाराज शेर्मा र योगेश ढकालका कथा पनि पुस्तकमा पढ्न पाइन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.