इस्लिङटन कलेजद्वारा 'अ डे इन ब्रिटेन' प्रदर्शनी
काठमाडौं : इस्लिङटन कलेजले 'अ डे इन ब्रिटेन' प्रदर्शनीको आयोजना गरेको छ । प्रदर्शनीमा बेलायतमा हुने साँस्कृतिक रहनसहन, पहिरन, खेलकुद, फेसनलगायतका विषयलाई लक्षित गरी स्टल राखिएको थियो ।
शुक्रबार आयोजित एकदिने प्रदर्शनी कलेजका बीबीए र बीआईटी अध्ययनरत विद्यार्थीले गरेका थिए । अध्ययन सकेपछि व्यावसायिक जीवनमा आइपर्ने विभिन्न चुनौतीलाई समेटेर एक महिना लामो 'एस्पायर-२०१७' को आयोजना गरिएको छ ।
व्यावसायिक जीवनमा लाग्ने मनसाय भएकालाई यस क्षेत्रमा प्रवेश गर्न सहज होस् भनेर बिजनेस प्लानिङ, विभिन्न सञ्चारमाध्यमको प्रयोजनका लागि प्रिन्ट र टेलिभिजन विज्ञापन कसरी निर्माण गर्नेलगायतका विषयमा विभिन्न सरोकारवालाको सहयोगमा प्रतिस्पर्धात्मक कार्यक्रम आयोजना गरिएको आयोजक निखिलराज श्रेष्ठले जानकारी गराए ।
आईटी तथा व्यवस्थापन विषय अध्ययन गर्ने उक्त कलेजका विद्यार्थीले आयोजना गरेको एक दिवसीय प्रदर्शनीमा बेलायतको रहनसहन झल्कने खेलकुद, मनोरञ्जन, खानपान, चलचित्र, संगित, इतिहासलगायत एक दर्जन स्टल राखिएको थियो ।
उक्त प्रदर्शनीले विद्यार्थीलाई आफ्नो काम आफैं गर्न प्रेरणा मिलेको श्रेष्ठले जानकारी दिए । करिब एक हजार पाँच सयभन्दा बढी विद्यार्थी, शिक्षक, अभिभावक, व्यावसायिक संघसंस्थाका प्रतिनिधिले प्रदर्शनी अवलोकन गरेको कलेजले जनाएको छ । आगामी वर्ष हुने प्रदर्शनीमा राष्ट्रियस्तरका कलेजबीच प्रतिस्पर्धा गराइने कलेजकी बीबीए कोअर्डिनेटर दक्षता राणाले बताइन् ।