४५ सय मात्रै भारू साट्छौं : भारतीय अधिकारी
काठमाडौं : प्रतिव्यक्ति हजार र पाँच सयका २५ हजारसम्म भारतीय रुपैयाँ साट्न नेपाली पक्षले पटकपटक राखेको अडान लत्याउँदै भारतीय पक्षले ४५ सयसम्मका यस्ता नोट मात्र साटिदिने प्रस्ताव राखेको छ ।
नेपाली पक्षले भने नोटबन्दीअघि एकजना नेपालीले २५ हजारसम्म भारतीय नोट बोक्न वैध रहेकाले त्यतिसम्म रकम साट्न दिनुपर्ने अडान राखेको छ । आइतबारको बैठकमा नेपाली पक्ष कमजोर रूपमा प्रस्तुत भएको आरोप केही सहभागीले लगाएका छन् ।
आइतबार नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई) को टोलीबीच भएको छलफलमा नेपालको अडान लत्याउँदै आरबीआईले हजार र पाँच सयका चार हजार पाँच सय मात्र भारु साट्ने प्रस्ताव अघि सारेको हो । भारत सरकारले कात्तिक २४ देखि पाँच सय र एक हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको हो । भारतीय पक्षले के आधारमा हजार र पाँच सय दरका ४५ सय रुपैयाँ मात्र साट्न पाउने प्रस्ताव राखेको भन्ने खुलाएको छैन । ४५ सय रुपैयाँ मात्र एक सातामै साट्नुपर्ने समयसीमासमेत भारतीय पक्षले राखेको थियो ।
नेपाल राष्ट्र बैंकले भने नेपाली नागरिकले वैधानिक ढंगले बोक्न पाउने २५ हजार भारु नै साट्नुपर्ने अडान राखेको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए । 'हाम्रो माग वैधानिकअनुसार प्रत्येक नेपालीले बोक्न पाउने २५ हजार भारु साटिनुपर्नेमा नै हो', उनले भने, 'छलफल जारी छ । सायद भोलि टुंगोमा पुगिन्छ होला ।'
नेपालमा हजार र पाँच सयका नोटमा प्रतिबन्ध रहे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला पाँच सय र हजार दरका भारुको प्रतिबन्ध खुला भएको थियो । प्रत्येक नेपालीले २५ हजारसम्म भारु बोक्न पाउने व्यवस्थासमेत त्यसबेलै भएको हो ।
उक्त छलफल सोमबार पनि चल्नेछ । आरबीआईकी कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशी नेतृत्व टोलीसँग राष्ट्र बैंकले भारु सटहीबारे छलफल गरेको हो । भारतीय पक्षले नेपाली बैंकहरूमा भएको भारु भने तत्कालै साटिदिने बताएको छ । नेपालको वित्तीय च्यानलमा पौने चार करोड प्रतिबन्धित नोट छ । उद्यमी, व्यवसायी र सर्वसाधारणसँग भने करिब १० अर्ब भारु रहेको अनुमान छ ।
नेपाली पक्षले सोमबारको बैठकमा वैधानिक रूपमा प्रत्येक व्यक्तिले राख्न पाउने २५ हजार नै साट्नुपर्ने अडान राख्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । 'वैधानिक रूपमा राखिएको नोट साटिनुपर्छ', उनले भने, 'यसमा भारत सरकारले अलमल गर्न मिल्दैन ।'
भारत सरकारले नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा अध्ययन गर्न कार्यदल गठन गरेको थियो भने नेपालले पनि यस्तै टोली बनाएर भारतसँग प्रतिबन्धित नोट साट्ने सम्बन्धमा पटकपटक छलफल गरेको थियो ।