आठ महिनामा व्यापार घाटा ६ खर्ब
काठमाडौः नेपालको वैदेशिक व्यापार भयावह बन्दै गएको छ । निर्यातको तुलनामा आयात उछालिँदै गएपछि व्यापार घाटा भयावह बनेको हो । चालू आर्थिक वर्षको सुरु आठ महिनाको अवधिमा व्यापार घाटा बढेर पाँच खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको आठ महिनामा व्यापार घाटा तीन खर्ब ९५ अर्ब थियो ।
भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा ६ खर्ब ७५ अर्बको कुल व्यापार भएको छ । यसमध्ये ६ खर्ब २७ अर्बको आयात व्यापार छ । तर, निर्यात भने ४८ अर्बको मात्र छ । अघिल्लो वर्षको सोही अवधिमा आयात चार खर्ब ३८ अर्बको थियो, निर्यात ४३ अर्बमा सीमित थियो । यो वर्ष आयात झन्डै दुई खर्ब बढ्दा निर्यात पाँच अर्बमात्र बढेको छ ।
नेपालको निर्यात व्यापार खस्किँदै गइरहेको छ । आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने सरकारी रणनीति छ । तर, नेपालको परनिर्भर डरलाग्दो गरी बढ्दै गइरहेको छ । यो अवधिमा आयात ४३ प्रतिशतले बढ्दा निर्यात ११ प्रतिशतले मात्र बढेको देखिन्छ । नेपालको वस्तु व्यापार दयनीय बन्दै गइरहेको विज्ञ बताउँछन् । विभागको तथ्यांकले मुलुकको व्यापार घाटा भयावह हुँदै गएको देखाउँछ ।
पछिल्लो आठ महिनामा नेपालबाट एक रुपैयाँको वस्तु निर्यात हुँदा विदेशबाट १३ रुपैयाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक रुपैयाँको वस्तु निर्यात हुँदा १० रुपैयाँको वस्तु आयात गरिएको थियो । आठ महिनामा भएको ६ खर्ब ७५ अर्बको कुल व्यापारमा निर्यातको हिस्सा ७.१ प्रतिशतमात्र रहेको छ । बाँकी ९२.२ प्रतिशत हिस्सा आयात व्यापारको छ ।
कृषि प्रधान मुलुक नेपाल खाद्यान्नमा परनिर्भर बन्दै गइरहेको छ । भारत लगायतका मुलुकबाट ठूलो परिमाणमा खद्यान्न नेपाल भित्रिन्छ । आठ महिनामा २६ अर्बको खाद्यन्न नेपाल भित्रिएको देखिन्छ । यसमा धान, चामलको हिस्सा सबैभन्दा बढी छ । नेपालको खेतीयोग्य जमिन कि बाँझिदै गइरहेको छ, कि प्लटिङको रूप धारण गरिसकेको छ । किसान पनि विदेश पलायन भइरहेका छन् वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिटेन्सको अधिकांश हिस्सा खाद्यान्न र घरजग्गामा मात्र लगानी भएको छ । यस्तै व्यापारी पनि उत्पादनमूलक क्षेत्रमा भन्दा आयात व्यापारमा नै बढी केन्द्रित भएका छन् । यसले नेपालमै उत्पादन हुने वस्तुमा पनि परनिर्भरता बढाउँदै लगेको छ ।
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । विभागका अनुसार आठ महिनामा भारतबाट चार खर्ब आठ अर्बको वस्तु आयात भएको छ । भारततर्फको निर्यात २७ अर्ब ७२ करोड मात्र छ । नेपालको भारतसँग करिब दुई तिहाई व्यापार हुँदै आएको छ । भारतसँगको व्यापार घाटा पनि तीन खर्ब ८० अर्ब पुगेको विभागको तथ्यांकले देखाउँछ ।
भारतसँगको व्यापार घाटा अझै बढ्ने शंकेत देखिएको छ । भारत सरकारले ग्रामीण अर्थतन्त्र बढाउन कृषिमा २४ प्रतिशतले बजेट बढाएको छ । कृषि ऋण, अनुदान, सिँचाइ, कृषि पूर्वाधारमा ठूलो लगानी गर्ने बजेटमा उल्लेख छ । यसै पनि नेपालको भारतसँग कृषिमा उत्पादकत्व ग्याप बढी थियो । नयाँ बजेटमा कृषि क्षेत्रमा थप सुविधा उपलब्ध गराउने भएपछि नेपाली उत्पादनले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने विज्ञ बताउँछन् । भारतले कृषिमा एक लाख ८७ हजार करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यसले नेपाली कृषि क्षेत्र प्रभावित हुने निश्चित छ ।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गरिदिँदा अटोबजार सुस्ताएको देखिन्छ । यातायात व्यवस्था विभागको तथ्यांकले सवारी दर्ता ह्वात्तै घटेको देखाउँछ । नत्र भारतसँगको व्यापार घाटा अझ उच्च हुने थियो । नेपालमा सबैभन्दा बढी गाडी र पार्टपुर्जा भारतबाट आयात हुन्छ ।
वैदेशिक रोजगारीमा जानेले पठाएको रेमिटेन्सको अधिकांश हिस्सा खाद्यान्न, घरजग्गा र विलासिताका वस्तुमा मात्र लगानी भएको छ । यस्तै व्यापारी पनि उत्पादनमूलक क्षेत्रमा भन्दा आयात व्यापारमा नै बढी केन्द्रित भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकमको अभाव देखाउँदै कर्जा प्रवाहमा संकुचन ल्याउँदा गाडीको व्यापार खस्किँदै गएको छ । सवारी कर्जाको ब्याजदर पनि झन्डै दोब्बर बढाएर १४/१५ प्रतिशत पुर्याएका छन् । यही बिचमा राष्ट्र बैंकले सवारीकर्जाको सीमा तोकिदियो । गाडी खरिद गर्दा अनिवार्य ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने भएपछि सवारी बिक्री घट्दै गएको व्यवसायी बताउँछन् । यसअघि बैंकले ६/७ प्रतिशत ब्याजमै ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्दै आएका थिए ।
प्रमुख वस्तु
आठ महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थ भित्रिएको छ । यस अवधिमा ८३ अर्ब २३ करोडको पेट्रोलियम पदार्थ आयात भएको विभागले जनाएको छ । पेट्रोलियम पदार्थ भारतबाट आयात हुँदै आएको छ । दोस्रो स्थानमा रहेको फलाम तथा स्टिल ६१ अर्ब ६६ करोडको आयात भएको देखिन्छ । सवारी तथा पार्टपुर्जा ५७ अर्ब ४१ करोडको आयात भएको छ । खाद्यान्न २६ अर्ब र फर्मास्युटिकल्स प्रोडक्ट १५ अर्ब ३४ करोडको आयात भएको छ । आठ महिनामा १३ वस्तुको आयात १० अर्बभन्दा माथि रहेको देखिन्छ ।
नेपालबाट सबैभन्दा बढी गलैंचा निर्यात भएको छ । आठ महिनामा पाँच अर्ब १४ करोड रुपैयाँ बराबरको गलैंचा विभिन्न मुलुक पुगेको छ । कफी, चियापत्ती, स्पाइसिस चार अर्ब ७४ करोडको निर्यात भएको छ । लत्ताकपडा चार अर्ब १३ हजार, हस्तकला चार अर्ब नौ करोड, तरकारी तथा फलफूल तीन अर्ब ४१ करोड, फलाम तथा स्टिल तीन अर्ब, म्यान मेड टेक्सटाइल वस्तु दुई अर्ब १४ करोड, फुट वेयर एक अर्ब नौ करोड, केमिकल प्रोडक्ट एक अर्ब २६ करोड निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।
नेपालमा भारतबाट चार खर्ब आठ अर्बको सामान भित्रिएको छ । नेपालबाट भारतमा २७ अर्बको सामान निर्यात भएको देखिन्छ । चीनबाट ८४ अर्बको सामान भित्रिँदा नेपालबाट एक अर्ब १५ करोडको सामान चीन निर्यात भएको छ । युएईबाट २० अर्बको सामा नेपाल भित्रिएको छ । फ्रान्स र इन्डोनेसियाबाट ७/७ अर्ब, थाइल्यान्ड र अर्जेन्टिनाबाट ६/६ अर्बको सामान भित्रिएको देखिन्छ । नेपालबाट अमेरिका ६ अर्ब, जर्मनी दुई अर्ब, बेलायत पौने दुई अर्ब, टर्की सवा दुई अर्बको वस्तु निर्यात भएको तथ्यांकले देखाउँछ ।