म्यादी प्रहरीमा आवेदन दिनेको भीड
नुवाकोटः आगामी वैशाख ३१ गतेको स्थानीय निकाय निर्वाचनका लागि सरकारले देशभरबाट ७५ हजार म्यादी प्रहरीका लागि आवेदन माग गरेको छ । सोहीअन्तर्गत जिल्ला प्रहरी कार्यालय नुवाकोटमा म्यादी प्रहरीका लगि आवेदन खुला गरिएपछि विदुरमा युवायुवतीको आकर्षण बढेको हो ।
म्यादी प्रहरीको आवेदन यही चैत १७ गते बिहीबारसम्म लिइने प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए । विदुर र बेलकोटगढी नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा पाँच सयभन्दा बढी म्यादी प्रहरी आवश्यक पर्ने उनको भनाइ छ । गत २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नुवाकोटमा खुला छनोटबाट चार सय ६३ जना म्यादी प्रहरी लिइएको थियो ।
देशमा बढ्दो बेरोजगारी र प्रहरी सेवामा पछि पाइने अवसरको खोजी गर्दै आवेदकको संख्या बढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले बताए । आवेदनको अन्तिम दिन बिहीबारसम्म जति आवेदन दर्ता हुन्छन, प्रक्रिया र विवरण पुगेकालाई छनोट परीक्षामा सहभागी गराइने उनले बताए । नुवाकोटमा यही किसिमले भीड बढे आवेदन दिनेको संख्या तीन हजार नाघ्ने उनको भनाइ छ ।
यसअघिको निर्वाचन अनुभव र पछिको अवसरको खोजी गर्दै म्यादी प्रहरीमा आवेदन दिएको नुवाकोटको दक्षिणी भेगमा रहेको दुईपीपलका युवक बुद्धिमान तामाङले बताए । म्यादी प्रहरीको सेवासुविधा नेपाल प्रहरीको जवानसरह कायम रहनेछ ।
पूर्वाञ्चलमा कम आवेदन
विराटनगरः सरकारले घोषणा गरेको २०७४ वैशाख ३१ गतेको स्थानीय निकाय निर्वाचन सुरक्षाका लागि भर्ना खुला गरिएको म्यादी प्रहरीमा पूर्वाञ्चलबाट अपेक्षाकृत आवेदन पर्न सकेको छैन । दरखास्त आह्वान गरिएको तेस्रो दिनसम्म सात सय जनाको मात्र आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले चैत ११ गतेदेखि १७ गतेसम्मको म्याद राखेर मुलुकभर ७५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । निर्वाचन सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरीलाई सहयोग गर्ने हिसाबमा पूर्वाञ्चलमा १४ हजार म्यादी प्रहरी भर्नाको तयारी गरिएको छ । तर दरखास्त दिने समय चार दिन मात्र बाँकी हुँदा सात सयले मात्र आवेदन दिएका छन्।
‘पूर्वाञ्चलमा १४ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ । म्यादी प्रहरी भर्नाको गृहकार्यअनुरूप अहिले आवेदन दर्ता गर्ने काम भइरहेको छ', पूर्वक्षेत्रीय प्रहरी प्रमुख डीआईजी रमेश भट्टराईले भने, ‘अहिलेसम्म आस गरेजति आवेदन पर्न सकेको छैन । केही दिन बाँकी रहेका कारण आवेदन दिनेहरूले ढिलो पनि गरेको हुन सक्छ ।'
तत्काल सूचना निकालेर छोटै समयमा काम सम्पन्न गर्नुपर्ने भएकाले पनि सबैमा जानकारी हुन नसक्दा अपेक्षाकृत आवेदन नपरेको हुन सक्ने उनको भनाइ छ । यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना हुनेको संख्या उल्लेख्य थियो । ‘विगतका निर्वाचनमा म्यादी प्रहरीमा भर्ना गरिदिनुपर्यो भन्दै सिफारिस लिएर आउने धेरै हुन्थे', एक प्रहरी अधिकारीले भने, ‘यसपटक त्यस्तो अवस्था छैन ।' कोटा पूरा गर्नै हम्मेहम्मे पर्ने हो कि भन्ने छ ।' अवधि छोटो हुने, आकर्षक तलब सुविधा नहुने, रोजगारी दिगो नहुने, खेतीपाती लगाउने समयलगायत कारणले युवामा म्यादीप्रतिको आकर्षण घटेको हुन सक्ने उनले बताए ।
म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले आवेदन दिन पाउँछन् । तर प्रहरी निरीक्षक तहमा भिड्न योग्य मान्छेको समेत आवेदनपरेको छ ।
यसअघिका निर्वाचनमा आवेदन दिएकामध्ये योग्यलाई म्यादी प्रहरीका रूपमा भर्ना गर्ने गरिएको डीआईजी भटराईको भनाइ छ । तर अहिले आवेदन परेको अवस्थालाई दृष्टिगत गर्दा कोटा पूरा गर्नै गाह्रो पर्ने अवस्था रहेको उनले बताए । म्यादी प्रहरीमा भर्ना हुन न्यूनतम योग्यता पुगेका इच्छुकले सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त दिन सक्ने उनले बताए ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, नेपाली नागरिक भएको, कुनै पनि नैतिक पतनदेखि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको सदस्य नभएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त भएको र साधारण लेखपढ गर्न जान्नेले म्यादी प्रहरीमा दरखास्त दिन सक्ने डीआईजी भट्टराईले बताए ।
चैत १९ गतेदेखि २१ गतेसम्म म्यादी प्रहरी भर्नाको छनोट प्रारम्भ गरिने र २२ गते अन्तिम छनोट नतिजा प्रकाशन गरिनेछ । छनोटमा परेकालाई चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म प्रशिक्षण दिइने पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तीन दिनमा ३७ मात्र आवेदन
सिन्धुलीडः स्थानीय तहको निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन म्यादी प्रहरी छनोटका लागि आवेदन खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जिल्लाका लागि म्यादी प्रहरी भर्ना आह्वान गरेको हो । एक साताको समय तोकेर म्यादी प्रहरी भर्नाका लागि आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले बताए ।
प्रहरीले यही चैत ११ देखि १७ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । जिल्लाबाट म्यादी प्रहरीका लागि छनोट गरिने यकिन संख्याबारे उल्लेख गरेको नभए पनि दोस्रो संविधानसभाको निर्वाचनका बेलामा लिइएको संख्याकै हाराहारीमा म्यादी प्रहरी भर्ना गरिने उनको भनाइ छ । दोस्रो संविधानसभाको निर्वाचनका लागि जिल्लाबाट पाँच सय ५८ ओटा दरबन्दीका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो ।
जिल्लामा म्यादी प्रहरीका लागि भर्ना गराउन आवेदन खुला गरिएको तीन दिन हुँदा जिल्लामा जम्मा ३७ वटा मात्र आवेदन परेको पनि प्रहरीले जनाएको छ । जिल्लामा म्यादी प्रहरीप्रति आकर्षण कम भएका कारण पनि भर्ना हुन चाहनेको संख्या न्यून भएको हुन सक्ने अनुमान गरिएको छ ।
म्यादी प्रहरी भर्नाका लागि जिल्लामा आगामी बिहीबारसम्मका लागि मात्र समय सीमा तोकिएको छ । उक्त समयसम्म यही अवस्था रहे कम मात्र निवेदन पर्नेछ । मतदान केन्द्रको थप सुरक्षाका लागि तालिम तथा हतियारसहितका म्यादी प्रहरी खटाउने गरिएको छ । जिल्लामा एक सय ३७ ओटा निर्वाचन केन्द्र छन । ती केन्द्रमा नेपाली सुरक्षा निकायसँगै म्यादी प्रहरी परिचालन गर्ने सरकारको तयारी छ ।
म्यादी प्रहरीमा स्नातकसम्म
भद्रपुरः स्थानीय तह निर्वाचनको सुरक्षालाई लक्षित गरी खुलेको म्यादी प्रहरीको आवेदन दिनेहरूमा स्नातक तह उत्तीर्ण गरेकाको समेत आवेदन परेको जिल्ला प्रहरी झापाले जानकारी दिएको छ । आइतबार साँझसम्ममा जिल्ला प्रहरी कार्यालय झापामा आवेदन दिनेको संख्या एक हजार नाघेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने र नेपाली नागरिकता भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । तर सामान्य लेखपढ गर्ने आवेदकको संख्या अत्यन्त न्यून भएको शर्माले बताए । ‘हामीकहाँ प्रहरी निरीक्षक तहमा भिड्न योग्य मान्छेको आवेदन परिरहेको छ', उनले भने । तर कति म्यादी प्रहरी नियुक्त गर्ने भन्ने जानकारी हालसम्म नआएको उनले बताए ।
अहिले आवेदन लिने र पछि छनोटमा प्राप्त अंकका आधारमा भर्ना गरिने डीएसपी शर्माले जानकारी दिए । म्यादी प्रहरीमा भर्ना हुनेले करीब दुई महिना समय बर्दीमा बिताउनेछन् । उनीहरूको सेवासुविधा प्रहरी जवानसरह हुनेछ । आइतबार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेको भीड थियो ।
बुद्धशान्ति गाउँपालिका १ का ४८ वर्षीय भेषराज घिमिरे म्यादी प्रहरीका लागि आवदेन दिन आइतबार बिहानैदेखि जिल्ला प्रहरी कार्यालय झापामा लामबद्ध थिए । म्यादी प्रहरी भएर भए पनि देशको सेवा गर्ने मौका आएको भएकाले आवेदन दिन आएको उनले बताए । ‘विगतमा पुलिसको जागिर खान गइयो तर छनोटमा परिएन । अब म्यादीमा परिन्छ कि ? ', उनले भने, ‘जीवनमा बर्दी लगाउन ठूलो रहर छ ।'
म्यादी प्रहरीमा भर्ना हुन आउनेमा लामो समय विदेश बसेर फर्केकासमेत छन् । उनीहरूले सानो भए पनि दिगो रोजगारीको अवसर सृजना भए कुनै युवा विदेसिनु नपर्ने बताए । लामो समय विदेशमा बसेका मेचीनगर नगरपालिका १२ का सन्तबहादुर खड्का पनि आइतबार म्यादी प्रहरीको आवेदन दिन जिल्ला प्रहरी कार्यालय आएका थिए । ‘धेरै वर्ष पढाएँ । पछि विदेश गएँ । अहिले म्यादी प्रहरीमा आवेदन दिन आएको हुँ', उनले भने।