तेस्रो लिंगीको कोठा
काठमाडौं : सहरमा थुपै कथा भेटिन्छन् । कति प्रत्यक्ष देखिन्छन् त देखिँदैनन् । बबरमहलस्थित आर्ट काउन्सिलमा सहरका तिनै रूपहरू प्रस्तुत भएका छन् । अन्तर्राष्ट्रिय कला महोत्सव 'काठमाडौं ट्रिनाले'मा देशविदेशका कलाकारले 'सहर' विषयमा कला सिर्जना गरेका छन् ।
राजधानीभरि छरिएको प्रदर्शनीको एक हिस्सा आर्ट काउन्सिलमा छ । हलभित्र पस्नासाथ एउटा सानो कोठा देखिन्छ । एक छेउमा सानो खाट, खाटतिरकै भित्तामा झुन्डिरहेको ऐना, अर्को छेउमा टेबल छ । सानो टेबलमा पुस्तक, चलचित्रका सीडी, नङ पालिस, लिपस्टिकलगायत सामग्री छन् । सँगै जोडिएको पुरानो किचन र्याकलाई पनि टेबलकै स्वरूप दिइएको छ । एउटा बाउलमा मालाहरू राखिएको छ, र्याकको ढोकाको बिँडमा एक लुम चुँडेको पोतेको झुप्पा अल्झिएको छ र जालीमा झुम्काहरू झुन्डिएका छन् ।
जुत्ता चप्पल, लुगा स्ट्यान्ड, हिटर, टेलिभिजन सबै सानो कोठामा छन् । कोठाको अर्को ढोकाबाट भित्र पस्नासाथ ठूलो पर्दामा चलिरहेको भिडियो देखिन्छ । त्यो भिडियो त्यही कोठाकी धनी एक तेस्रो लिंगी महिलाको दैनिकीमा बनेको छ । यो बंगलादेशी कलाकार महबुबुर रहमानले काठमाडौं आएर खोजेको विषय हो । काठमाडौंको दैनिकी धेरैका लागि गाह्रो छ । तेस्रो लिंगीको जटिल दैनिकीलाई कलाकार महबुबुरले प्रस्तुत गरेका छन् । समाजको यथार्थलाई उनले सहरको गहन कथाका रूपमा उठाएका छन्।
काउन्सिलभित्र प्रवेश गर्नासाथ भुइँदेखि सिलिङसम्म कलामात्र देखिन्छन् । पहिलो तला पुगेपछि फरक स्वादका कलाहरूले स्वागत गर्छन् । त्यहाँ पनि पर्दामा एउटा मान्छे ठूलो बरफ घिसार्दै हिँडिरहेको भिडियो देखिन्छ । मेक्सिकन कलाकार फ्रान्सिस एलिसले यो भिडियोमार्फत भन्न खोजेको कुरा हो, 'कहिलेकाहीँ केही बनाउँदा केही पनि बन्दैन ।' 'विरोधाभासको अभ्यास १' शीर्षक दिइएको यो भिडियोमा उनले हास्यास्पद तरिकाले मेक्सिको सहरको काव्यात्मक तस्बिर प्रस्तुत गरेका छन् । तबसम्म बरफको ढिक्का घिसार्न छोड्दैनन् जति बेलासम्म यो रक्सीमा राखेर खान सकिने सानो टुक्रा बन्दैन ।
कलाकार वीरेन्द्रप्रताप सिंहका 'सहरका चित्रहरू', सिलासा राजभण्डारीको हजुरआमाप्रति समर्पित प्रतिस्थापन कला, रोमानियाका कलाकार सिप्रियन मुरेसानको 'शीर्षकविहीन', बेल्जिमका कलाकार ओनोर दे ओको 'बे टेका' लगायतका कला प्रदर्शन भइरहेका छन् । सत्र दिन चल्ने ट्रिनालेमा कला प्रदर्शनीसँगै अन्तरक्रिया र कार्यशाला पनि भइरहेका छन् ।