सडकले ल्यायो समृद्धि
बैतडीः एक वर्षअघिसम्म जिल्लाको पुरचौंडी क्षेत्रका नागरिक खोडपे-बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । घरमा चाहिने सामग्री होस् अथवा अन्य सामग्री ल्याउन पैदल श्रीभावर पुग्नुको विकल्प थिएन । चार घन्टा पैदल हिँडेर दैनिक आवश्यक सामग्री जोहो गर्नुपथ्र्यो पुरचौंडीवासीलाई । त्यति मात्रै होइन, कोही बिरामी पर्यो भने बोकेरै लैजानुपर्ने बाध्यता थियो स्थानीयलाई । तर, अचेल गाडी गुड्न थालेपछि स्थानीवासीका धेरै समस्या समाधान भएका छन् ।
गाउँमा सडक पुगेपछि किसानलाई समेत निकै फाइदा पुगेको छ । ‘पहिलापहिला आफ्ना उत्पादन पिठ्युँमा बोकर श्रीभावर पुर्याउँथ्यौं, मूल्य पनि व्यापारीले भनेकै हुन्थ्यो तर अहिले त्यस्तो छैन । गाउँमै सडक पुगेपछि हाम्रा उत्पादनले पनि मूल्य पाएका छन्', पुरचांैडी नगरपालिका १ का रामबहादुर धानुकले भने, ‘अहिले हाम्रा बारीमा उत्पादित तरकारीबाली होस् अथवा अन्नबाली, सबैले बजार पाएको छ ।'
बजारसम्म पुर्याउन र बेच्न समस्या हुँदा बारीमा फल्ने तरकारी र फलफूलतिर किसानको ध्यानै थिएन । कृषि उपज घरमा चाहिए जति ल्याइन्थ्यो बाँकी बारीमै सड्थे । सडकले छोएपछि त्यस्तो भएको छैन । किसान व्यवसायिक बन्न थालेका छन् । व्यवसायिक तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । ‘सडकले छोएपछि स्थानीय नागरिकका दिन फेरिएका छन् । सडकले गाउँको उत्पादनलाई बजारसँग जोडेको छ । किसानलाई व्यवसायिक बन्न र समृद्धिको बाटोतिर लम्कन सजिलो बनाएको छ', पुरचौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीले भने ।
गाडी गुड्न थालेपछि स्थानीय बजारमा समेत चहलपहल बढेको छ । बजारमा पहिलाको भन्दा सामान सस्तोमा पाइन थालेको छ भने ग्राहकले खोजेको सामान ल्याउन व्यापारीलाई समेत सहज भएको छ । दैनिक एक बस र चारपाँचबटा जिप, त्यत्तिकै मात्रामा ट्रक चल्न थालेका छन् पुरचौडी क्षेत्रमा ।
सडक सञ्जाल जोडिएपछि बजारमा समानको भाउसमेत घटेको छ । ‘घोडा, खच्चड र भरियाबाट समान बोक्दा ढुवानी भाडा मंहगो हुँदा सामग्री पनि महंगो हुन्थ्यो तर अहिले सडक पुगेपछि बजारमा आउने सामग्री पनि सस्तो भएको छ', स्थानीय वसन्तराज जोशीले भने ।
सडक नहुँदा उक्त क्षेत्रका स्थानीयलाई आवतजावतमा कठिनाइ थियो । ‘सदरमुकाम पुग्न तीन दिन लाग्थ्यो, सडक पुगेपछि एक दिनमै ओहरदोहर गर्न सकिन्छ', पुरचौंडी नगरपालिका मल्लादेहीका हरिशचन्द्र भट्टले भने । सडक पुगेपछि पुरचौंडीको हाटमा निकै परिवर्तन भएको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कँुवरले बताए । ‘यो क्षेत्रमा अहिले परिवर्तनको महसुस गर्न सकिएको छ । यो सडक सञ्जालको विस्तारले नै भएको हो', उनले भने, ‘भर्खरै सरकारले पुरचौंडी क्षेत्रका १० गाविस मिलाएर नगरपालिका घोषणा गरेको छ । अब विकासका अन्य पूर्वाधार थपिनेमा हामी विश्वस्त छौं ।'
१० बर्से सशस्त्र द्वन्द्वको चपेटामा जिल्लाकै सबैभन्दा बढी प्रभावित क्षेत्र पनि पुरचौंडी नै हो । त्यतिबेला विकास निर्माणका कामदेखि भौतिक संरचनासमेत भत्काइए । खासगरी २०५७ को सुरुवातदेखि पुरचौंडीमा द्वन्द्वको प्रभाव बढ्दै गएको हो । द्वन्द्वले पुरचौंडीलाई बर्सौं पछाडि धकेल्यो । अहिले जिल्लाको उत्तरपूर्वी क्षेत्र पुरचौंडी विस्तारै तंग्रिन खोजिरहेको छ । २० वर्षअघि निर्माण सुरु भएको ढोल्यामोड-हाट सडकमा अहिले हाटसम्म १८ किमिसम्म गाडी गुड्न थालेको छ । सडक पुगेपछि पुरचौंडीवासीलाई केही सहज भएको छ । कच्ची सडकमा वर्षाको एकाध महिनाबाहेक अन्य समय मोटर गुड्न थालेपछि स्थानीयको दैनिकी सहज भएको हो ।
यस्तै बझाङको बित्थडबाट कुवाकोट-भटना जोड्ने गरेर अर्को सडकसमेत भटनाको सीमा नदी बागागाडसम्म ट्र्याक खोलिएको छ भने कुवाकोटसम्मको १८ किलोमिटरमा गाडी गुड्न थालेको छ । सडकबाहेक स्थानीय खोलाबाट लघु जलविद्युत् निकालेर धेरै ठाउँमा बत्ती पुगेको छ । विद्युत् नपुगेका गाउँका अधिकांश घरमा सौर्य बत्ती छ जसले गर्दा स्थानीयको जनजीवन सहजभएको साविकको हाट गाविसका पूर्वअध्यक्ष दीपकबहादुर बमले बताए ।
गाउँगाउँमा बाटोघाटो र विद्यालय निर्माण भएका छन् । प्रत्येक गाविसमा माविसम्मका विद्यालय छन् । केही वर्षअघिसम्म मावि तहको पढाइकै लागि टाढा जानुपथ्र्यो । कोटिलाका मदन अवस्थीले भने, ‘हाटस्थित डिलेश्वरी मावि जान दैनिक ५ घन्टा हिँड्नुपर्थ्यो । अहिले हाटमै स्नातकसम्म पढाइ सञ्चालन भएपछि पढाइका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ ।'
‘यहाँको मुख्य समस्या भनेको सडक थियो, अहिले सडक पुगेपछि विकास निर्माणका अन्य काम पनि सुरु भएका छन् । व्यापार व्यवसाय पनि बढ्न थालेको छ । उपभोक्ता पनि खुसी छन् । सस्तोमै समान पुग्ने गरेको छ', पुरचौंडी नगरपालिका लामुनीका पदम जोशीले भने ।
सडककै कारण किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ । बजार नपाउँदा बारीमै सड्ने गरेका थिए । हाटकी राइमती धानुकले भनिन्, ‘बजार नपाउँदा तरकारी थोरै लगाउँथे, यो वर्ष बढी लगाएकी छु, खरिदका लागि बारीमै व्यापारी आउन थालेका छन् ।' भौतिक सुविधाका लागि तराईतिर बसाइँ सरेका पनि गाउँ फर्कन लागेको स्थानीय बताउँछन् । विकास निर्माणलगायत अन्य आयआर्जनका काम गाउँमै पाउन थालेपछि विदेशिने क्रम पनि रोकिएको पुरचौंडी नगरपालिका हाटका सचिव गोविन्दराज जोशीको भनाइ छ ।
गाउँमा सडक पुगेपछि किसानलाई फाइदा ।
विकासका अन्य पूर्वाधार थपिँदै ।
ढोल्यामोड-हाट सडकमा पनि गाडी गुड्न थाल्यो ।
तराईतिर बसाइँ सरेका पनि गाउँ फर्कन लागे ।
हाटमा इलाका प्रशासन कार्यालय स्थापना ।
प्रहरीचौकी, हुलाक, पशु, कृषि रेन्जपोस्टलगायतका कार्यालय पुनस्र्थापित ।
बजारीकरण बढ्न थालेको छ ।
द्वन्द्वअघि हाटमा कृषि विकास बैंक र नेपाल लिमिटेड बैंकका शाखा थिए तर ती कार्यालय पुनःस्थापना हुन सकेका छैनन् । यी कार्यालय स्थापित भए पुरचौंडीको रूप फेरिने पूर्वजिविस सदस्य धर्मानन्द जोशी बताउँछन् । शान्ति सम्झौतासँगै स्थानीयले द्वन्द्वको क्रममा विस्थापित भएका सरकारी कार्यालय तथा बैंक पुनस्र्थपनाको माग राख्दै आन्दोलन नै गरेका थिए । तत्काल प्रहरीचौकी, हुलाक, पशु, कृषि रेन्जपोस्टलगायतका कार्यालय पुनस्र्थापित भएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताए ।
गत असारदेखि हाटमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासी खुसी भएका छन् । सरकारी कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता केही हदसम्म कम भएको स्थानीय बताउँछन् । सरकारी सेवा सहज रूपमा सेवाग्राहीसम्म पुर्याउने सरकारी नीतिअनुसार पुरचौंडी हाटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको हो । हाललाई नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र दिन थालिएको इलाका प्रशासन कार्यालयका कामु प्रमुख जयबहादुर कुँवरले बताए । बत्ती र बैंक भए राहदानी सिफारिससमेत यहीँबाट दिन सकिने कामु प्रमुख कुँवरले बताए ।
हाटमा सडक पुगेसँगै ठाउँठाउँमा बजार पनि विस्तार हुन थालेका छन् । पहिले हाटमै मात्र बजार थियो, अहिले धेरै ठाउँमा बजार खुल्न थालेका छन् । मल्लादेही, कोटिला, भटना, कुवाकोटलगायतका ठाउँमा बजारीकरण बढ्न थालेको कुवाकोटका स्थानीय विक्रमबहादुर कुँवरले बताए ।