मधेशी मोर्चासँग कुरा मिल्छ, चुनाव पनि हुन्छः निधि
विराटनगरः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आन्दोलनमा रहेको मधेसी मोर्चासँग कुरा पनि मिल्ने र स्थानीय चुनाव पनि तोकिएकै मितिमा हुने दाबी गरेका छन् ।
पूर्वाञ्चलमा आयोजना हुने चुवानी सुरक्षा सम्बन्धी बैठकमा भाग लिन आउने क्रममा सोमबार विराटनगर विमानस्थल उत्रिएका निधिले प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,‘मधेशी मोर्चासँग वार्ता हुँदैछ, उसलाई सहमत गराएर एकै चरणमा निर्वाचन हुने कुरा पक्का छ । कुनै द्विविधा छैन।'
सीमाङ्कन नै आफ्नो बटमलाईन हो भन्ने अडान राख्दै आएको मधेसी मोर्चालाई मनाउन कि अहिले पारित गरिदिनु पर्यो कि अधिकार सम्पन्न आयोग बनाएर प्रदेश र केन्द्रको चुनावभन्दा पहिले टुंगो लगाउनु पर्यो भन्ने आशयका साथ वार्ता भईरहेको उनले बताए । ‘वार्ता भएपछि नमिल्ने भन्ने छैन् । मोर्चासँग कुरा मिल्छ र निर्वाचन पनि हुन्छ ।' उनले भने
पूर्वाञ्चलको सुरक्षा प्रमुखसँग भेटघाट गर्न र यहाँको सुरक्षा अवस्थाको विषयमा जानकारी लिन आएको बताउँदै गृहमन्त्रीले भने,‘चुनाव सम्मुख छ, पूर्वाञ्चलको सुरक्षा अवस्था के छ ? त्यसबारे पनि छलफल गर्दैछु ।' पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानिमा गृहमन्त्री निधिले सुरक्षा निकायसँग बैठक गराएर पूर्वका १६ वटै जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
उनले भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट ६ वर्षअघि मृत्यु भएका मोरङका बासुदेव साहको फाइल धेरै समयदेखि गृहमन्त्रालयमा गएको तर अड्किएर बसेकोमा आफू पीडित परिवारलाई राहत दिन पनि आएको बताए । प्रहरी महानिरीक्षक छिट्टै नियुक्त हुने उनले बताए । ‘ढुक्क हुनुहोस्, छिट्टै महानिरीक्षकको नियुक्ति पनि हुनेछ ।'