दोर्दी ‘ए' प्रभावितका लागि ६ करोड
काठमाडौः लिबर्टी इनर्जी कम्पनीद्वारा प्रर्वद्धित दोर्दी ‘ए' जलविद्युत् आयोजनाले (२५ मेवा) अति प्रभावित क्षेत्रको लागि छुट्याएको सामाजिक निराकरण खर्चका विषयमा वृहत भेला सम्पन्न भएको छ ।
भेलामा आयोजनाबाट प्रभावित स्थानको लागि कुल विकास बजेट ६ करोड खर्च गर्ने निर्णय भएको छ । भेलामा आयोजनाका प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे, सञ्चालक रामबहादुर पाण्डे, सञ्चालक राजेन्द्र वस्ती तथा माथिल्लो दोर्दी ‘ए' सरोकार समिति अध्यक्ष चीनबहादुर गुरुङ, स्थानीय दलीय प्रतिनिधि, बुद्धिजिवी तथा अन्य सरोकार व्यक्ति उपस्थित थिए ।
उक्त आयोजनाले यस अगाडि विभिन्न शीर्षकमा गरेको खर्चको अनुमोदन, आयोजनाको निर्माण अवधिमा गरिने खर्च र आयोजनाको सञ्चालन अवधिमा गरिने गर्ने गरी निर्णय गरेको छ ।
भेलाले जिल्लाबासीलाई छुट्याउने सेयरको अनुपातमा प्रभावित क्षेत्रका लागि न्यूनतम ५० प्रतिशत नघट्ने गरी सेयर उपलब्ध गराउन पहल गर्ने र आर्थिक रूपले विपन्नका लागि सेयरमा पहुँच पुर्याउन आयोजनाले सहयोग गर्ने विषयमा पनि सहमति भयो । साथै सामाजिक निराकरण खर्चका लागि आयोजना छनोट तथा मूल्यांकन समिति गठन गर्ने निर्णय भयो ।