ओप्पोको सेल्फी एक्सपर्ट एफथ्री प्लस
काठमाडौः ग्रुप सेल्फी ट्रेन्डको सुरुवात गर्दै स्मार्टफोन ब्रान्ड ओप्पोले नयाँ सेल्फी एक्सपर्ट एफथ्री प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो ब्रान्डमै पहिलो डुअल सेल्फी क्यामेरासहितको एफथ्री प्लसलाई नेपाली बजारमा भित्र्याएको हो । सेल्फीकै लागि स्मार्टफोनमा एक सय २० डिग्री वाइड एंगलसहितको गु्रप सेल्फी क्यामेरा प्रयोग भएको छ । पहिलो चरणमा कम्पनीले चैत २४ गतेबाट नेपाली बजारमा यस स्मार्टफोनको अग्रिम बुकिङका लागि खुला गरिसेकेको छ ।
अग्रिम बुकिङ आउँदो शुक्रबारसम्म खुला रहने कम्पनीले जनाएको छ । ५४ हजार नौ सय ९० रुपैयाँ तोकिएको यस स्मार्टफोन चैत २० गतेबाट नेपाली बजारमा भित्रिने छ । कम्पनीले नयाँ फोनमा सेल्फीका लागि १६ मेगापिक्सेल क्षमतासहितको क्यामेराका साथै गु्रप सेल्फीका लागि एक सय २० डिग्री वाइड एंगल लेन्स उपलब्ध गराएको छ । कम्पनीले फोनमा प्रयोग गरेको रियर क्यामेराका लागि सोनीसँग सहकार्य गरी निमार्ण गरेको हो । सेल्फीका लागि स्मार्टफोनमा आठ मेगापिक्सेल क्षमताको एक सय २० डिग्री वाइड एंगल क्यामेरा प्रयोग भएको छ ।
कम्पनीका अनुसार उक्त क्यामेराले साधारण ८० डिग्री लेन्स फिल्ड अफ भ्यू भएका क्यामेराका तुलनामा एक सय पाँच प्रतिशत बढी क्षेत्र समेट्न सक्नेछ । फोनमा बिल्ट इन स्मार्ट फेसियल रिकग्निसन फिचर पनि उपलब्ध गराएको छ । यसले प्रयोगकर्तालाई तीनभन्दा बढी मानिस फ्रेममा देखिँदा गु्रप सेल्फी मोडको प्रयोग गर्न सुझाव दिन्छ ।
उत्कृष्ट कार्यक्षमता, आकर्षक, सुरक्षित तथा टिकाउ तथा बजारको मागलाई ध्यानमा राखेर निमार्ण गरिएको यस स्मार्टफोन एफ सिरिजअन्तर्गतका सेल्फी एक्सपर्टको साथमा ओप्पो सेल्फी क्रान्तिका लागि उद्योगकै अग्रणी स्मार्टफोन भएको कम्पनीले जनाएको छ । ग्लोबल भीपी तथा ओप्पो इन्डियाका अध्यक्ष स्काइ लीका अनुसार ओप्पो ब्रान्डको बजार दक्षिणपूर्वी एसिया र विश्वका अन्य मुलुकमा पनि पनि तीव्र रूपमा वृद्धि भइरहेको छ ।
उनले भने, ‘जीएफकेको तथ्यांक अनुसार गत वर्ष ओप्पो भारतीय अफलाइन बजारमा दोस्रो स्मार्टफोन ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।’ एफथ्री प्लसमा कम्पनीले १/३ इन्च सेन्सर उपलब्ध गराएको छ । यसले तस्बिर खिच्दा पर्याप्त मात्रामा प्रकाश छिर्ने भएकाले उत्कृष्ट फोटो खिच्न सघाउँछ । फोनमा रहेको क्यामेरामा उत्कृष्ट डेप्थ अफ फिल्ड इफेक्टका लागि एफ/२.० एपर्चर उपलब्ध गराइएको छ । यसले वस्तुलाई फोकसमा राखेर पृष्ठभूमिलाई आवश्यक मात्रामा धमिलो बनाउन सकिने कम्पनीले जनाएको छ ।
चार हजार एमएएच क्षमताको ब्याट्रीका साथ बजारमा आएको यस स्मार्टफोनले दुई सय ८४ घन्टाको स्ट्यान्डबाई टाइम दिने कम्पनीले जनाएको छ । स्मार्टफोनमा भीओओसी फ्ल्यास चार्जिङ प्रविधिको प्रयोग गरिएको छ । यसबाट फोन साधारण ब्याट्रीका तुलनामा चार गुणा चाँडै चार्ज गर्न सकिन्छ । ओक्टाकोर प्रोसेसरमा आधारित एफथ्री प्लसमा चार जीबी र्याम र ६४ जीबी रोम छ । यसको आन्तरिक क्षमतालाई एसडीकार्डको प्रयोग गरी दुई सय ५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।
ओप्पोको अप्टिमाइज्ड कलर ओएस ३.० प्रणाली प्रयोग भएको स्मार्टफोनमा सुरक्षाका लागि बिल्ट इन प्राइभेसी प्रोटेक्सन फिचर र आभास्टमा आधारित भाइरस स्क्यानर उपलब्ध छ । साथै फोनमा ०.२ सेकेन्डमा अनलक हुनेगरी होम बटन फिंगर प्रिन्ट रिडर पनि प्रयोगमा ल्याएको छ । मेटल युनिबडी डिजाइनमा आधारित यस स्मार्टफोनमा ६ इन्चको २.५ कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।