ढुक्कसँग लगानी गर्न चिनियाँ व्यवसायीलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्ताहरुलाई ढुक्कसँग लगानी गर्न आह्वान गरेका छन्। चिनियाँ लगानीको सुरक्षा गर्न प्रतिबद्धत रहेको प्रष्टयाउँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई जलविद्युत, पर्यटन, कृषि पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।
नेपालमा पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आह्वान गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले भने,‘तपाईको लगानी सुरक्षित हुन्छ, ढुक्कसँग लगानी गर्नु भए हुन्छ।’ नेपाल लगानीका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दक्षिण एशियाको बजारमा प्रवेश गर्न चिनियाँ लगानीकर्तालाई नेपाल सहज र सजिलो पहुँच हुने बताए।
चिनियाँ लगानीकर्ता व्यवसायीहरुसँग सोमबार बेइजिङमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन्। राजनीतिक परिवर्तनपछि आर्थिक सुधारको मार्गमा अघि बढिरहेको नेपाललाई भौतिक पूर्वाधार र आधुनिक प्रविधिको खाँचो रहेको औल्याउँदै प्रधानमन्त्री प्रचण्डले व्यापार,व्यवसाय र लगानीलाई नेपालले प्राथमिकतामा राखेको बताए।
‘विकासका लागि नेपालका सबै राजनीतिक दल एकताबद्ध छन्। नेपालमा भएको स्रोत र सम्भावनाप्रति हामी सचेत छौं । विकासको दिशामा अघि बढिरहेकाले नेपाललाई चीनको सहयोेग अपरिहार्य छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘हाल प्रत्यक्ष वैदेशिक लगानीका हिसाबमा चीन नेपालको ठूलो स्रोत हो। व्यापारका हिसाबमा दोस्रो साझेदार पनि हो। नेपालमा चीनको लगानी बढिरहेको छ।’
यसै महिनाको सुरुमा लगानी सम्मेलनमा चीनबाट मात्रै ६१ प्रतिशत लगानीको प्रतिबद्धता व्यक्त भएको छ। ‘चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको छ। विश्वमा सबैभन्दा बढी व्यापारिक वस्तु निर्यात गर्ने देश बनेको छ। यो उसको चमात्कारिक प्रगति हो,’ प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल चीनको घनिष्ठ हिमेकी भएका नाताले दुवै देशलाई फाइदा पुग्ने गरी साझेदारीलाई तीब्रता दिनु आवश्यक छ।’
चीन र नेपाललाई प्राचीन, ऐतिहासिक, साँस्कृतिक मूल्य मान्यता र भौगोलिक निकटताले जोडेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘नेपाल प्राकृतिक स्रोतले धनी छ, कामदारको हिसाबले पनि बलियो छ र दुई ठूला अर्थतन्त्र भएका मुलुकको बीचमा अवस्थित छ।’