मुस्लिमले दान गरेको जग्गामा राम मन्दिर
एजेन्सी : भारतको विहार राज्यको केसरियामा विश्वकै सबैभन्दा अग्लो राम मन्दिर बनिरहेको छ । जसलाई 'विराट राम मन्दिर' नाम दिइएको छ । यो मन्दिर कम्बोडियाको 'अंकोर वाट (एक मन्दिर)' भन्दा दुई गुणा अग्लो हुने दावी गरिएको छ।
२०० एकड जमिनमा बन्न लागेको उक्त मन्दिरको उचाइ ४४० फिट हुने बताइएको छ । यसमा २० हजार मान्छे बस्न मिल्नेछ । यो मन्दिरको अर्को विशेषता भनेको साम्प्रदायिक सद्भाव पनि हो । यो मन्दिर निर्माणका लागि मुसलमानहरुले जग्गा दान दिएका छन् ।
मन्दिर निर्माणका लागि सबै वर्गका व्यक्ति उत्साहित रहेका छन्।यसै कारण मन्दिरका लागि मुसलमानहरुले पनि खुसी साथ जमिन दान दिएर साम्प्रदायिक सद्भाव देखाएको निर्माण समितिको दावी छ ।
निर्माण समितिका अध्यक्षका अनुसार केसरिया ब्लकका कुडवा निवासी जैनुल खाँ, आसिम खाँ, अतीक अहमद खाँ, जफीर खाँ लगायतका व्यक्तिले मन्दिरका लागि जग्दा दान दिएका थिए । धार्मिक स्थलको रुपमा भन्दा पनि विश्वकै उदारणीय ठाउँ बन्न लागेकोमा स्थानीयहरु खुसी भई मन्दिर निर्माणमा सहयोग गरेको बताइएको छ ।