क्लिनिकल प्याथोलोजिष्ट संघमा डा. प्रधान निर्वाचित
काठमाडौं: क्लिनिकल प्याथोलोजिष्टहरुको छाता संगठन एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट्स अफ नेपाल (एसीपीएन)को अध्यक्षमा वरिष्ठ प्याथोलोजिष्ट डा. शैलेस प्रधान निर्वाचित भएका छन् ।
राजधानीमा शनिबार भएको एसीपीएनको नवौं राष्ट्रिय अधिवेशनले डा.प्रधानको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा डा. रुना झा, महासचिवमा डा. सुजन शर्मा, सहसचिवमा डा. राकेश पाठक र कोषाध्यक्षमा डा. करिष्मा मल्ल नवनिर्वाचित भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा डा. विदुर वस्ती, डा. निहारिका शाह, डा. रोजन घिमिरे, डा. श्रीया श्रीवास्तव, डा. रेखा मानन्धर र डा. सुमिदा तिवारी रहेका छन्। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसीपीएनका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले सम्मान गरेका थिए।
नवनिर्वाचित कार्यसमितिको सम्मानमा केमिकल एण्ड मेडिकल सर्जिकल इक्युप्मेन्ट सप्लायर्सको संस्था केम्सानले गरेको सम्मान कार्यक्रममा एसीपीएनका निवर्तमान अध्यक्ष डा. गोपी अर्यालले नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण साथ रहने जनाउँदै अंकोलोजिष्ट र रेडियोलोजिष्टबीच समन्वय गरी अगाडि बढ्न सुझाव दिए ।
एसीपीएनका नवनिर्वाचित अध्यक्ष डा. प्रधानले आफ्नो कार्यकालमा सबै पक्षलाई मिलाएर अगाडि बढ्ने दृढता व्यक्त गरे। डा. प्रधान काठमाडौं मेडिकल कलेज प्याथालोजी विभागका प्रमुख र नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य हुन्। सन् १९९० मा स्थापना भएको एनसीपीएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिष्ट सदस्य छन् ।