भारतीय सुरक्षाकर्मीबाट मारिएका साह परिवारलाई ६ वर्षपछि राहत
विराटनगर: भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट मृत्यु भएका मोरङ अमाहीवरियाती-७ खयरबनाका बासुदेव साहका परिवारलाई सरकारले दश लाख रुपैयाँ राहत दिएको छ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार औपचारिक कार्यक्रम गरी विराटनगरमा पीडितका परिवारलाई सरकारले दिएको राहत रकमको चेक हस्तान्तरण गरे। राहत रकम लिन साहकी श्रीमती उर्मिलादेवी साह, जेठा छोरा गौतम साह, कान्छा छोरा जयकान्त कुमार साह र छोरी लक्ष्मीदेवी साह विराटनगर आएका थिए।
राहत रकमको चेक बुझ्दै श्रीमती उर्मिलादेवीले भनिन्, 'हामीलाई न्याय भएको छ तर तीनमध्ये एकजना छोरालाई सरकारले रोजगारीको व्यवस्था गरिदिए जीवन जीउन अझ सहज हुने थियो।' उनले रूदै आफूले यो ६ वर्ष निकै कष्टपूर्ण रुपमा बिताएको बताइन्।
गृहमन्त्री निधिले सुदूरपश्चिमको कञ्चनपुरका गोविन्द गौतम पनि भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भएपछि सरकारले सहिद घोषणा गरी राहत दिए लगत्तै सामाजिक सञ्जालमा मोरङका बासुदेव साहको प्रसङ्ग आएकोले आफूले सहयोगका लागि पहल गरेको बताए। 'बासुदेवको फाइल सुरक्षा समितिबाट गृहमन्त्रालयमा पुगेको रहेछ, तर प्रक्रिया अघि बढेको रहेनछ,' गृहमन्त्री निधिले भने, 'मैले गृहसचिवलाई साहका पीडित परिवारलाई राहत दिने वातावरण बनाउन निर्देशन दिएपछि प्रक्रिया अघि बढेको हो।'
उनले आफ्ना नागरिक पीडामा पर्दा राज्यले सम्झनु पर्ने प्रथालाई निरन्तरता दिदै आफू राहत र सान्त्वना दिन मोरङ आएको बताए। गृहमन्त्रीले कार्यक्रममा सहभागी पूर्वका सुरक्षा अधिकारीहरुलाई साहका छोराहरु 'इच्छुक भए' निर्वाचन सुरक्षामा खटाइने म्यादी प्रहरीमा भर्ना गरिदिन पनि निर्देशन दिए।
मृतक साहका तीनमध्ये माइला छोरा किशोर वैदेशिक रोजगारीमा साउदी अरब गएका छन्। गौतम र जयकान्तकुमारले गाउँमै पेन्टिङ तथा टेन्टको काम गरेर परिवार धानेका छन्।
छोरा गौतमले भने, 'सबै व्यवहार बुवाले नै चलाउनु भएको थियो, हामीले व्यवहार जानेकै थिएनौ तर भारतीय सुरक्षाकर्मीले बुबाको हत्या गरेपछि हामीलाई मर्नु र बाँच्नु भएको थियो। जीवन निकै कठिनपूर्ण भएको थियो।'उनले सरकारले दिएको राहतबाट आफूहरुले न्याय पाएको महशुस भएको बताए।
बासुदेव साहलाई दशगजा पार गरेर नेपालतर्फ आएका एसएसबीका इन्सपेक्टर हितेन्द्र साहले गोली हानी २०६७ जेठ ११ गते हत्या गरेका थिए। भारतबाट सामान ल्याएको विषयमा अन्य मानिसहरुसँग विवाद भई रहेका बेला विवाद मिलाउन अग्रसर भएका साहलाई हितेन्द्रले गोली हानेका थिए।
सहीद घोषणा गर: मोर्चा
मृतक साहलाई सहिद घोषणा गर्न मधेशी मोर्चाले माग गरेको छ। मोर्चा सम्बद्ध दलका नेता र कार्यकर्ता सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि भेला भई प्लेकार्ड बोकेर मौन प्रदर्शन गरेका थिए।
गृहमन्त्रीसँग भेट गर्दै मोर्चाका जिल्ला संयोजक तथा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवले साहलाई सहिदको मान्यता दिन माग गरे। यादवले गृहमन्त्रीसँग भने, 'हामी साहलाई पनि सहिद घोषणा गर्नुपर्छ भन्ने पक्षमा छौं।'