पश्चिम सेती जलविद्युत अायोजना: २२ वर्षदेखि ‘होल्ड’

पश्चिम सेती जलविद्युत अायोजना: २२ वर्षदेखि ‘होल्ड’

काठमाडाैं: सात सय ५० मेघावाट क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने भनेको पनि २२ वर्ष बितिसकेको छ । अष्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेकले निर्माणको अनुमति लिएको १६ वर्षसम्म ‘होल्ड’ मात्र गर्‍यो । त्यसपछिका पाँच बर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले पनि ‘होल्ड’ मात्र गरेर बसेको छ । अहिलेसम्म काम अगाडि बढेको छैन ।

३ माघमा नेपाल विद्युत् प्राधिकरण र थ्री गर्जेजबीच आयोजना अगाडि बढाउने विषयमा प्रारम्भिक संयुक्त उपक्रम सम्झौता (जेभिए) भएको थियो । प्राधिकरण वोर्डले ६ माघमा उक्त जेभिएको अनुमोदन गर्‍यो । प्राधिकरण र थ्री गर्जेजको बोर्डले पास गरेपछि मात्र जेभिएमा अन्तिम हस्ताक्षर हुनेछ । त्यसपछि मात्र आयोजना अगाडि बढाउने बाटो खुला हुनेछ । अहिलेसम्म थ्री गर्जेजबाट जेभिए अनुमोदनको विषयमा कुनै प्रतिकृया आएको छैन ।

आयोजना अगाडि बढाउन प्राविधिकरण र थ्री गर्जेजको संयुक्त लगानीमा छुट्टै कम्पनी स्थापना गरिनेछ । यसमा थ्री गर्जेजले आयोजनाको सम्भाव्यता अध्ययनमा भएको खर्चकोसमेत शेयर माग गरेको छ । थ्री गर्जेज अध्यक्ष लु गोउजुनले लगानी वोर्डसँग अध्ययन खर्चको विषयमा जानकारी मागेपछि वोर्डले नेपाल राष्ट्र बैकलाई पत्र लेखेको थियो । नयाँ बन्ने कम्पनीमा प्राधिकरणको २५ प्रतिशत शेयर रहनेछ भने ७५ प्रतिशत थ्री गर्जेजको । एक खर्ब ६० अर्ब लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋणबाट लगानी व्यवस्थापन गरिनेछ ।

बढ्दो बिजुलीको माग धान्नका लागि जलाशययुक्त आयोजना पश्चिम सेती अगाडि बढाइएको हो । अहिले कुलेखानी एक मात्र जलाशययुक्त आयोजना हो । बिजुलीको माग व्यवस्थापनका लागि सहयोगी हुने यस्ता आयोजनाले १६ मंसिरदेखि १५ जेठसम्म वार्षिक क्षमताको ३५ प्रतिशत बिजुली उत्पादन गर्नुपर्ने व्यवस्था उर्जा मन्त्रालयले गरेको छ । सुख्खा मौसममा १५ दिनसम्म यस्ता आयोजना लगातार चलाउनुपर्ने बाध्यात्मक व्यवस्था पनि मन्त्रालयले गरेको छ ।

बैतडी, बझाङ, डडेल्धुरा र डोटीका दुई हजार चार सय २१ घरधुरीका १८ हजार २ सय ६९ जना विस्थापित हुनेछन् । यसअघि स्मेकले विस्थापितलाई कैलालीमा पुनस्र्थापना गर्ने योजना सार्वजनिक गरेको थियो । जलाशययुक्त आयोजना भएकाले सरकाले १६ मंसिरदेखि १५ जेठसम्मको खुख्खा मौसममा १२ रुपैया ४० पैसा र १६ जेठ–१५ मंसिरसम्म सात रुपैया १० पैसामा विद्युत किन्न सहमति जनाएको छ । ०७१ साउनबाट निर्माण थालेर ०७६ सम्ममा सक्ने गरी १७ फागुन ०६८ मा थ्री गर्जेजलाई जिम्मा लगाएको आयोजनाका सबै काम कागजमा मात्र सिमित छन् ।

उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे थ्री गर्जेजले विभिन्न जानकारी मागेको बताउछन् । भनछन्, ‘हामीले उसले मागेका जानकारी पठायौं । अहिले फेरी थप कुरा मागेको छ । उसले खोजेको सूचना पाएपछि कामको प्रकृया अगाडि बढ्ला ।’ लगानी वोर्डका प्रवक्ता मधु भेटवाल ठूलो परियोजना भएकाले समय लागेको जिकिर गर्छन् । ‘अहिले पनि उनीहरूले मागेको जानकारी पठाउँदैछौं ।

दस्तावेजमा भएका कतिपय कुरा प्रष्ट नभएकाले हाम्रोतर्फबाट प्रष्ट पार्ने काम भएको छ । डकुमेन्टको काम सकियो भने ‘ज्वाइन्ट भेन्चर एग्रिमेन्ट’ हुन्छ’, उनले भने । भेटवालको अनुभवमा छिटो काम भयो भने पनि डेड वर्ष भन्दा पहिला आयोजनाको काम अगाडि नबढ्ने देखिन्छ ।थ्री गर्जेजले अहिले आयोजना क्षेत्रमा रहेको पानीको वहाव नाप्ने काम गर्न थालेको छ ।

यसका लागि चिनियाँहरू आयोजनास्थल पुगेका छन् । थ्री गर्जेजको पूर्ण स्वामित्वमा अगाडि बढाउने गरी गरिएको सम्झौता संसद्को प्राकृतिक स्रोत साधन समितिले उल्टाएपछि पनि आयोजना पछाडि धकेलिएको हो । सम्झौतापछि शेयर माग्ने सरकारी निर्णयका कारण अहिले चिनियाँहरू धेरै विषयमा प्रष्टता खोजिरहेको बुझिन्छ ।

बिजुली भारत बेच्‍ने

सुदूरपश्चिम क्षेत्रको विकासको ढोकाका रुपमा हेरिएको उक्त आयोजनाबाट उत्पादित बिजुली भारत बेच्ने सोच अगाडि सारिएको थियो । ११ डिसेम्वर १९९८ मा पहिलोपटक स्मेकसँग १० प्रतिशत बिजुली नेपाल सरकारले निःशुल्क पाउने गरी आयोजना अगाडि बढाउन सम्झौता भएको थियो । ६ जुलाई २००६ मा सम्झौता नविकरण गर्दा १० प्रतिशत निःशुल्क बिजुलीको साटो त्यो बराबरको पैसा लिने कुरा उल्लेख गरियो । आयोजनाबाट उत्पादन भएको बिजुली भारतमा बेच्ने सोचका साथ स्मेकले यो आयोजना अगाडि बढाएको थियो ।

दस्तावेजमा भएका कतिपय कुरा प्रस्ट नभएकाले हाम्रोतर्फबाट प्रस्ट पार्ने काम भएको छ । डकुमेन्टको काम सकियो भने संयुक्त साझेदारी सम्झौता हुन्छ । -मधु भेटवाल, प्रवक्ता, लगानी बोर्ड


उत्पादिन विद्युत किन्नका लागि भारतको सरकारी कम्पनी पावर ट्रेडिङ कर्पोरेसनलेप्रति युनिट चार दशमलव ८६ सेन्टमा बिजुली किन्न सहमत भएको थियो । त्यतिबेलाको मूल्यमा तीन रुपैयाँ २१ पैसामा प्रति युनिटका दरले भारतलाई बेच्न सहमति भएको थियो । प्राधिकरणले भारतसँग भने प्रति युनिट आठ रुपैयाँमा बिजुली किन्दै आएको थियो । समयमा आयोजना अगाडि बढेको भए सन् २०१२ मा यो आयोजना सम्पन्न भै सक्थ्यो ।

३० वर्षसम्म स्मेकको स्वामित्वमा रहने आयोजनाका लागि समयमा लगानी जुट्न नसकेको वहाना पार्दै स्मेकले म्याद थप्ने काम मात्र गर्‍यो । जसले गर्दा निर्माण सम्पन्न भइसक्नुपर्ने अवधि सकिएपछि स्मेकबाट आयोजना फिर्ता लिनुपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । सरकारले १४ असोज २०५१ मा स्मेकलाई पहिलो पटक तीन वर्षको विद्युत उत्पादनको सर्भेक्षण अनुमति दिएको थियो । त्यसपछि सरकार र स्मेकबीच पटक–पटक सम्झौता संशोधन भएपनि स्मेकले काम भने थालेन । नेपालले चरम विद्युत संकट खेपिरहेको अवस्थामा स्मेकले उक्त आयोजना होल्ड गरेर बसेको थियो ।

स्मेकले छाडेपछि आयोजनामा हात हालेको थ्री गर्जेजले छ सय मेघावाटको प्रस्ताव गरेको थियो । उर्जामन्त्री जर्नादन शर्माले क्षमता घटाउने नपाइने अडान राखेपछि सीटीजीआईले गरेको सम्भाव्यता अध्ययन पुनर्विचार गर्न चिनियाँहरू तयार भएका छन् । सम्झौतापछि सम्भाव्यता अध्ययन गर्न थालिएका कारण पनि आयोजना निर्धारित समयमा अगाडि बढ्न नसकेको हो । अर्कोतर्फ आयोजना कहिले थाल्ने भन्ने विषयमा पछिल्ला सम्झौताहरू मौन छन् । ऊर्जा मन्त्रालयले गरेको समझदारीमा सन् २०१४ को जुलाईमा आयोजना थाल्नेसमेत भनिएको थियो ।

सन् १९९४ देखि नै आयोजना निर्माण गर्न तम्सिएको अस्ट्रेलियाको लगानी जुटाउन सकेन । एशियाली विकास बैंक ‘ब्याक’ भएपछि स्मेकसँग पछि हट्नुको विकल्प थिएन । बैंकले आयोजना अगाडि बढाउन नेपाल सरकारलाई ऋण दिने सोच अगाडि बढाएको थियो । सन् २०११ मा स्मेकसँग सम्झौता तोडिएपछि सन् २०१२ मा आएर चीन सरकारको स्वामित्व रहेको थ्री गर्जेज आयो । थ्री गर्जेज अन्तर्गतको सिडब्ल्युइआईले ०७३ सालको जेठदेखि आयोजनास्थल लेखाजोखा र आधारभूत पूर्वाधार निर्माण थालेको छ ।

चिनियाँ कम्पनीले बाँध निर्माणस्थलसम्म पुग्ने ट्रयाक खोलेको छ । निर्माण क्षेत्रमा १५ कोठे भवन निर्माण गरिएको छ । बाँध र सुरुङ निर्माणस्थलको भू–बनावट अध्ययन सकिएको छ । बैतडी, डोटी, बझाङ र डँडेलधुराका स्थानीयले पाउने लाभ पाउने आयोजनाको पानी भेरीमा झार्न सकिने सम्भावना देखिएको छ । सन् १९८१ मै नदी–प्रवाही आयोजनाका रूपमा अध्ययन गरिएको पश्चिम सेतीलाई १९९४ मा स्मेकले जलाशययुक्त आयोजनामा रुपान्तरण गरेको थियो । स्मेकले प्राधिकरण, चीनका तीनवटा संस्था, भारतको आइएल एन्ड एफएस र एडिबीको संयुक्त लगानीमा आयोजना अगाडि बढाउन खोजेको थियो ।

पानी भेरीमा

नेपालका अधिकाँश जलविद्युत आयोजना ‘रन अफ द रिभर’ मा आधारित छन् । वर्षायाममा पानीको वहाव उच्च हुँदा उत्पादन बढ्छ भने सुख्खा मौसममा पानीको वहाव कमहुँदै गएपछि उत्पादनसमेत घट्दै जानेगर्छ । जलाशययुक्त आयोजना भएकाले पश्चिम सेती हिउँदमा बढि मात्रामा चल्ने भएकाले त्यहाँबाट निस्केको पानी भेरी बबई डाइभर्सन आयोजनामा ल्याउन सकिने सम्भावना रहेको छ । यसो भएमा हिउँदको सुख्खा मौसममा बर्दियादेखि कैलालीसम्मको खेतीयोग्य जमिनमा सिँचाइमा उक्त पानी प्रयोग गर्न सकिन्छ ।

भेरी बबई डाइभर्सन आयोजना अहिले निर्माणाधीन रहेको छ । उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय सिँचाई र बाढी नियन्त्रणका लागि समेत आयोजनाको निकै महत्व रहेको बताउँछन् । भन्छन, ‘आयोजनाबाट बिजुलीबाहेकका फाइदा पनि लिन सकिन्छ । धेरै समय पर्खेर बस्न सकिँदैन । अरुले नबनाए राज्यले बनाउनुपर्छ । राष्ट्रिय गौरवको आयोजना भएकाले पनि यसलाई छिटो सक्ने काम राज्यको जिम्मामा छ ।’

भेरी बबई डाइभर्सन सन् २०२१ भित्र सकिनेछ । यो आयोजना सकिएपछि भेरीको पानी बबईमा आउनेछ । १२ किलोमिटर सुरुङ मार्गबाट बबईमा पानी ल्याउने गरी आयोजना अगाडि बढाइएको छ । आयोजना सम्पन्न भएपछि भेरीमा पानीको वहाव घट्नेछ । जसले गर्दा कैलाली र बर्दियामा अहिले सञ्चालनमा रहेका सिँचाई प्रणालीमा पानी कम हुन्छ । त्यसको आपूर्तिका लागि पश्चिम सेतीको पानी प्रयोगमा ल्याउन सकिन्छ ।

बहुद्देश्यीय आयोजना भएपनि पश्चिम सेतीबाट निकालेको बिजुली कहाँ बेच्ने भन्ने विषयमा चीन अलमलमा परेको छ । भारतले आफ्ना नागरिकको ५१ प्रतिशत स्वामित्व भएको आयोजनाबाट मात्र बिजुलि किन्ने घोषणा गरिसकेको छ । अहिले पनि सीटीजीआईसले पटक–पटक बिजुली कहाँ बेच्ने भनेर सोध्ने गरेको छ । वार्षिक रुपमा निस्कने तीन अर्ब २० करोड युनिट बिजुली किन्ने भने पनि सरकारले उनीहरूलाई आश्वस्त पार्न सकेको छैन । जसले गर्दा आयोजना झन– झन पछाडि धकेलिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.