विश्वास बढाऔं : सी
काठमाडौं : नेपालको राजनीतिक नेतृत्वको विश्वसनीयता र राज्यको आधिकारिकतामा ह्रास आएको विश्लेषण सर्वत्र भइरहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल र चीनबीच राजनीतिक तहमा विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।
चीनको साताव्यापी अनौपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग बेइजिङमा सोमबार भएको भेटमा चिनियाँ राष्ट्रपति सीले दुई मुलुकबीच राजनीतिक तहमा विश्वास बढाउँदै सम्बन्धलाई नयाँ उचाइमा लैजान आवश्यक रहेको बताएका हुन् । स्टेट काउन्सिलर याङ जेइची तथा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारीलाई छेउमा राखेर दाहाललाई आधा घन्टा भेटेका सीले नेपाल र चीनबीच कानुन कार्यान्वयन तथा सुरक्षा क्षेत्रमा सहकार्य बढाउनुपर्ने विषयलाई महत्वका साथ राखेको जानकारी भेटमा सहभागी नेपाली अधिकारीले अन्नपूर्णलाई दिए ।
'द्विपक्षीय सम्बन्धलाई सकारात्मक मोड दिँदै नेपाल-चीन सम्बन्धलाई नयाँ अवस्थामा पुर्याउन मिलेर काम गर्नु आवश्यक रहेको राष्ट्रपति सीले बताउनुभयो । नेपाल र चीनबीच परस्पर राजनीतिक तहमा विश्वास सुदृढ गर्न मिलेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो', भेटबारे चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । चिनियाँ राष्ट्रपतिले प्रमुख राष्ट्रिय हितका सवालमा चीन र नेपालले एकअर्कालाई साथ दिनुपर्ने बताएका थिए ।
भारतसँग निकट सम्बन्ध राखेर चीनसँग दूरी बढाएको आरोप खेपेका प्रधानमन्त्री दाहालसँग चिनियाँ राष्ट्रपतिले राजनीतिक विश्वास बढाउन आवश्यक रहेकोमा जोड दिएका हुन् । दाहालले चीन जानुअघि अविश्वासको दूरी हटाउन प्रयास गर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले नेपालले अन्तर्राष्ट्रिय मामिलामा सक्रियतापूर्वक चीनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा चीनसँग मिलेर काम गर्न चाहेको बताएका थिए ।
चिनियाँ राष्ट्रपतिसँगको छलफलबाट नेपाल र चीनबीचको सम्बन्ध विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीले भेटपछि सञ्चारकर्मीलाई बताए । चिनियाँ राष्ट्रपति सीले नेपालको राजनीतिक स्थायित्व महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । भेटमा दाहालले चीनले अघि बढाएको वान बेल्न वान रोड अवधारणाले नेपाल, भारतलगायत एसिया क्षेत्रकै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने बताएका थिए । उनले नेपालले चाँडैभन्दा चाँडै उक्त अवधारणाको अंग बनी त्यसबाट लाभ लिन चाहेको बताएका थिए ।
दाहालले अघिल्लो सरकारका पालामा चीनसँग भएका पारवहन सम्झौताको प्रोटोकल बनाउने कामलाई उच्च प्राथमिकताका साथ नेपालले अघि बढाएको जनाउँदै अन्य सहमति र सम्झौता कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेसम्म आइपुगेको चिनियाँ रेललाई रसुवा, काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार गर्न दुवै देशले मिलेर काम गर्न आवश्यक रहेको उनले बताए । दाहालले भूकम्पपछि क्षतिग्रस्त बनेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याउन चिनियाँ सहयोगको अपेक्षा लिएको बताए ।
चीनले नेपालको आर्थिक सामाजिक विकासमा उपलब्ध गराउँदै आएको उदार सहयोगका लागि धन्यवाद दिएका थिए । ‘चिनियाँ राष्ट्रपतिसँग धेरै उत्साहका साथ खुला र स्पष्ट छलफल भएको छ', प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले प्रेसविज्ञप्तिमा जनाएको छ । ‘भेट महत्वपूर्ण र उपलब्धिमूलक रहेको र यसखालको उच्चस्तरीय छलफलले नेपाल-चीन सम्बन्ध विकासमा महत्वपूर्ण आयाम थपेको छ', विज्ञप्तिमा भनिएको छ ।
भेटमा दाहालले नेपाल नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको, आर्थिक विकासका लागि अग्रसर रहेको र त्यसका लागि चीनको सहयोग महत्वपूर्ण हुने बताए । उनले सबै पक्षलाई साथमा लिएर स्थानीय तहको निर्वाचन आयोजना गर्ने आफ्नो कोसिस रहेको बताएका थिए ।
चिनियाँ राष्ट्रपति नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, चिनियाँ रेल नेपालसम्म विस्तार तथा तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चासोका साथ दाहालसमक्ष प्रस्तुत भएका थिए ।
‘चिनियाँ राष्ट्रपतिसँगको छलफल नेपालका लागि धेरै महत्वको रह्यो', सचिवालयले भनेको छ । नेपालले राखेका सबै विषयमा चिनियाँ राष्ट्रपतिबाट सकारात्मक सम्बोधन भएको दाहालको सचिवालयको दाबी छ । ‘सीसँगको छलफल प्रधानमन्त्रीले सोचेभन्दा पनि माथि रह्यो', विज्ञप्तिमा भनिएको छ ।
भेटमा चिनियाँ राष्ट्रपतिले चीन र नेपालबीचको मित्रतापूर्ण सम्बन्ध दुवै देशका जनताका आधारभूत स्वार्थहरूमा आधारित रहेको बताए । ‘चीन र नेपालबीचको सम्बन्ध यतिबेला गहिरिँदै आएको अवस्था छ । सरकार, राजनीतिक दल र अन्य तहमा निकट सम्बन्ध छ', सीले भनेका थिए, ‘कनेक्टिभिटी, विपत्पछिको पुनर्निर्माण, पूर्वाधार विकास र सांस्कृतिक क्षेत्रमा सम्बन्धले स्थिर रूपमा गति लिएको छ । यसप्रति म खुसी छु ।'
दुवै पक्षले नेपाल-चीनबीचको सम्बन्धलाई सकारात्मक मोड दिन र मित्रतापूर्ण सम्बन्धलाई नयाँ अवस्थामा पुर्याउन मिलेर काम गर्नु आवश्यक रहेको उनले बताए । एकअर्काको प्रमुख राष्ट्रिय हितका सवालमा चीन र नेपालले एकअर्कालाई साथ दिनुपर्ने उनको भनाइ थियो ।
पारस्परिक लाभका लागि चीनले अघि बढाएको ‘वान बेल्न वान रोड' अवधारणा एक अवसरका रूपमा रहेको जनाउँदै उनले उक्त अवधारणाअन्तर्गत कनेक्टिभिटी, स्वतन्त्र व्यापार, कृषि, उत्पादन, ऊर्जा र विपत्तिपछिको पुनर्निर्माणलाई अघि बढाउन सकिने बताए । द्विपक्षीय व्यापार र लगानी, व्यापार सन्तुलन र दिगो विकासका लागि उक्त अवधारणा महत्वपूर्ण रहेको उनको जोड थियो ।
पर्यटन, संस्कृति, युवा, सञ्चारमाध्यम र सहकार्यका अन्य क्षेत्रमा सहकार्य घनीभूत पार्नुपर्ने राष्ट्रपति सीले बताएका थिए । प्रधानमन्त्री दाहालले चीन नेपालको मैत्रीपूर्ण सम्बन्ध भएको मुलुक रहेको बताए । उनले चीनले नेपाललाई लामो समयदेखि गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । विशेषगरी भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ सहयोगको उनले सराहना गरे । दुई देशबीचको सम्बन्धले नयाँ उचाइ लिएको दाहालले बताए । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालले कहिल्यै आफ्नो भूमिमा चीनविरोधी गतिविधि हुन नदिने बताए ।
दाहालले चीनको वान बेल्ट वान रोड अवधारणाअन्तर्गत व्यापार, लगानी, पूर्वाधार, संस्कृति, पर्यटन, उड्डयनलगायत क्षेत्रमा सहयोग विस्तार गर्न र उक्त अवधारणामा नेपालले सक्रिय रूपमा सहभागी भई लाभ लिन चाहेको बताए ।बेइजिङ भ्रमण सकेर दाहाल सोमबारै सिचुवानको छेङ्दु आइपुगेका छन् । उनले मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतका प्रमुखसँग भेट्ने कार्यक्रम छ ।