जनताले बनाए १० दिनमै १४ किमि सडक

जनताले बनाए १० दिनमै १४ किमि सडक

खारा (रुकुम): दसबर्से सशस्त्र युद्धको पीडा बेहोरेका रुकुम खाराका जनताले आफैं रकम संकलन र श्रमदान गरेर गाउँमा सडक पुर्‍याएका छन् ।प्रतिघर कम्तीमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म उठाई १० दिन श्रमदान गरेर उनीहरूले रुकुमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीबाट पोखरी जोड्ने झन्डै १४ किलोमिटर सडक खनेका हुन् ।

पोखरीगाउँको माथिल्लो टोल र तल्लो टोलका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर चैत सुरुबाट सडक खन्न थालेको र दस दिनमै निर्माण पूरा भएको जानकारी माथिल्लो टोलकी सडक निर्माण उपभोक्ता समिति अध्यक्ष रामकली खड्काले दिइन् । ‘आफ्नो घरसम्म सडक ल्याउन धेरैपल्ट गाविस परिषद्मा कुरो उठायौं । कसैले सुनेनन्’, रामकली भन्छिन्, ‘त्यसैले आफ्नो गाउँका लागि आफैं जुट्नुपर्छ भनेर प्रत्येक घरबाट पैसा उठाई श्रमदानसमेत गरेर सडक बनायौं ।’

साबिकको वडा नं. ५ रहेको पोखरीगाउँ खाराको खुम्चेरी र कुरलको बीच डाँडामा अवस्थित छ । खुम्चेरीको लाँकुरीडाँडासम्म पुगेको सडकलाई गाउँलेले पल्लोगाउँ कुरलसँग जोडेर अगाडि बढाउने योजना बनाएका छन् । आफ्नो घरसम्म सडक आउने भएपछि खुसी बनेका स्थानीय दलबहादुर खड्काले सबैभन्दा धेरै ८० हजार रुपैयाँ सहयोग गरेका थिए ।

पटकपटक आग्रह गर्दा पनि सरकारी पक्षबाट बेवास्ता गरिएपछि रुकुम खाराका बासिन्दाले आफैं रकम उठाएर गाउँ जाने सडक बनाए ।

स्थानीय लक्ष्मी खड्काका अनुसार गाउँमा सडक ल्याउने सल्लाहबमोजिम पैसा उठाउने र श्रमदान गर्ने निर्णय भएको हो । प्रतिघर अनिवार्य १० हजार र त्योभन्दा माथि इच्छाले सहयोग गर्न आग्रह गरिएपछि स्वतस्फूर्त रूपमा रकम जुटेको थियो । पैसा उठाएर पेस्की दिएपछि डोजर लगाएर र श्रमदान गरेर सडक निर्माण गरेका स्थानीय अगुवाले जनताले यति धेरै गर्दा पनि तत्कालीन खारा गाविसले जम्मा ८० हजार रुपैयाँ मात्रै विनियोजन गरेको र त्यही पनि अहिलेसम्म नपाएको गुनासो गरेका छन् । स्थानीयले उठाएको रकमले नै सडक निर्माण गर्न पुगेको उनीहरू बताउँछन् ।

खाराका अरू सबै गाउँमा सडक पुग्दा आफ्नो गाउँमा पनि पुग्नुपर्छ भनेर पटकपटक कुरो उठाएको तर कसैले नसुनेकाले आफैं जुटेको पोखरीको तल्लो टोल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका लक्ष्मी खड्का बताउँछन् । सशस्त्र युद्धका कारण धेरै मानवीय र भौतिक क्षति बेहोरेको खाराको यो गाउँको विकासमा राज्यले बेवास्ता गरेको गुनासो स्थानीयले गरेका छन् । झन्डै १० लाख नगद र ८ लाखबराबरको श्रमदान गरी सडक निर्माणमा १८ लाख रुपैयाँ लगानी भएको हो। सडक बनेपछि सदरमुकाम र विद्यालय आउजाउ गर्न सहज भएको छ भने गाउँको उत्पादनसमेत बजारसम्म पुर्‍याउन सकिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.