'मन्त्रीज्यू, जिल्लाम उपचार कहिले पाउँछौं' ?
जाजरकोट : २७ जनाको ज्यान जाने गरी गत फागुन २६ गते जाजरकोटमा भएको बस दुर्घटनाका ४७ जना घाइतेलाई केही घन्टामै उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको थियो । तर ५० शड्ढया भनिएको अस्पतालमा बेड अभावमा चौरमै राखेर उपचार थालियो । स्वास्थ्यकर्मी पनि अपर्याप्त देखियो । निजी क्लिनिक र रेडक्रसलगायत स्वयंसेवकले प्राथमिक उपचारमा सहयोग गरे पनि तत्काल अक्सिजन र रगत दिन नसक्दा पाँचजनाको अस्पतालमै ज्यान गयो ।
यति मात्र होइन, अस्पताल पुर्याइसकेका करिब एक दर्जन घाइतेको उपचार अभावमा ज्यान गयो । अस्पतालमा रहेका प्राथमिक उपचारका ब्यान्डेज, औषधिलगायत सामग्री केही क्षणमै सकिए । यस्तो दुर्दशा भएको जिल्ला अस्पतालको कहिले स्तरोन्नति हुने हो भनेर जिल्लावासीले सधैं प्रश्न गरिरन्छन् । 'स्वास्थ्यमन्त्री गगनकुमार थापाले देशभर स्वास्थ्य क्षेत्रको सुधार गरिरहेको कुरा सुनेका छौं तर जिल्ला अस्पताल जाजरकोटमा सामान्य खालका बिरामीको पनि उपचार हुँदैन', भेरी नगरपालिका ४ का मित्रगणेश श्रेष्ठले भने, 'विशेषज्ञ सेवा परको कुरा भयो, सामान्य खालका बिरामीको समेत उपचार हुँदैन । मन्त्रीज्यू हामीले जिल्लामै उपचार गर्न सक्ने कहिले बनाउनुहुन्छ ? '
अस्पतालमा आवश्यक उपकरण अभावमा अक्सिजन दिने व्यवस्था छैन । ब्लड बैंक नहुँदा रगत दिने व्यवस्था नभएको र प्रसूतिगृह तथा विशेषज्ञ चिकित्सकको अभावमा सुरक्षित प्रसूति सेवासमेत नभएको श्रेष्ठले बताए । जाजरकोटमा उपचार सम्भव नभएपछि नेपालगञ्ज जान थालेका भेरीत्रिवेणी नलगाड नगरपालिका टट्टाका मि श्रीबहादुर पुनले प्रश्न गरे, 'स्वास्थ्यमन्त्रीज्यू जाजरकोटवासीले जिल्लामै भरपर्दो उपचारको व्यवस्था कहिले पाउने हुन्? '
स्वास्थ्यमन्त्री गगन थापाले देशभर स्वास्थ्य क्षेत्रको सुधार गरिरहेको कुरा सुनेका छौं तर जिल्ला अस्पताल जाजरकोटमा सामान्य बिरामीको पनि उपचार हुँदैन । विशेषज्ञ सेवा परको कुरा भयो । मन्त्रीज्यू हामीले जिल्लामै उपचार गर्न सक्ने कहिले बनाउनुहुन्छ ?
-मित्रगणेश श्रेष्ठ, सेवाग्राही
उक्त घटनाका घाइतेले समयमै भरपर्दो उपचार पाउन सकेको भए यति धेरैको ज्यान जाने थिएन । जिल्ला अस्पतालमा सामान्य उपचारका लागि आउने बिरामीलाई उपचार गर्न नसक्दा जिल्लाबाहिर 'रिफर' गर्ने गरिएको छ । अस्पतालले सामान्य शल्यक्रिया र सुत्केरी गराउन पनि नसक्दा जिल्लावासी हजारौं खर्चेर जिल्लाबाहिर जानुपर्ने बाध्याता छ ।
सरकारले १५ शड्ढयाको जिल्ला अस्पतालको स्तरवृद्धि गर्दै ५० शड्ढयाको बनाउने निर्णय गरेको डेढ वर्ष बितिसके पनि सेवामा कुनै सुधार आउन सकेको छैन । २०७२ असोजको मन्त्रिपरिषद् बैठकले जाजरकोट अस्पताललाई ५० शड्ढयामा स्तरवृद्धि गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्ने भन्दै १० जेठमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले एक कार्यक्रमबीच ५० शड्ढयाको अस्पतालको शुभारम्भ भएको घोषणा गरेका थिए ।
'स्तरवृद्धिको घोषणा गरिए पनि अवस्था फेरिएको छैन । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन', भेरीमालिका नगरपालिका २ का भीमबहादुर वलीले भने, 'आवश्यक पूर्वाधारबिनै हचुवामा अस्पतालको स्तरवृद्धि गरियो ।' अस्पतालको स्तरवृद्धि कागजमै सीमित भएको उनको गुनासो छ ।
नौ विशेषज्ञ चिकित्सक, चारजना मेडिकल अधिकृत र अन्य सहायकस्तरका स्वास्थ्यकर्मीसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय गरी सरकारले अस्पतालको स्तरवृद्धि गर्ने निर्णय गरेको हो । तर हालसम्म चारजना मेडिकल अधिकृत र एकजना दन्तरोग विशेषज्ञबाहेक अन्य चिकित्सक र स्वास्थ्यकर्मी आएका छैनन् ।
१५ बाट ५० शड्ढयाको अस्पतालको स्तरवृद्धि हुनु आफैमा ठूलो उपलब्धि हो । तर आवश्यक पूर्वाधारबिना विशेषज्ञ सेवा प्रदान गर्न नसकिने अस्पताल प्रमुख डा. चाँदनी जैसवालले बताइन् । १५ शड्ढयाको अस्पतालका लागि २०३७ सालमा बनाइएका भवन जीर्ण छन् । कोठासमेत अपर्याप्त हुँदा शड्ढया राख्नसमेत नसकिएको अस्पतालले जनाएको छ । तत्काल २५ बेडको सेवा सञ्चालन गर्ने अस्पतालको योजना कोठा अभावमा अलपत्र छ । अहिले पनि पुरानै १५ शड्ढयाले काम चलिरहेको छ । थप शड्ढया र ब्लड बैंक स्थापनाका लागि आएको सामान भवन अभावमा थन्काएर राखिएको डा. जैसवालले बताइन् ।
प्रसूति कक्ष, विशेषज्ञ कक्ष, बिरामी जाँच गर्ने, औषधि वितरण, एक्स-रे, भिडियो एक्स-रे, इमर्जेन्सीलगायत सेवा सञ्चालन गर्न अत्याधुनिक कोठा आवश्यक पर्छ । तर भवन नहुँदा सेवा सञ्चालनमा ल्याउन कठिन भइरहेको जैसवालको भनाइ छ । ५० शड्ढयाको अस्पतालका लागि अपरेसन कक्ष, स्वास्थ्यकर्मीका लागि आवास भवन र विशेषज्ञअनुसारका उपकरण आवश्यक पर्छन् । तर अहिलेसम्म केही छैन ।जिल्ला अस्पतालमा ल्याब सेवा, भिडियो एक्स-रे, ईसीजी, अल्ट्रासाउन्डलगायत सेवाबाहेक दाँत तथा मुखको उपचारका लागि आवश्यक उपकरणसहितको सेवा सञ्चालनमा ल्याइएको छ । तर सामान्य खालका शल्यक्रिया, प्रसूतिलगायत सेवासमेत उपलब्ध नभएको नागरिक समाजका जिल्ला अध्यक्ष केशवजंग शाहले बताए ।