सर्दीभीरमा बन्यो क्यान्टिलिभर पुल
गोरखा : सीमावर्ती चुम्चेत र छेकम्पारका बासिन्दा डोरीमा झुन्डिएर सर्दीभीर वारपार गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । सदरमुकाम गोरखासम्म आउनेजाने चुमनुब्री गाउँपालिका ६ चुम्चेत लोक्पाको सर्दीभीरमा क्यान्टिलिभर पुल (भीरमा टाँसिएको पुल) निर्माण भएपछि बाह्रै महिना सर्दीभीरको बाटो हिँड्न सकिने भएको स्थानीय सेराप गुरुङले जानकारी दिए ।
बेलायती सहयोगी संस्था डीएफआईडीले दुई महिना काम गरेर क्यान्टिलिभर पुल निर्माण गरेको हो । 'हिउँदमा काठको फड्के हालेर काम चलाइन्थ्यो । बर्खाको चार महिना त भीरमा डोरी टाँगेर, डोरीमा झुन्डिएर वारपार गर्नुपथ्र्यो', चुम्चेत गाविसका कर्मचारीसमेत रहेका सेराप भन्छन्, 'अब गाउँलेहरू सजिलै आवतजावत गर्न पाउँछन् । घोडा, खच्चड पनि हिँड्न सक्ने भए । खाद्यान्न बोकेर आउन जान सकिने भयो ।' डोरीमा झुन्डिएर सर्दीभीर कट्न नसक्ने महिला, बालबालिका, वृद्ध, भारी बोक्ने मान्छे यसअघि बर्खा महिनामा आवतजावत गर्न सक्दैनथे ।
'अब बर्खामा पनि खाद्यान्न ओसार्न पाइने भयो', गुरुङ भन्छन्, 'चुम भ्याली ट्रेकिङमा आएका पर्यटक लोक्पाबाट फर्कन बाध्य हुन्थे । अब भने चुम भ्यालीसम्म पुग्न सक्ने भए ।' बर्सेनि फड्के बनाउने स्थानीयको खर्च पनि जोगिने उनले बताए । यसअघि डब्लूएफपी, एम क्यापजस्ता संस्थाले दुई लाख, तीन लाख रुपैयाँ खर्च गरेर बर्सेनि फड्के बनाउने गर्थे ।
डीएफआईडीको आर्थिक सहायता र सामर्थ नामक संस्थाको साझेदारीमा पुल निर्माण भएको कर्मचारी विकासचन्द्र भण्डारीले जानकारी दिए । गत फागुनको २५ गते काम सम्पन्न भएको उनले बताए । क्यान्टिलिभर पुलको लम्बाइ ९० मिटर छ भने ढुंगा बिछ्याइएर तयार गरिएको पुलको लम्बाइ एक सय २८ मिटर रहेको भण्डारीले बताए ।
पुलबाट अहिले यात्रु आवतजावत गर्न थालिसकेका छन् । विधिवत उद्घाटन भने नभएको उनको भनाइ छ । क्यान्टिलिभर पुलसम्म पुग्ने सिँडी मनास्लु संरक्षण क्षेत्र आयोजना (एम क्याप) ले निर्माण गरेको छ । एक सय ४८ मिटर पक्की पैदलबाटो बनाइएको एम क्यापका कर्मचारी हीरा क्षेत्रीले जानकारी दिए ।
यसअघि डीएफआईडीले बूढी गण्डकीले बगाएको यारु बगरमा पनि क्यान्टिलिभर पुल बनाएको थियो । उक्त क्यान्टिलिभर पुल नमुनाको रूपमा नेपालमा पहिलोपटक प्रयोग गरिएको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।