रूसमा विपक्षी नेता थुनामा, २० हजार रुबल्स जरिवाना

रूसमा विपक्षी नेता थुनामा, २० हजार रुबल्स जरिवाना

वासिङटन: रूसको अदालतले सोमबार प्रमुख विपक्षी नेता एलेक्सी नावाल्नीलाई १५ दिन जेल सजाय दिने निर्णय गरेको छ । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन आयोजना गरेका भन्दै उनीमाथि २० हजार रुबल्स पनि जरिवाना तोकिएको छ ।

उनको आह्वानमा रूसका ८० भन्दा बढी सहरमा आइतबार भ्रष्टाचारको विरोधमा प्रदर्शन भएका थिए । हजारौं प्रदर्शनकारीले रूसमा भ्रष्टाचार भएको भन्दै नारा जुलुस गरेका थिए । मस्को र सेन्ट पिटर्सबर्गमा ठूलो संख्यामा भेला भएर उनीहरूले विरोध गरेका थिए । मस्को प्रहरीलाई उद्धृत गर्दै तास समाचार समितिले ५ सयभन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिएको उल्लेख गरेको छ । हिरासतमा लिइएका व्यक्तिमाथि प्रशासनिक कारबाही गरिने प्रहरीले जनाएको छ । उनीहरूलाई थुनामै राखिने वा आर्थिक जरिवाना गर्न सकिने छ ।

यसैबीच संयुक्त राज्य अमेरिकाको विदेश विभागले रूसी विपक्षी नेता एलेक्सेई नावाल्नी समेत सयौं प्रदर्शनकारीलाई थुनामा नराख्न चेतावनी दिएको छ । प्रदर्शनकारीलाई थुन्नु गैरप्रजातान्त्रिक भएको भन्दै अमेरिकाले निन्दा गरेको छ । मानवाधिकार संस्था ओभीडी इन्फोले मस्कोमा ७ सयभन्दा बढीलाई हिरासतमा लिइएको दाबी गरेको छ । ओभीडीले आगामी वर्ष रूसमा हुने राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिनविरुद्ध उम्मेदवारी दिन सक्ने भएकाले एलेक्सेई नावाल्नीलाई गिरफ्तार गरिएको आरोप लगाएको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता मार्क टोनरले नावाल्नीलाई गिरफ्तारी गरेको खबरले अमेरिका चिन्तित भएको बताए । शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेका व्यक्तिलाई पक्राउ गरेर रूसले प्रजातान्त्रिक मूल्य मान्यतामाथि आक्रमण गरेको उनको कथन थियो ।टोनरले भने, ‘शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेका प्रदर्शनकारी, मानवाधिकारवादी र पत्रकारलाई हिरासतमा लिइनु प्रजातान्त्रिक मूल्य मान्यताको अपमान हो ।’

अमेरिकाले यस्तो गतिविधिको निगरानी गरिरहने उनले बताए । प्रदर्शनकारीलाई तत्काल रिहा गर्न उनले रूससँग आग्रह गरेका छन् । नावाल्नीले एउटा फिलिम बनाएर रूसी प्रधानमन्त्री दिमित्रि मेदभेदेभले शंकास्पद तरिकाले अकुत सम्पत्ति कमाएको देखाएका छन् । फिलिम प्रदर्शन गरिएसँगै सरकारले भ्रष्टाचार गरेको भन्दै त्यहाँका जनता प्रदर्शनमा उत्रिएका हुन् ।

को हुन् नावाल्नी

भ्रष्टाचारविरोधी अभियान चलाइरहेका रूसका मुख्य विपक्षी नेता एलेक्सेई नावाल्नी लामो समयदेनि राष्ट्रपति पुटिनको विरोध गर्दै आएका व्यक्ति हुन् । गतवर्ष नै उनले सन् २०१८ मा हुने रूसी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गत वर्ष रूसको अदालतले उनीमाथि धोका दिएको विषयमा सजाय दिएको थियो । अदालतबाट धोकाधडीको सजाय पाएका हुजाले उनले उम्मेदवारी दिन पाउने देखिँदैन । यद्यपि उनले यसको खण्डन गरेका छन् । राजनीतिक प्रतिशोध लिन आफूलाई फसाइएको उनको भनाइ छ ।

सन् २००८ मा सरकारी निगममा भएको भ्रष्टाचार र लापर्वाहीका विषयमा उनले ब्लग लेख्न सुरु गरेका थिए । यसका लागि उनले तेल कम्पनी, बैंकका सेयर किनेका थिए । ती संस्थामा भएका घोटलाका बारेमा सामाजिक सञ्जालको प्रयोग गर्दै राजनीतिमा आएका हुन् । उनले राष्ट्रपति पुटिनको विरोध गर्छन् । यसैकारण उनी युवामाझ चर्चित छन् । पुटिनको विरोध गरेर लोकप्रिय बनेपछि उनले पुटिनको दल युनाइटेड रसियाको विरोध गर्दै आएका छन् । सन् २०११ मा भएको राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी भने दिएनन् । यद्यपि उनले पुटिनको दललाई भोट नदिन आह्वान गरेका थिए ।

पुटिनको विरोध गर्नेहरू पनि नावाल्नीका विरोधी छन् । रूसी राष्ट्रवादीले नावाल्नी राष्ट्रप्रति बफादार नभएको बताउँछन् । उनीहरूले नावाल्नी अमेरिकी एजेन्ट भएको बताउँदै आएका छन् । अमेरिकाबाट सञ्चालित भएको र रूसलाई कमजोर गराउने उनको मूल ध्येय भएको राष्ट्रवादीहरूको भनाइ छ । उनले अमेरिकाको येल विश्वविद्यालयमा एक सेमेस्टेर पढेका थिए । अध्ययन पूरा नगरी उनी रूस फर्किएका थिए । पुटिनको कडा विरोध गरेकै कारण विपक्षीले उनलाई सन् २०१२ को अक्टोबरमा आफ्नो नेता चुनेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.