द्वन्द्वपीडितको प्रश्न : 'सरकार, हामीले सत्य कहिले थाहा पाउने ?
महेन्द्रनगर : 'मेरो छोरालाई किन मारियो? मैले यसको जवाफ कहिले पाउँछु ? कक्षा १० मा पढिरहेको मेरो छोराको के दोष थियो र उसको हत्या भयो ? ' द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको सत्यतथ्य उजागरसम्बन्धी कार्यक्रममा सशस्त्र द्वन्द्वमा छोरो गुमाएका कञ्चनपुरको बन्साहका पल्टु चौधरीको प्रश्न हो यो । उनका छोरा कक्षा १० मा पढ्दै गर्दा राज्यपक्षबाट मारिएका हुन् । संकटकाल सुरु भएलगत्तै उनका छोराको हत्या भयो । घटना भएको १२ वर्षभन्दा बढी बितिसक्यो तर पनि उनलाई छोरो फर्केर आउँछ कि भन्ने आस लागि रहन्छ ।
उनले यतिका समय बितिसक्दासमेत छोराको हत्या किन भयो भन्ने जानकारी पाएका छैनन् । 'पढ्दापढ्दै सहिद भयो । ऊसँगका साथीहरू अहिले पढेर राम्रो ठाउँमा पुगेका छन्', उनले पीडा सुनाउँदै भने, 'सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा मुलुक गएर संविधान जारी भइसक्दासमेत द्वन्द्वपीडितको पीडामा मलम लागेको छैन ।'
पल्टु चौधरी मात्रै होइन कञ्चनपुरको शुक्लाफाँटा ८ बस्ने सोबनसिंह धामीको पीडा पनि उस्तै छ । खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरकी उनकी बहिनीको तत्कालीन सेनाबाट हत्या भयो । बैतडीको डिलासैनी गाविसमा बस्दा उनकी बहिनीलाई सेनाले अपहरण गरेर लग्यो र पछि हत्या गर्यो । उनले पनि अहिलेसम्म आफ्नी बहिनी किन मारिइन् भन्ने सत्य बुझ्न पाएका छैनन् ।'द्वन्द्वको समयमा हामीले परिवारजन गुमाऔं', उनले भने, 'तर अहिलेसम्म हामीले सत्य बुझ्न पाएका छैनौं । यो पीडाले सधंै रुवाइरहन्छ ।' उनले अहिलेसम्म द्वन्द्वपीडितले आफ्ना परिवार र अभिभावक किन मारिए, किन बेपत्ता पारिए र किन यातना दिइयो, त्यसको सत्य बुझ्न नपाएको बताए ।
वेदकोट ८ की हीरा भण्डारीका श्रीमान्लाई २०५८ मा अपहरण गरी बेपत्ता पारियो । उनले पनि आफ्ना श्रीमान् किन बेपत्ता पारियो भन्ने जान्न पाएकी छैनन् । 'अहिलेसम्म पनि पीडा छ । सत्य बुझ्न पाइएन', उनले भनिन्, 'द्वन्द्वको समयमा भएका घटनाको सत्य जान्न पाउनुपर्छ ।' उनले द्वन्द्वपीडितका नाममा दलहरूले राजनीति गर्ने गरेको बताइन् ।
पढ्दापढ्दै सहिद भयो । ऊसँगका साथीहरू अहिले पढेर राम्रो ठाउँमा पुगेका छन् । सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा मुलुक गएर संविधान जारी भइसक्दासमेत द्वन्द्वपीडितको पीडामा मलम लागेको छै । - पल्टु चौधरी द्वन्द्वपीडित, बन्साह कञ्चनपुर
'दलका नेतालाई थाहा छ, सरकारलाई पनि थाहा छ हाम्रो पीडा', उनले भनिन, 'अब कसले न्याय दिने ? हामी भन्दाभन्दा थाकिसक्यौं ।' उनका श्रीमान्लाई घरबाटै २०५८ पुस १७ गते अपहरण गरेर लगिएको थियो । झलारीकै करनसिंह साउद आफ्नो सन्तान सम्झँदा भक्कानिएर रुन्छन् । द्वन्द्वको समयमा सन्तान गुमाएका उनी राज्य द्वन्द्वपीडितको सवालमा निरिह भएको बताउँछन् ।
स्थानीय शान्ति समितिका संयोजक गगनबहादुर सिंहले समेत पीडितहरूले अहिलेसम्म सत्य थाहा पाउन नसकेको बताए । उनले सशस्त्र द्वन्द्वका समयमा पीडित भएकाहरूको न्यायका लागि २ वटा आयोगले काम गरिरहेको बताए । मानवअधिकारकर्मी कोमल निरञ्जन भाटले पीडितहरूले सत्यतथ्य जानकारी पाउनुपर्ने बताए ।
न्यायका लागि द्वन्द्वपीडित समाज कञ्चनपुरका अध्यक्ष धरमबहादुर चौधरीले सत्य थाहा पाउने अधिकारबाट पीडितलाई वञ्चित गरिएको बताए । कञ्चनपुरमा सत्य निरूपण तथा मेलमिलाप आयोगमा एक हजार ८ सय र बेपत्ता छानबिन गर्न बनेको आयोगमा ९३ उजुरी परेका छन् ।