उपन्यासमा रेमिट्यान्सको असर
काठमाडौं : रेमिट्यान्स नेपाली अर्थतन्त्रको आधार भएको छ र विदेशगमन बनेको छ नेपाली संस्कृति । यस संस्कृतीले नेपाली समाजमा पारेको प्रभावलाई आख्यान रूप दिएका छन् श्याम सिंघकले । सोमबार काठमाडौंको मण्डला थिएटरमा सिंघकको उपन्यास 'रेमिटल्यान्ड' विमोचन गरियो । लेखक राजन मुकारुङ, पत्रकार देवेन्द्र भट्टराई र उपन्यासकार स्वयम्ले संयुक्त रूपमा उपन्यास विमोचन गरे ।
विमोचन कार्यक्रममा पुस्तकबारे धारणा राख्दै मुकारुङले उपन्यासले रेमिट्यान्ससँग जोडिएको मनोवैज्ञानिक, आर्थिक, सामाजिक पाटाको कथा उजागर गर्ने धारणा राखे । 'आर्थिक जीवनको आवश्यकताले हामी विदेश त गयौं तर सँगै जीवनका अरू महत्वपूर्ण आवश्यकता भने बाँकी नै रहे', मुकारुङले भने, 'जीवनसाथीको अभाव पूर्ति गर्ने सन्दर्भमा निर्माण हुने सम्बन्धको कथा हो रेमिटल्यान्ड ।'
पत्रकार भट्टराईले उपन्यासले रेमिट्यान्सले ल्याएको नकारात्मकता र विसंगतिको स्पष्ट चित्र दिने बताए । विदेशगमनको संस्कृतिले नेपाली समाजको सम्बन्धमै दरार आइरहेको टिप्पणी भट्टराईले गरे । त्यस्तो प्रभाव अनुसन्धान पत्रहरूले भन्दा आख्यानले राम्रोसँग बताउने उनको धारणा थियो । कार्यक्रममा उपन्यासकार सिंघकले उपन्यास लेखनका उद्देश्य र कारणहरू बताएका थिए ।