चौधरी समूहको नेपालमा ५० अर्ब लगानी थपिँदै
काठमाडौंः चर्चित व्यावसायिक घराना चौधरी समूहले तीन वर्षभित्र नेपालमा ५० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । समूहले हस्पिटालिटी, चाउचाउ, सिमेन्ट, बियर, जलविद्युत्, हाउजिङ, उद्योग पार्कलगायतमा ठूलो लगानी गर्न लागेको हो । नेपाल लगानीका लागि प्राथमिकतामा रहेको बताउँदै समूहले बिजनेस विस्तारमा ठूलो लगानी गर्ने घोषणा गरेको हो । यो लगानीले मुलुकमा साढे दुई हजार रोजगारी सिर्जना गर्ने बताइएकाे छ ।
समूहका अध्यक्ष विनोद चौधरीले नेपाललाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए । ‘धेरै परियोजनाको धमाधम काम भइरहेको छ, कतिपय परियोजना पाइप लाइनमा छन्’, सोमबार पत्रकार सम्मेलन गरी उनले भने, ‘तीन वर्षभित्र अधिकांश परियोजना सञ्चालनमा आइसक्नेछन् ।’ चौधरी समूह वाइवाइ चाउचाउ र होटेलको विश्वव्यापी विस्तारमा लागेको छ । अहिले वाइवाइ चाउचाउ तीन दर्जन मुलुकमा निर्यात हुन्छ । छिट्टै युरोपको सर्बिया, साउदी अरेबिया, बंगलादेशमा वाइवाइ प्लान्ट सञ्चालनमा आउँदैछन् । समूहले नेपाल, भारत, चीन, श्रीलंका, माल्दिभ्स, अमेरिका, अफ्रिका लगायतका मुलुकमा लक्जरी होटेल सञ्चालन गरिरहेको छ ।
पछिल्लो समय चौधरी विदेशतिर बिजनेस विस्तारमा केन्द्रित भएको आरोप लाग्दै आएको थियो । लगानीका लागि नेपाल प्राथमिकतामा रहेको पुष्टी गर्न ठूलो लगानी गर्न लागेको समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए । ‘चौधरी समूहले धेरै लगानी विदेशमा गरिरहेको भन्ने गलत सन्देश गएको छ’, उनले भने, ‘तर हामीले नेपालमै लगानी बढाइरहेका छौं, धेरै रोजगारी पनि नेपालमै सिर्जना भइरहेको छ ।’ लगानीका लागि नेपाललाई सँधै प्राथमिकतामा राखेको उनको भनाइ छ ।
समूहले नवलपरासीमा रहेको चौधरी उद्योग ग्राम र सुनसरीमा वाइवाइको नयाँ प्लान्ट सञ्चालनमा ल्याउँदैछ । नवलपरासीको प्लान्टमा ३० करोड र सुनसरीको प्लान्टमा ५० करोड लगानी गर्न लागेको निर्वाणले बताए । दुई प्लान्टको उत्पादन क्षमता वार्षिक २८ करोड ८० लाख प्याकेट हुनेछ । नवलपरासीमा अहिले वाइवाइका चारवटा प्लान्ट सञ्चालनमा छन् । एक वर्षअघि बर्दियामा वाइवाइको प्लान्ट सञ्चालनमा आइसकेको छ ।
नवलपरासीकै उद्योग ग्राममा रहेको रियो जुसको पनि क्षमता विस्तार गरिने भएको छ । रियोको क्षमता विस्तारमा २५ करोड लगानी थपिँदैछ । यस्तै, बियरको क्षमता बढाउन एक अर्ब लगानी हुँदैछ । अहिले नेपाली बजारमा काल्र्स वर्गपछि सीजी ब्रुअरीको नेपाल अाइस दोस्रो स्थानमा रहेको निर्वाणले बताए । नवलपरासीमै सञ्चालनमा रहेको प्याकेजिङ उद्योगको पनि क्षमता बढाउन लागिएको छ । प्याकेजिङको क्षमता बढाउन २० करोड लगानी हुँदैछ । पाल्पामा ठूलो सिमेन्ट उद्योग सञ्चालनमा आउँदैछ । समूहले पाल्पामा क्लिकर उत्पादनका लागि साढे आठ अर्ब लगानी गर्न लागेको छ । यो मुलुककै ठूलो क्लिकर उद्योग हुने निर्वाणले दाबी गरे । नवलपरासीको दुम्किवासमा ९५ करोड रुपैयाँ लगानी थपेर ग्रान्डिङ क्षमता बढाउन लागिएको छ ।
चौधरी समूहले जलविद्युत्मा पनि आक्रमक रूपले लाग्ने घोषणा गरेको छ । चौधरीकै लगानीमा मध्य मोदी (१५.१ मेगावाट) र सुपर मादी (४४ मेगावाट) क्षमताका दुईवटा हाइड्रो परियोजना धमाधम निर्माण भइरहेका छन् । मध्य मोदीमा दुई अर्ब ८० करोड र सुपर मादीमा सात अर्ब ५० करोड लगानी हुँदैछ । समूहले स्टोरेज हाइड्रो परियोजनासमेत निर्माण गर्ने घाेषणा गरेकाे छ । झन्डै ६० मेगावाटको परियोजनामा १७ अर्ब लगानी गर्न लागेको निर्वाणले जानकारी दिए ।
चौधरी समूह रियल स्टेट बिजनेस (सामुहिक अावास)मा पनि उत्तिकै अगाडि छ । समूहले सीजी हिल्स, एमभीआर, काठमान्डू रेसिडेन्सी र सीजी ल्यान्डमार्कमा लगानी गरिरहेको छ । सीजी हिल्समा ८५ करोड, एमभीआरमा दुई अर्ब १६ करोड र काठमाडौं रेसिडेन्सीमा एक अर्ब ६२ करोड लगानी छ । यस्तै सीजी ल्यान्डमार्कमा दुई अर्ब लगानी हुने बताइएको छ ।
चितवनको भरतपुरमा निर्माण भइरहेको सीजी ल्यान्डमार्कमा रिटेल पसल, रिक्रियसन सेन्टर, मल्टिप्लेक्स, होटेल, रेस्टुरेन्ट, बैंक, ट्राभल कम्पनीलगायत रहनेछन् । यो कम्प्लेक्स यही अक्टोबरदेखि सञ्चालनमा आउँदैछ । यो भरतपुरकै आकर्षणका रूपमा रहने समूहको विश्वास छ । यसैगरी ललितपुरको पुल्चोकमा हाइएन्ड सर्भिस्ड अपार्टमेन्ट कम्प्लेक्स निर्माण हुँदैछ । यसमा ७८ अपार्टमेन्ट रहनेछन् । करिब तीन अर्ब लगानी रहने अपार्टमेन्टमा रुफ टप स्विमिङ पुल, हेल्थ क्लव, रेस्टुरेन्ट, चार सय गाडी र सात सय मोटरसाइकल पार्किङ सुविधा हुनेछ । यो कम्प्लेक्स सन् २०२० सम्म सञ्चालनमा ल्याउने लक्ष्य छ ।
चौधरी समूहले सामुहिक अावास र सपिङ कम्प्लेक्स पूर्वमा धरान, इटहरी र विराटनगरमा पनि बनाउने घाेषणा गरेकाे छ । यस्तै, पश्चिमको पोखरा र भैरहवामा पनि हाउजिङ/कम्प्लेक्स बनाउने तयारी भइरहेको छ । निर्वाणका अनुसार धरान, इटहरी र विराटनगरमा काम समेत अगाडि बढिसकेको बताइएको छ । समूह नेपालमा होटेल विस्तारमा पनि आक्रमक ढंगले प्रस्तुत भएको छ । यही वर्ष चितवनको मेघौलीमा लक्जरी सफारी रिसोर्ट मेघौली सेराइ सञ्चालनमा ल्याएको छ । यो रिसोर्टमा ७० करोड रुपैयाँ लगानी भएको छ । ललितपुरको सानेपामा रहेको समिट होटेलको विस्तार गरिँदैछ । समिटमा एक सय २० कोठा थपेर वल्र्डक्लास लक्जरी बुटिक होटेल बनाउन लागिएको हो । होटेलको स्तरोन्नतिमा दुई अर्ब लगानी हुने अनुमान छ ।
ललितपुरकै झमेलमा चारतारे बिजनेस होटेल ‘जिंक सिटी झमेल’ निर्माण भइरहेको छ । यो होटेलमा एक सय १४ कोठा हुनेछन् । यसमा डेढ अर्ब लगानी हुनेछ । नवलपरासीको हर्कपुरमा आयुर्वेदिक वेलनेस रिसोर्ट निर्माण भइरहेको छ । यसलाई हेल्थ केयर सेन्टरका रूपमा विकास गर्न लागिएको हो । करिब ५० करोड लगानी रहने रिसोर्टमा १८ वटा भिल्ला हुनेछन् । ललितपुरको बागडोलमा सर्भिस अपार्टमेन्ट काठमाडौं रेसिडेन्सी सञ्चालनमा आउँदैछ । यसमा ५० करोड लगानी हुनेछ । चौधरी समूह बहुराष्ट्रिय कम्पनी बनिसकेको छ ।
‘हामी कठिन समयमा पनि बिजनेस विस्तारमा निरन्तर लागिरह्यौं, उद्योग/व्यवसाय थप्दै गयौं, कहिल्यै पछाडि परेनौंं’ विनाेद चौधरीले भने, ‘त्यसैको परिणाम अहिले आइरहेको छ ।’ सन् १९९५ तिर समूहका चारवटा मात्रै बिजनेस ‘भर्टिकल’ थिए । अहिले बिजनेस भर्टिकल बढेर १६ पुगिसकेका छन् । २७ वर्षको दौरानमा चौधरी समूह बहुराष्ट्रिय कम्पनी बनेको उनको भनाइ छ । फोब्र्स पत्रिकाका अनुसार चौधरीसँग एक अर्ब ३० करोड अमेरिकी डलर सम्पत्ति छ ।