एलजीको भीआरएफ मल्टी भी फोर एसी
काठमाडौं : एलजीले काठमाडौंमा आइतबार 'एलजी एयर कन्डिसनर कन्क्लेभ २०१७' कार्यक्रमको आयोजना गरी 'मल्टी भी फोर' एयर कन्डिसनर (एसी) बारे जानकारी गराएको छ । यसमा प्रयोग भएको प्रविधि, जडान प्रक्रिया र यसको सहजताबारे कार्यक्रममार्फत जानकारी गराइएको थियो । कार्यक्रम बैंक, होटेल, निर्माण, व्यापारलगायतका क्षेत्रमा संलग्न व्यवसायीको उपस्थिति थियो ।
कम्पनीले मल्टी भी फोर एसीबारे जानकारी दिए पनि यो उत्पादन नेपालमा भित्रिएको एक वर्षभन्दा बढी भइसकेको छ । नेपालका लागि एलजी इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले यसलाई नेपालमा भित्र्याएर विभिन्न क्षेत्रमा जडानसमेत गरिसेकेको छ । भीआरएफ (भेरिएबल रेफ्रिजेरेटर फ्लो) एसीको रूपमा चौथो जेनेरेसनको 'मल्टी भी फोर' एसीलाई कम्पनीले अहिलेसम्म सतुंगलस्थित इलेक्ट्रोनिक कार्यालय, चितवनको मेघौलीस्थित रिसोर्ट, केसर मल र नेपाल एसबीआई बैंकमा जडान भएको एलजी इलेक्ट्रोनिक्स नेपालका नायब प्रबन्धक विवेक ज्ञवालीले कार्यक्रममार्फत जानकारी गराए ।
कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै एलजी इलेक्ट्रोनिक्स सिंगापुरका प्रोडक्ट डाइरेक्टर सेन लीले यस कार्यक्रममार्फत नेपालमा एलजीको मल्टी भी फोर एसीको कोर सिस्टम र प्रयोगबारे जानकारी गराउने काम भएको बताए । उनका अनुसार चौथो जेनेरेसनका पुराना एसीको तुलनामा कम्पनीले मल्टी भीलाई प्रविधिमैत्री एसीको रूपमा निर्माण गरेको छ । हाइपर प्रविधि, अल इन्भर्टर कन्भर्टर, भेरिएबल हिट कम्प्रेसर, हाई एलिभेटेड एक्सटेन्डेड पाइपिङजस्ता प्रविधि मल्टी भी फोरका प्रमुख विशेषता हुन् ।
कुराकानीकै क्रममा एलजी इलेक्ट्रोनिक्स सिंगापुरका सिनियर म्यानेजर विरेन्द्र राणाले एलजी मल्टी भी फोर एसी विश्व बजारमा तीन वर्षअघि नै सार्वजनिक भएको जनाए । उनका अनुसार यसको विशेषता भनेको यसमा प्रयोग भएको विभिन्न किसिमका पेटेन्ट प्रविधि हो । यसमा प्रयोग भएको हाइपर प्रविधिले तेलको खपत कम गर्न मद्दत गर्नेछ । त्यसका साथै यसमा इन्भर्टर कम्प्रेसर प्रविधिको प्रयोग भएको छ जुन नेपाली बजारको लागि सुहाउँदो भएको उनको दाबी छ ।
राणाका अनुसार मल्टी भी टेक्नोलोजी नयाँ टेक्नोलोजी भने होइन । यो निर्माण भएको २५ देखि ३० वर्ष भइसेकेको छ । यो प्रविधिको प्रयोग २५ वर्ष पहिले एलजीले गरेको थियो । कम्पनीले मल्टी भी, मल्टी भी टू, मल्टी भी थ्री हुँदै सन् २०१३ मा मल्टी भी फोरको निर्माण गरेको हो । विन्डोज एसी प्रणाली, स्प्लिट एसी, सेन्ट्रल एसी प्रणालीमासमेत एसी निर्माण गरेको कम्पनीको भीआरएफ मल्टी भी फोर एसी विशेष गरी ठूला व्यावसायिक भवन, कर्पोरेट हाउस, बैंक, अस्पताल तथा औद्योगिक कारखानामा बढी प्रभावकारी हुने राणा बताउँछन् । उनका अनुसार कम्पनीले ल्याएको भीआरएफ एसी हामीले प्रयोग गर्दै आएको स्प्लिट एसीको तुलनामा प्रविधिको हिसाबले ठूलो फरक छ ।
स्प्लिट एसीमा कोठाभित्र एसी हुन्छ र त्यसलाई चलाउन बाहिर एउटा छुट्टै बक्स राखिएको हुन्छ । यसो गर्दा ठूल्ठूला मल, होटेल, हाउजिङलगायतका स्थानको आकर्षणलाई घटाएको छ । तर, भीआरएफ एसीका लागि घरको छत, बगैंचा वा अन्य कुनै पनि स्थानमा आउटडोर राखेर पाइपमार्फत भित्र सयभन्दा बढी कोठामा एकै पटक एसी सञ्चालनमा ल्याउन सकिन्छ भने आउटडोरमा राखिएको केन्द्रीकृत युनिटबाट नै सबै कोठाको तापक्रमको सन्तुलन मिलाउन सकिन्छ । यसको पाइपलाई एक हजार मिटर परसम्म पनि पुर्याउन सकिने उनको भनाइ छ ।
एसीको बजारमा भीआरएफ सिस्टमका साथ विभिन्न कम्पनी भित्रिएका छन् । त्यसमा एलजीको एसी बिजुली कम खपत गर्ने एसीको रूपमा विश्व बजारमा चिनिएको छ । अन्य ब्रान्डको तुलनामा यसले २० प्रतिशत कम बिजुली खपत गर्ने ली बताउँछन् । यसको कार्यक्षमता पनि उत्कृष्ट छ । यसमा प्रयोग भएको 'हाई प्रेसर अल रिटर्न' प्रणालीले लुब्रिकेसन बढी दिनेछ । साउन्डको हिसाबमा एलजीका एसी विश्वस्तरमा नै किर्तिमान राख्न सफल भएको छ । एसीमा भ्याकु इन्जेक्सन र ६ वटा बाइपास भल्ब भएको प्रविधिको प्रयोग गरिएको छ । यसले ८० एचपीसम्मको क्यापासिटी प्रदान गर्नेछ । कम्पनीका अनुसार नेपाली बजारमा चार एचपीदेखि ८० एचपीसम्म क्षमता भएका एसी उपलब्ध छन् ।