नेपाल लाइफको २६.३१ प्रतिशत बोनस
काठमाडौं : नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २६.३१ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बसेको कम्पनीको सत्रौं वार्षिक साधारणसभाले थप साधारण सेयर निष्कासन (एफपीओ) मार्फत कायम भएका सेयरधनीलाईसमेत गरी चुक्ता पुँजीको २६.३१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी तीन अर्ब नौ करोड ६४ लाख २८ हजार पुग्ने कम्पनीले जनाएको छ । अध्यक्ष रमेश गुप्ताको अध्यक्षतामा बसेको साधारणसभामा उनले समीक्षा वर्षमा कम्पनीले कुल बिमा शुल्क आम्दानीको करिब ३३ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको बताए । साथै उनले कम्पनीले जारी गरेको थप साधारण सेयर निष्कासनमार्फत सर्वसाधारण सेयरधनीको हिस्सामा वृद्धि भएकाले सर्वसाधारण सेयरधनीको जिम्मेवारी अझ व्यापक एवं फराकिलो बनेको बताए ।
सभाले आव २०७२÷०७३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरण एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत गरेको छ । यसैगरी, संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वका लागि रमेश गुप्ता, हरिश्चन्द्र सुवेदी, विवेक अग्रवाल एवं प्रकाश बिक्रम खत्री निर्विरोध निर्वाचित भएका छन् ।