भत्किएको बक्राहा बाँध निर्माण सुरु

भत्किएको बक्राहा बाँध निर्माण सुरु

विराटनगर : बर्खामा बाढीले भत्काएको बक्राहा नदीमा तटबन्ध निर्माणको काम सुरु भएको छ । जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरले तटबन्ध निर्माण तथा मर्मतका लागि ठेक्का लगाएर काम अघि बढाएको हो । बक्राहा नदीमा गत असार र साउनमा आएको बाढीले १७ स्थानमा बाँध भत्काई क्षति पुर्याएको थियो । बाढी बस्ती र खेतीयोग्य जमिनतिर पस्दा ठूलो नोक्सानी भएको थियो ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगरका प्रमुख देवनारायण साहले भने, 'क्षति पुगेका ठाउँको मर्मत र बाँध निर्माणका लागि ठेक्का प्रक्रिया तथा उपभोक्ताबाट काम सुरु गरिएको छ ।' उनले स्पर निर्माणदेखि बाँध मर्मतसम्मका काम गरिने जानकारी दिए ।

जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले मोरङको मधुमल्लामा दुई, गोविन्दपुरमा दुई र बरडंगामा एक स्थानमा टेन्डरमार्फत र बाँकी स्थानमा उपभोक्ताबाट काम अघि बढाएको छ । २२ वर्षअघि निर्माण भएको बक्राहा बाँधलाई नयाँ ढंगले पुनर्निर्माण नगर्ने हो भने एकातिर बनायो अर्कोतिर भत्कने समस्या दाहोरिरहने जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

साउन ७ गते हसन्दहबाट बक्राहा गाउँतर्फ पस्दा बाढीले डायनियामा हुलाकी मार्ग बगाएको थियो । चार हजार हेक्टर जमिन बगरमा परिणत भएको थियो । हसन्दहका हर्कबहादुर खड्का भन्छन्, 'स्थायी तटबन्ध बनाउन ध्यान नदिने हो भने बक्राहाको विनाश हरेक वर्ष खप्नु पर्ने छ । हाम्रो त बिल्लीबाठ नै लाग्न आँट्यो ।'

क्षति पुगेका ठाउँको मर्मत र बाँध निर्माणका लागि ठेक्का प्रक्रिया तथा उपभोक्ताबाट काम सुरु गरिएको छ । स्पर निर्माणदेखि बाँध मर्मतसम्मका काम गरिने छ । -देवनारायण साह, प्रमुख, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय विराटनगर

स्थायी तटबन्ध निर्माणका लागि चार अर्बको डीपीआर र साढे तीन अर्ब रुपैयाँको बहुवर्षीय ठेक्काको कामका लागि पनि प्रक्रिया अगाडि बढाइएकोमा स्थानीय चुनावको मिति घोषणा भएसँगै आचारसंहिता लागू भएकाले काम अघि बढ्न नसकेको हो । बरडंगा २ का किसनलाल ठाकुरले हरेक वर्ष बाढीले बिघाका बिघा खेत कटान गर्दै आएकाले अब स्थायी बाँध बाँध्नुपर्ने माग गरे ।

जल उत्पन्नले दिगो तटबन्धका लागि दुई महिनाअघि डीपीआर तयार गरेको थियो । प्रमुख साहले भने, 'दुई दशकअघि बनेको बाँध अब धेरै टिक्दैन । नयाँ संरचना नबनाए हरेक वर्ष मर्मत गरेर बस्ती र खेतीयोग्य जमिन बचाउन सक्ने अवस्था छैन ।' सरकारले बाँध मर्मतका लागि प्रारम्भमा १५ करोड रुपैयाँ बजेट दिएको छ ।

बक्राहा खोलामा आउने बाढी र यसको कटानबाट उत्तरी मोरङको चुलीदेखि दक्षिणको तल्लो फेदीसम्मका १० वटा गाविस प्रभावित हुँदै आएका छन् । योपटक ठेक्काको क्रममा सरकारले धरौटी रकम बढाएकाले ठेकदारलाई उक्त रकम जम्मा गराउन भने समस्या भएको बताइएको छ ।



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.