छाउपडीविरुद्ध एकजुट हुँदै महिला
जुम्लाः गाई गोठमा कठ्यांग्रिने चिसो रात डराउँदै काटेको याद तातोपानी गाउँपालिका-८ की विष्णु खड्कालाई ताजै छ । छाउ (महिनावारी) भएका बेला घरमा बस्दा देउता रिसाउने डरका साथै सामाजिक कुसंस्कारका कारण पशुसरह गोठमा अत्यासलाग्दो रात काट्नुको पीडा अहिले विष्णु सम्झन चाहन्नन्।
महिनावारी भएका बेला घरको जगसमेत छुन नहुने गतल मान्यताका कारण घरबाट टाढाको गोठमा असुरक्षित रूपमा वास बस्नुपर्ने बाध्यता रहेको विष्णुको अनुभव छ । तर, पछिल्लो समयमा भएका विभिन्न परिवर्तन र अभियानका कारण अहिले छाउ भएका महिलाले भाग्नुपर्ने पीडा केही कम हुँदै आएको छ । जनचेतना र छाउपडी प्रथा अन्त्यका लागि चालिएका विभिन्न अभियानका कारण जुम्लाका महिलाले गोठमा बस्नुपर्ने बाध्यता केही कम हुँदै गएको विष्णु खड्काले बताइन् ।
घरमा सासू-ससुराको भयका साथै समाजले केही भन्ने हो कि भन्ने डर मनमा राखेर गोठमा बस्ने खड्का अहिले छाउ भएका बेला घरमै बस्छिन्। ‘देउता रिसाउँछन् भन्ने डरले सधँै सताइरह्यो । हामी पशु राख्ने गोठमा असुरक्षित बस्न बाध्य थियौं,' उनले भनिन्, ‘छाउ महिला गर्भवती हुन आवश्यक प्रक्रिया रहेछ । यस्तो समयमा सरसफाइमा ध्यान दिन छाडेर नबुझेका कारण गोठमा बस्यौं । अब घरमै बस्ने गरेका छौं ।'
तातोपानीकै अर्की महिला देवीकन्या आचार्यको अनुभव झन् कष्टकर छ । काखमा ६ महिनाको बच्चा लिएर गोठमा बस्दा गोरुले राति कुल्चने डरले सातासम्म जाग्राम रहेको देवीकन्याले सुनाइन् । ‘घर जाँदा देउता लाग्छ भन्थ्ये,' उनले भनिन्, ‘दूध खाने बच्चा अरूलाई दिने कुरा भएन, जोखिम मोलेरै भए पनि गोठमा सुताउनुपर्यो ।' आफूले कष्टकर रात काटेकाले अहिले आचार्य छाउपडी प्रथाले निम्त्याउने जोखिमबारे जनचेतना फैलाउँदै हिँड्ने गरेकी छन् ।
जुम्लाको पहिलो छाउपडीमुक्त हेयाखोलाका महिला अहिले छाउपडी न्यूनीकरणका लागि समूहमा जुटेका छन् । महिलामाथि हुने हिंसाका साथै छाउ भएका बेला हुने स्वास्थ्य अवस्थाबारे समेत सचेतना फैलाउँदै हिँड्ने गरेको आचार्यको भनाइ छ । अहिले हेयाखोलाका महिला घरमा बस्ने गरेका छन् । आत्मसम्मानका लागि सहकार्य (क्याड) ले सुरु गरेको छाउपडी न्यूनीकरण अभियानमा लागेका महिलाले छाउ भएका बेला घरमा बस्ने मात्रै नभई पोषणको अवस्थाबारे समेत प्रचारप्रसार गर्दै हिँडेका छन् ।
महिलाको सक्रियताका कारण गाउँलाई छाउपडीमुक्त बनाउन सकिएको स्थानीय गुरुप्रसाद चौलागाईंले बताए । महिलालाई छाउपडीको विषयमा जानकारी गराएपछि उनीहरू आफैं सक्रिय रूपमा न्यूनीकरणका लागि जागरुक भएको चौलागार्इंको भनाइ छ । विषेश गरी सुदूरपश्चिममा ठूलो समस्याका रूपमा जरा गाडेको छाउपडी कुप्रथाबाट कर्णालीका महिला पनि पीडित बन्दै आएका छन् ।
कर्णालीमा मान्ने मस्टो देवताले छाउ भएको बेला घरमा आउँदा रिसाउँछन् र अनिष्ट हुन्छ भन्ने डरका कारण अधिकांश महिला गोठ अथवा छाउ भएका बेला बस्नलाई तयार पारिएको छाउ गोठमा बस्न बाध्य छन् ।
उक्त क्षेत्रका महिला छाउपडी भएका बेला निम्तिने जोखिम र पोषणको अवस्था अन्य महिला हिंसाबारे विद्यालयस्तरसम्म चेतना फैलाउन पुग्ने गरेको दुर्गा मावि लाम्राका शिक्षक लालप्रसाद चौलागाईंले बताए । कुनै पनि कुप्रथा अन्त्यका लागि चेतना जागृत गराउन आवश्यक रहेकाले महिलाले अहिले जनचेतानामूलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ ।
यस्तै, आफ्नी आमा छाउ भएका बेला गोठमा बसेर महिलाले गोठमा बस्नुपर्ने मानसिकताबाट प्रताडित किशोरी विमला हमालले अहिले उक्त अभियानकै कारण आफू घरमा बस्न पाएको बताइन् । ‘आमा छाउ हुँदा साथी बस्न जानुपथ्र्यो, त्यसबेला महिलाले छाउ भएपछि पशुसरह किन बस्नुपर्छ भन्ने कुराले सधैैं पिरोल्थ्यो,' उनले भनिन्, ‘यस अभियानमा लागेपछि सबै कुरा थाहा पाएँ, घरमा सबैलाई सम्झाउन पनि सफल भएँ । अहिले छाउ भएपछि घरमै बस्छु ।' उनले जिल्लाका सबै क्षेत्रमा यस्ता अभियान सक्रियतासाथ सञ्चालन गर्नुपर्ने बताइन् ।