कश्मीरमा भिडन्तमा ४ को मृत्यु, ६३ सुरक्षाकर्मी घाइते
श्रीनगरः भारत प्रशासित जम्मु कश्मीरको बडगाम जिल्लामा मंगलवार विद्रोही र सुरक्षाकर्मीबीच भएको भिडन्तमा चारजना विद्रोही मारिएका छन् भने ६३ जना सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीले दिएको जानकारीअनुसार एकजना विद्रोही घटनास्थलमै मारिएका छन् भने सुरक्षाबलमाथि ढुंगा प्रहार गरिरहेका ३ जनाको पनि सुरक्षाकर्मीको गोलीबाट मृत्यु भएको छ ।
विद्रोहीको आक्रमणबाट सिआरपिएफ र प्रहरीका जवानसहित ७२ जना घाइते भएका हुन् । घण्टौंसम्म उक्त भिडन्त भएको थियो । विद्रोहीतर्फ १९ जना भाइते भएका छन् । राष्ट्रिय राइफल्सका एकजवान विद्रोहीको गोलीबाट गम्भीर घाइते भएका छन् । बडगामको चदुरा इलाकामा २ जना आतंककारी लुकेको जानकारी पाएलगत्तै भारतीय सुरक्षाबलले मंगलबार बिहानै सर्च अपरेसन सुरु गरेको थियो ।
सुरक्षाबलले विद्रोही लुकेको ठाउँमा छापा मारेपछि त्यहाँका स्थानीयले उनीहरूलाई बचाउन सुरक्षाकर्मीमाथि आक्रमण सुरु गरेको प्रहरीको भनाइ छ । भिडन्तका बारेमा जानकारी दिँदै सिआरपिएफका डिआइजी सञ्जय कुमारले स्थिति निकै तनावपूर्ण रहेकाले अत्यधिक बल प्रयोग गर्नुपरेको बताए । घटनास्थलबाट विद्रोहीको हतियार बरामद भएको र प्रदर्शनकारीलाई धपाउन पेलेट गन र अ श्रुग्याँस प्रहार गरेको उनले जानकारी दिए ।