‘पत्रकारितालाई राष्ट्रियताको मिसन बनाउन जरुरी’
काठमाडौँ : नेपाली मिडियाको मिसन स्पष्ट नभएको भन्दै राष्ट्रियतालाई पहिलो मिसन बनाउनु आवश्यक भएको पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहालले बताएका छन्।
नेपाल पत्रकार महासंघको ६२ औ स्थापना दिवसको अवसरमा बोल्दै दाहालले पत्रकारिताको विश्वासनियतालाई संस्थागत गरी दण्डहिनतालाई अन्त्य गर्न राष्ट्रियता मिसन बनाउनु पर्ने बताएका हुन्।
सरकार र मिडियाको दूरी बढ्दै जानु, लोकतन्त्रमा प्रेसप्रति सकारात्मक दृष्टीकोण राज्यले नलिदा मिडिया संस्थागत हुन समस्या भएको महासंघका अध्यक्ष महेन्द्र विष्टको भनाइ छ ।
अध्यक्ष विष्टले नेपाली श्रमजीवी पत्रकारको छातासंगठन नेपाल पत्रकार महासंघको स्थापना दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको अधिकार निम्ती संघर्ष जारी राख्नु पर्ने सहित शुभकामना दिए ।
नेपाल पत्रकार महासंघको स्थापना २००८ साल जेठमा सत्य नारायणबहादुर श्रेष्ठ सभापति र भोजबहादुर सिंह न्यौपाने (सेक्रेटरी) रहेको नेपाल पत्रकार संघ स्थापना गरिए पनि २०१२ चैत १६ गते आयोजित भेलाले कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघलाई संस्थागत गरेको थियो ।
यसैलाई पत्रकार महासंघले स्थापना दिवसको रुपमा मनाउदै आएको छ। कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बाँस्कोटा, आयुक्त यशोदा तिमल्सिना, संवैधानिक अदालतका संयोजक काशीराज दाहालले समेत स्थापना दिवसकाे अवसरमा शुभकामना दिए।
१२ हजार सदस्य रहेको महासंघका ७५ जिल्लामौ शाखा स्थापना भएका छन् भने १० एसोसिएटस् र ४२ प्रतिष्ठान गरी एक सय २७ शाखा विस्तार भइसकेका छन्।