पुनर्निर्माणमा ढिलासुस्ती : उपराष्ट्रपतिको असन्तुष्टि
धादिङ : भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुननिर्माणका काममा गरिरहेको ढिलाइप्रति उपराष्ट्रप्रति नन्दबहादुर पुनले असन्तुष्टी व्यक्त गरेका छन्। भूकम्प गएको दुई वर्ष भइसक्दा पनि घरगोठ नै गुमाएका भूकम्प पिडितले अहिलेसम्म घर बनाउन नपाएको बताउदै पुनर्निर्माणको काम प्रभावकारी ढङ्गबाट संचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
धादिङको ज्वालामुखी गाउँपालिकाको ढोलामा निर्माण गरिएको एकीकृत बस्तीको उद्घाटन गर्न धादिङ आएका उपराष्ट्रप्रति पुनले स्थानीयको घर र राष्ट्रिय सम्पदा छिटो भन्दा छिटो पुननिर्माण गरिसक्नुपर्नेमा जोड दिए।
‘पुनर्निर्माणमा खटिएका संघसस्था र पुनर्निर्माण प्राधिकरणले पुरानो कार्यशैली त्यागेर नयाँ ढंगबाट अघि बढ्नुपर्छ’, पुनले भने, ‘पुनर्निर्माणमा देखिएका जटिलता सरल बनाएर वैज्ञानिक ढंगबाट जतिसक्दो छिटो कामअघि बढाउनु पर्छ।’
धादिङको ढोलामा लापा स्वास्थ्य सेवा बिन्दुको पहलमा विभिन्न दातृ निकायबाट निर्माण गरिएको ५५ वटा घरको लालपुर्जा र घरको साँचो हस्तान्तरण गर्दै उनले भने, ‘धादिङको ढोलामा जस्तै सरकार र एनजिओ दुबै मिलेर पुननिर्माणका काम अघि बढाए भुकम्पपीडितले चाँडै कष्टपूर्ण जीवनबाट मुक्ति पाउँछन्।’
ढोलामा निर्माण गरिएको एकीकृत बस्तीमा उत्तरी धादिङको रुविभ्याली गाउँपालिका अन्तरगत लापाको कपुरगाउँबाट भूकम्पपछि विस्थापित ५५ घरधुरीले लालपुर्जासहित घर पाएका छन्। उक्त एकीकृत बस्ती निर्माणमा विभिन्न दातृ निकाय र बौद्ध गुम्वाको सहयोग गरेका थिए। २० करोडभन्दा बढीको लागतमा निर्माण सम्पन्न भएको उक्त बस्ती निर्माण गर्नको लागि विस्थापितहरुले नै २२ महिनासम्म नगद ५ करोड बराबरको श्रमदान गरेका थिए।
एकीकृत बस्तीको उद्घाटन गर्नको लागि मंगलबार नै आएर धादिङको घाटवेशीमा रहेको रिसोर्टमा बसेका उपराष्ट्रपति पुन बुधबार बिहान लगातार परेको पानीको कारण ढोलामा जान नसकेपछि रिसोर्टमै कार्यक्रम गरी लालपुर्जा हस्तान्तरण गरे।
लालपुर्जा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नमूना वस्ती निर्माणमा सहयोग गर्ने नेपाली तथा विदेशी सबैलाई धन्यवाद दिए। ‘यो सहयोग एउटा गाउँको लागि मात्रै होइन नेपाल सरकारलाई समेत यसले ठूलो सहयोग पुर्याएको छ,’ पुनले भने।
यी हुन् लालपूजा पाउने विस्थापित