गाउँघरमा चुनावी चटारो
रुकुमः केही दिनअघि रुकुम चौरजहारीनजिकैको खैचेल्नेटाका स्थानीय गाउँकै चिया पसलमा भेला भएका थिए । कोही खेतबारी जान लागेका, कोही कुलोपानी हेर्न हिँडेको उनीहरू फरुवा, कोदाली बिसाएर गफिइरहेका थिए । ‘नेताले चुनाव गराउन् जस्तो छैन, अब भोट माग्न आए भने लखेट्नुपर्ने हो कि ? ', गाउँका गोपीराज बुढाले कुरा निकाले, ‘हेर साथी हो, नेताले चुनाव नगराए अब गाविस-वडा आफैं हातमा लिनुपर्छ ।'
मधेसी दलको असन्तुष्टिका कारण चुनाव नहुने हो कि भन्ने राजनीतिक शंका छँदैछ । तर वैशाख ३१ घोषणा गरिएको स्थानीय तहको चनुवका लागि भने गाउँगाउँमा भने जनलहर बाक्लिन थालेको छ । त्यसमा पनि अझै पहाडी जिल्लाका गाउँगाउँमा मानिस भेला भएर चुनावी गफमा भुल्न थालेका छन् ।
मानिस आजभोलि जहाँ गए पनि चुनावी गफमै व्यस्त देखिन्छन् । उनीहरूको एउटै भनाइ छ, ‘अब हाम्रो गाउँको विकास हामी गाउँघरकै नेताले गर्नुपर्छ ।' चियापसल, चोक अनि कुनै कामका लागि जुटेका स्थानीयलगायत सबैले फुर्सद पायो कि निर्वाचनकै गफ थालिहाल्छन्, ‘फलानो पार्टीबाट टिकट कसले पाउला ? फलानाले जित्ला कि नजित्ला ? नेताले चुनाव गराउलान् कि नगराउलान् ? ' त्यही गफमा भुलेर दुई-दुईपटक चिया खाइसकेपछि हतारहतार फरुवा बोकेर उठ्नै लाग्दा अर्का स्थानीयले भने, ‘भोट जसरी पनि हाल्नैपर्छ । यसपालि नेताले नगराए के भो, हामी आफैंले भए पनि चुनाव गर्नैपर्छ ।'
यतिबेला सर्वसाधारणमात्रै होइन, साना-ठूला सबै राजनीतिक दल स्थानीय तहमा सक्रिय हुन थालेका छन् । बैठक, सभासमारोह वा कुनै पनि कार्यक्रम किन नहोस्, दलहरू अब भोट माग्ने योजना सुनाउँदै छन् । त्यसको दुई दिनपछि रुकुमकै रुकुमकोट पुग्दा त्यहाँ माओवादी केन्द्रले गाउँपालिका कमिटीको कार्यालय उद्घाटन गर्दै थियो । त्यसका लागि माओवादीले गाउँगाउँबाट कार्यकर्ता ल्याएर बजार एवं वरपरका गाउँमा समेत ठूलो जुलुस देखायो । जुलुसमा सहभागीले नारा लगाए, ‘वैशाख ३१ को निर्वाचन सफल पारौं ।'
दबाबस्वरूप मोर्चा कार्यकर्ताले दिनहुँजसो जिल्ला तहमा खबरदारी कार्यक्रम एवं जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै आएका छन् । तर ग्रामीण क्षेत्रका मधेसी युवालाई भने आन्दोलनले कुनै फरक पारेको छैन् ।
रुकुमकोटमै भेटिएका स्थानीय तारक शाहले भने, ‘जनता चुनाव चाहेका छन्, खै नेताले भने कुरा बुझ्दैनन् ।' दुई दसकभन्दा लामो समय आफ्ना प्रतिनिधि छान्न नपाएका स्थानीय निर्वाचन घोषणाले अहिले उत्साहित छन् । धेरैजसो प्रमुख पार्टीले पनि आफ्ना स्थानीय समितिलाई चुनावमा जुट्न निर्देशन दिइसकेका छन् । त्यसैले पनि यतिबेला स्थानीय तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँ शक्तिलगायत पार्टी चुनावी चटारोमा छन् ।
पार्टीको तल्लो इकाइदेखि जिल्ला तहसम्मका नेता यतिबेला आफ्ना सबै संघसंगठन सक्रिय बनाउनेतर्फ लागेका छन् । कार्यकर्ता भेला, प्रशिक्षण एवं संगठन विस्तारीकरणका काममा यतिबेला नेतालाई भ्याइनभ्याइ छ । ‘अब सबै राजनीतिक दल मिले भने चुनाव हुन्छ', शाहले भने ।
चुनाव हुनेमा ढुक्क
परासीः नवलपरासीका पाल्हीनन्दन गाउँपालिका-२ हरपुरका जयकरण हरिजन स्थानीय निकायको चुनाव हुनेमा विश्वास छन् । त्यसैले उनले सीमावर्ती गाउँबाट जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन बुधबार फाराम भरे । ‘चुनाव हुने भएकाले नै सरकारले सुरक्षाका लागि म्यादी प्रहरी भर्ना खुलाएको हो । त्यसैले चुनाव हुने विश्वासका साथ गाउँबाट धेरै युवा भर्नाका लागि आएका छौं', उनले भने । सीमांकनसहित संविधान संशोधन नभएसम्म चुनाव गराउन नदिने चेतावनीसहित मधेसी मोर्चाले मधेसमा आन्दोलन सुरु गरेको छ ।
दबाबस्वरूप मोर्चा कार्यकर्ताले दैनिकजसो जिल्ला तहमा खबरदारी कार्यक्रम एवं जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै आएका छन् । तर ग्रामीण क्षेत्रका मधेसी युवालाई भने आन्दोलनले कुनै फरक पारेको छैन । अहिलेसम्मको सरकारी तयारीले चुनाव हुनेमा विश्वास बढ्दै गएको कावासोती नगरपालिका कुमारवर्ती गाउँबाट म्यादी प्रहरी फाराम भर्न आएका हेमनारायण थनेतले बताए । संविधानसभा निर्वाचनमा मात्र भोट हालेको र स्थानीय चुनावबाट जनप्रतिनिधि चुनिएपछि उनीहरूले गने काम हेर्न मन लागेको उनको भनाइ छ ।
नवलपरासीका नवलपुर क्षेत्र प्रदेश नं ४ र परासी क्षेत्र प्रदेश नं ५ मा पर्छन् । दुवै प्रदेशका गाउँगाउँबाट आउने युवामध्ये म्यादी प्रहरीका लागि फाराम भर्नेमा मधेसी युवा बढी छन् । त्यसमा पनि सीमावर्ती गाउँका युवाको संख्या ठूलो छ । म्यादी फाराम भर्न आएका बर्दघाट नगरपालिका पञ्चनगरका वसन्त चौधरी पनि गाउँमा विभिन्न दलले चुनावी कार्यक्रमलाई तीव्रता दिएकाले चुनाव हुनेमा आफू ढुक्क रहेको बताउँछन् ।
‘चोकचोकमा उम्मेदवारबारे चर्चा हुने गरेका छन् । विभिन्न राजनीतिक दलले आफ्नो पार्टीमा कार्यकर्ता ल्याउन पार्टी प्रवेशका कार्यक्रम पनि नियमित राख्ने गरेका छन्', उनले भने, ‘केहीले भोटसमेत माग्नु सुरु गरिसकेकाले गाउँमा चुनावी माहोल सृजना भएको छ ।' चौधरीसँगै फाराम बुझाउँदै गरेका प्रतापपुर गाउँपालिकाका भोजबहादुर गुप्ताले सरकारले चुनाव गराउन थालेको तयारीले विश्वस्त हुने आधार बनाएको बताए । तर मोर्चाको आन्दोलनले भने केही शंका उत्पन्न गराएको उनको भनाइ छ ।