म्यादी प्रहरीमा महिला उत्साही
सुर्खेतः दिउँसो १२ बजेको चर्को गर्मी । हातमा कागजपत्र समातेर उनी भीड छिचोल्दै थिइन् । पुरुषको भीड छिचोलेर अगाडि बढ्दै गर्दा उनको शरीर पसिनाले भिजिसकेको थियो । लामो प्रयासपछि उनले आफ्नो आवेदन दर्ता गरिन् । भीडबाट बाहिर निस्कँदा उनको मुहारमा खुसी झल्किन्थ्यो । मानौं उनले कुनै ठूलो सफलता हात पारिन् ।
उनी हुन्, रामघाटबाट म्यादी प्रहरीका लागि आवेदन दिन जिल्ला प्रहरी कार्यालय सुर्खेत आएकी पवित्रा रोकाया । ‘म स्नातक तहमा अध्ययन गर्दैछु', उनले भनिन्, ‘बल्लतल्ल देशमा चुनाव हुँदै छ, चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न म्यादीमा भर्ना हुने निर्णय गरेर आएकी हुँ ।' अहिले पनि गाउँमा महिला कमजोर हुन्छन् भन्ने सोच रहेको र त्यसैलाई चिर्न आफूले म्यादीमा भर्ना भएर सुरक्षा आफ्नो उद्देश्य रहेको उनको भनाइ छ । ‘हामीलाई कमजोर भन्छन्, तर म्यादीमा छनोट भएर चुनावमा पुरुषसरह खट्नेछौं', उनले भनिन्, ‘महिला कमजोर छैनन्, जिम्मेवारी पाएपछि चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्न भरपर्दो सुरक्षा दिनेछौं ।'
सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । उक्त चुनावलाई लक्षित गर्दै सरकारले दुई महिनाका लागि म्यादी प्रहरीको भर्ना खोलेको हो । सुर्खेतमा म्यादी प्रहरीमा पुरुषसँगै महिलाको पनि आकर्षण बढेको छ । म्यादी बन्ने दौडमा ग्रामीण क्षेत्रबाट समेत महिलाहरू आवेदन दिन सदरमुकाम वीरेन्द्रनगर आएका छन् ।
आवेदन दिनेमा अधिकांश किशोरी छन् भने विवाहित तथा क्याम्पसमा पढ्दै गरेका महिलाले पनि सक्रिय सहभागिता जनाएका छन् । खाली समयको सदुपयोग हुने र यही प्रमाणका आधारमा भविष्यमा प्रहरीमा भर्ना हुँदा सहज हने भन्दै आवेदन दिनेको लर्को लागेको हो । आवेदन दिनेको संख्या बढेपछि प्रहरीलाई त्यसको व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको छ ।
‘महिलालाई घरको कामदार मात्र ठान्छन्, हामी पनि प्रहरी भएर सुरक्षा दिन सक्छौं', वीरेन्द्रनगरकी टीका सुनारले भनिन्, ‘पहिला छनोटमा पर्नुपर्यो, त्यसपछि चुनावलाई शान्तिपूर्ण बनाउन हामी डटेर लाग्छौं ।' बर्सौंपछि देशमा स्थानीय चुनाव हुन लागेको र घरमा यत्तिकै बसेर समय खेर फाल्नुभन्दा म्यादीमा भर्ना भएर सुरक्षा दिनु उपयुक्त ठानी आवेदन दिएको उनको भनाइ छ । ‘महिला लडाकू हुँदैनन्, चुनावमा झडप भयो भने के गर्छाै ? भनेर तर्साउँछन्', उनले थपिन्, ‘अवसर पाएपछि हामीले पनि गर्न सक्छौं, असम्भव केही छैन ।'
सुर्खेतमा बुधबारसम्म करिब दुई हजारले आवेदन दिएका छन् । यो संख्या तीन हजारसम्म पुग्ने प्रहरीको अनुमान छ ।
उनीसँगै उनका अन्य साथीले पनि आवेदन दिएका छन् । बेरोजगारीका कारण पनि म्यादीमा आवेदन दिनेको भीड लागेको हो । अधिकांश युवायुवतीले रोजगारी नहुँदा आफूहरू दुई महिनाका लागि भए पनि खर्च जोहो गर्न आवेदन दिएको प्रतिक्रिया दिएका छन् । सुर्खेतमा बुधबारसम्म करिब दुई हजारले आवेदन दिएका छन् । यो संख्या तीन हजारसम्म पुग्ने प्रहरीको अनुमान छ । त्यसमा महिलाको संख्या उत्साहजनक छ । महिलाले उत्साहका साथ आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीले बताए । बुधबारसम्म तीन सय महिलाले आवेदन दिएको उनको भनाइ छ । अन्तिम दिनसम्म उक्त संख्या पनि बढ्ने उनले बताए ।
म्यादी प्रहरीका लागि पुरुषसँगै महिलाको पनि दौडधुप देखेर सुरक्षाकर्मीसमेत दंग छन् । जागिर चुनावका लागि मात्र लक्षित भएको र अप्रिय घटना हुँदा ज्यान नै असुरक्षित हुन सक्ने अवस्थामा पनि महिलाको आकर्षण र अठोटले आफूमा थप उत्साह थपिएको आवेदन संकलनमा जुटेका सुरक्षाकर्मी बताउँछन् ।
म्यादीमा स्नातकोत्तरसम्म
तानसेनः स्थानीय निर्वाचन नजिकिँदै जाँदा सदरमुकाम तानसेनमा म्यादी प्रहरीको आवेदन दिनेको संख्या बढ्दै गएको छ । म्यादी प्रहरीमा भर्ना हुनेले नेपाल प्रहरीको जवानसरह सेवासुविधा पाउने भएपछि युवायुवतीदेखि पाको उमेरका महिला–पुरुषको समेत आकर्षण देखिएको छ । म्यादीका लागि स्नातकोत्तर तह अध्ययनरतले पनि आवेदन दिएका छन् । पाल्पामा हालसम्म आठ सय व्यक्तिले म्यादीका लागि आवेदन दिएका छन् । त्यसमा ७० प्रतिशत पुरुष ३० प्रतिशत महिला छन् ।