ऐतिहासिक पुस्तक प्रदर्शनीमा
काठमाडौः नेपाली ‘नवीनतम कला'को दुई सय वर्ष पुरानो इतिहास बोकेको पुस्तक पहिलोपटक नेपाल भित्रिएको छ । बेलायतको संग्रहालयमा राखिएको पुस्तकलाई ‘काठमाडौं ट्रिनाले'को विशेष आकर्षणका रूपमा नेपाल ल्याइएको हो ।
नेपाली कलामा नवीनतम प्रवृत्ति भित्र्याउने कलाकार राजमान सिंहले बनाएको चराको चित्र पुस्तकमा देखिन्छ । नेपालका चरासम्बन्धी हातैले लेखेर बनाएको यो पहिलो पुस्तक हो । सन् १८१६ देखि १८२९ सम्म बेलायतबाट स्थायी आवासीय प्रतिनिधिका रूपमा नेपाल आएका इडवार्ड गार्डनरको सहयोगी ब्रायन एचएच हडसनको पहलमा यो पुस्तक तयार भएको थियो । नेपाली वन्यजन्तु र चराको विषयमा अध्ययन गरेका हड्सनसँग कलाकार सिंहले काम गर्ने मौका पाए । हड्सन सन् १८२० मा नेपाल आएका थिए । यही समयमा यो पुस्तक तयार भएको थियो ।
सिद्धार्थ आर्ट फाउन्डेसन र म्युजियम अफ कन्टेम्पोररी आर्ट गेन्टले आयोजना गरेको ट्रिनालेअन्तर्गत सिद्धार्थ आर्ट ग्यालरीमा कडा सुरक्षाका बीच पुस्तक प्रदर्शन भइरहेको छ । पुस्तकलाई सिसाको बाक्साभित्र निश्चित तापक्रममा राखिएको छ । पुस्तक व्यवस्थापन नै प्रदर्शनीको महँगो पाटो बनेको छ । प्रदर्शनी अवधिभर मात्र नेपालमा राख्ने अनुमति लिन पनि निकै मेहनत गर्नु परेको फाउन्डेसनकी निर्देशक संगीता थापाले बताइन् । नेपाली चराको चित्र र त्यसको बारेमा लेखिएको पंक्ति पुस्तकमा देख्न सकिन्छ ।
हडसनको संगतबाट राजमानले नेपाली कलामा नयाँ शैली भित्र्याएका थिए । त्यति बेला काठमाडौंमा चलेको परम्परागत तथा संस्कारजन्य कलाशैलीमा यो समयले नयाँ प्रयोग भित्र्याएको थियो । धार्मिक र परम्परागत शैलीमा मात्र काम गर्ने नेपाली कलाकारमाझ राजमानले नौलो अभ्यास सुरु गरेका थिए । नौलो शैलीमा पनि उनको कला निकै सुन्दर देखिएको कला समीक्षक रमेश खनालले बताए । सुन्दर चराका चित्रमा उनको कार्यकौशल झल्किन्छ । प्रदर्शनीको भोलिपल्ट विज्ञहरूको टोलीसहित पुस्तकका हरेक पाना अवलोकन गराइने जानकारी आयोजकले दिएको छ । राजमानका चित्रहरू रोयल एसाइटिक सोसाइटी लन्डन, फ्रान्सको म्युजी डी गुइमे, ब्रिटिस लाइब्रेरीलगायतका स्थानमा छन् ।
१७ दिने ट्रिनालेले पूरै काठमाडौं कलामय बनाएको छ । पाटन संग्रहालय, पुलचोकस्थित पार्क ग्यालरी, आर्ट काउन्सिल, तारागाउँ म्युजियम, टंगाल लगायतका स्थानमा विश्वभरका कलाकारका सुन्दर कला छरिएका छन् ।