दुई सिपालु नेपाली आत्मा
करिब सात दसकको उमेरमा गाउँ, देश र विदेशका दुःखसुख भोग गर्न पाउने भाग्यमानी नेपाली आत्मामध्ये पंक्तिकार पनि एक हो । आफू र परिवारलाई समेत दुःखसुख चाहेजसरी पुगे पनि हाम्रो प्यारो देश थलिएको र संसारभर डुल्दा नेपाली हरियो पासपोर्टलाई विदेशीले अपमान गरेको पीडाले पिरोलिरहन्छ । केही गर्नैपर्छ भनी खोजिहिँड्दा नेपालका धेरै आत्मासँग भेट्न र चिन्न पाइयो । भेटेका नेपाली आत्मामध्ये आफ्नो मनले अलिबढी ठीक फेला परेका छन्- डा.बाबुराम भट्टराई र रामेश्वर खनाल ।
यी दुईमध्ये डा. बाबुराम भट्टराईका गुण र अवगुण यस्ता छन् । बाबुरामजीको सर्व श्रेष्ठ गुण हो– शिक्षामा श्रेष्ठता हासिल गरेको विलक्षण प्रतिभाले साह्रै फोहोरी, अप्ठ्यारो, बाँगोटिंगो काम राजनीति गर्ने अठोट । आधुनिक समाजमा राजनीति र जीवन भनेको औंलाको नङ–मासुजस्तै हो । राजनीतिरूपी नङले ठीकसँग काम गरेन भने जीवनरूपी मासुले दुःख पाउँछ ।
राजनीति भनेको तरबार, दरबार र बन्दुक चलाउने, जन्मै राजा र षड्यन्त्र, जालझेल, निषेध, दमन, भ्रष्टाचार, डनगिरी, दादागिरीदेखि चाकडी गर्ने मानिस मात्रले गर्ने हो भन्ने मान्यता गलत रहेछ । कर्म गर्नेले, कलम र प्रविधि चलाउन जान्ने, इमानदारले गर्ने रहेछ राजनीति । यस्तैले नेतृत्व दिनुपर्ने रहेछ । यही महत्वव बुझेर बाबुरामजीले राजनीतिमा लागेर केही गरी सबैलाई प्रेरित गरेका हुन् जस्तो लाग्छ । यस्तो जटिल र फोहोरी काम गर्न सानो साहसले पुग्दैन । नेपालका शिक्षित र जान्नेहरूले यसरी जोखिम उठाएको कमै देखिन्छ।
बाबुरामजीको दोस्रो असल गुण हो, तीनखाले उच्च प्रविधि शिक्षा जसलाई पंक्तिकार ‘थ्री इन वान क्वालिफिकेसन' भन्न रुचाउँछ । बाबुरामजीले एसएलसी र आईएस्सीमा बोर्डफस्ट भएपछि पहिलो डिग्री आर्किटेक्चर लिए, जसले मानिस बस्ने भौतिक संसारको सुन्दर नक्सा बनाउँछ । दोस्रो डिग्री अर्बन प्लानिङ लिए जुन शिक्षाले सुन्दर र सभ्य सहर निर्माण गर्न सघाउँछ । तेस्रो डिग्री पीएचडी राजनीतिक अर्थशास्त्रमा गरे, जुन विषय देशलाई समृद्ध बनाउने नीति र विचारका लागि अति महत्ववपूर्ण मानिन्छ । देशको राजनीतिक नेतृत्व गर्न अति नै महत्ववपूर्ण यस्तो शिक्षा प्राप्त गर्ने नेपाली बिरलै हौंला ।
बाबुरामजीले माथिका सबै डिग्र्री संयोगवश भारतबाट गरेका हुन् । यसैले पनि उनलाई भारतवादी, भारतपरस्त, भारतीय एजेन्ट आदि अनेक आरोप लाग्ने गरेको सुनिन्छ । पंक्तिकारको ठहरमा बाबुरामजी भारतविज्ञ हुन्, शिक्षाको सम्बन्धले हेर्दा । राजनीतिक सम्बन्धको पाटोबाट हेर्दा उनी पूर्वमाओवादी अनि कम्युनिस्ट भएकाले चीनपरस्त नभई चीनविज्ञ हुन् । नेपालको राजनीतिक व्यवस्थापनको लागि भारत र चीनविज्ञ भएकै राम्रो हो ।
जन्मले विपन्न परिवार, गाउँ र भूगोलमा भएकाले बाबुरामजीले नेपाली समाजको यथार्थ धरातल आफैंले भोगेका छन् । नेतृत्वमा चाहिने महत्ववपूर्ण गुण यो पनि हो । अध्ययनले सबै कक्षा र तहमा सर्व श्रेष्ठ रहेछन् उनी । स्कुल, कलेज सबैमा पहिला । विलक्षण प्रतिभा र कठोर मेहनतबिना यस्तो सम्भव हुँदैन । विकास भनेको बुद्धि र मेहनतको खेल हो । राजनीतिक नेतृत्वमा हुने योभन्दा राम्रो गुण के हुन सक्छ ? पंक्तिकार भन्छ- बाबुरामजस्तो विलक्षण प्रतिभाको संयोगले नेपालमा जन्म भएको रहेछ ।
जन्म शिक्षापछि कर्मको कुरा आउँछ । बाबुरामको सबैभन्दा महत्ववपूर्ण कर्म सामन्ती राजतन्त्रको अन्त्य हो । हाम्रो नेपालको स्थापना पूर्वमहाराज पृथ्वीनारायण शाहबाट भयो । कुनै बेला यो शासन ठीकै थियो होला । आज पनि केही मुलुकमा राजतन्त्रले काम गरिरहेकै छ । तर नेपालको लामो इतिहास र संसारको राजनीतिक गतिशीलताको दृष्टिकोणबाट हेर्दा जन्मैले राजा हुने चलनले काम गर्दो रहेनछ भन्ने प्रमाणित भइसकेको छ । मैले पनि राजा वीरेन्द्रसँग पञ्चायतकालमा नजिकबाट काम गरें ।
व्यक्ति ठीक भए पनि प्रणाली खराब भएपछि विकासले गति लिन नसक्ने रहेछ । झन् व्यक्ति राजा नै खराब भए भने झन् ठूलो क्षति हुने रहेछ । त्यसैले शासन भनेको त जनताको, जनताले र जनताका लागि गरिने कालान्तरमा राम्रो हुने रहेछ । लोकतान्त्रिक प्रणालीमा पूर्वराजा र उनका परिवारदेखि सबैलाई उत्तिकै अवसर हुने रहेछ । पंक्तिकार पनि यसैमा विश्वास गर्छ । बाबुरामजीले नै नेतृत्व गरेको राजतन्त्रविरुद्धको आन्दोलन ठीक थियो, सबै नेपालीका लागि । यो काम धेरै जोखिमपूर्ण थियो । ज्यानको बाजी राखेर बोर्डफस्टजस्तो मान्छे राजतन्त्र हटाउन लागिदिँदा धेरै नेपालीलाई प्रेरित गरेरै गणतन्त्र सम्भव भएको हो ।
गणतन्त्र स्थापनापछि अन्योलपूर्ण रहेको शान्ति प्रक्रिया सहज बनाउने साहस पनि बाबुरामजीले गरे । अर्थमन्त्री हुँदा सरकारको ढुकुटी बलियो बनाउन राजस्व संकलन दोब्बर गर्ने कामको नेतृत्व बाबुरामजीले नै गरे । यहींबाट बाबुरामजीसँग रामेश्वर खनाल जोडिए ।
प्रधानमन्त्री हुँदा काठमाडौंलगायत सहरहरूको साँघुरो सडक फराकिलो बनाउने र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउन नपाउने नियम लागू गराउने हिम्मत गरेर जनतालाई राहत दिने काम गरे बाबुरामले । यहींबाट पूर्व एआईजी गणेशराज राई जोडिए । कुनै पनि सरकारले गर्न नसकेको काम गरेरै देखाए उनले । यसबाट देश र जनतालाई भएको धनको लाभ र कष्ट हरणको हिसाब गर्नै बाँकी छ । हिसाब खर्बौं हुनेछ, अमूल्य हुनेछ ।
नेपालको गणतान्त्रिक संविधान भलै अपुरो छ, त्यो संविधान बनाउने कामको नेतृत्व बाबुरामले लिएर अक्षरशः पढे, लेखे र सक्दो जनमुखी बनाए । बोल्ने, बोलेको लेख्न सक्ने र लेखेको गर्ने सबै गुण एक मानिसमा बिरलै हुन्छ । बाबुरामजीमा करिब यी तीनै गुण देखिन्छ । नेपालको राजनीतिक इतिहासमा सायदै कोही नेपाली नेतृत्वमा यति धेरै गुण छ ।
डा. भट्टराईसँग नजिकबाट संगत गरेको वर्ष दिनभन्दा बढी भयो । भोगाइ, उमेर, ज्ञान र धनले पंक्तिकार अलिक थेत्तर (घमण्डी होइन) भइसकेको मानिस हँु । राजा वीरेन्द्र, इराकी शासक सद्दाम हुसैन, तान्जानियाका माक्र्सवादी नेता जुलियस नैरेरे र नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला जस्ताहरूको शासन र राजनीतिमा पनि नजिक बसेर काम गरेकोले हतपत मानिसलाई पत्याउन छोडेको हुँ । भोट माग्ने काम पनि तीन दसक गरेकै हुँ । बाबुरामसँग लगातार संगत गरेपछि यिनको विकल्प मेरो आत्माले भेट्न सकिरहेको छैन ।
यिनी ब्रिलियन्ट (तीक्ष्ण) त छँदैछन्, लगातार १६ देखि १८ घन्टा खट्छन् । विज्ञान, प्रविधि, दर्शन, समाज, राजनीति, अर्थनीतिबारे आफूलाई अपडेट गरिरहन्छन् । ६२ वर्षको उमेरमा स्वास्थ्यस्थिति पनि राम्रो छ उनको । नेपाल समृद्ध हुन सक्छ र बनाउन जीउ छोड्नुपर्छ भन्न भावना देख्छु उनमा । यति धेरै ज्ञान, सीप, आँट, अठोट र धैर्य भएको नेपाली आत्मा यो धरतीबाट रूपान्तरण हुनुअघि नै भरपूर उपयोग गर्न पछि पर्नु हुँदैन । म बूढो गलत वा फरक हुन सक्छु, तर मेरो निक्र्योल यही हो ।
बाबुरामजीको कमजोरी पक्षको चर्चा गरौं । बाबुरामजी एक मानिस हुन् । उनका जति असल गुण छन्, कमजोरीहरू पनि त्यत्तिकै । अन्तर्मुखी पहिलो कमजोरी हो । मानिसहरूले बाबुरामलाई मन नपराउने कारण यही स्वभावको कारण रहेछ । धेरैको आलोचना र सुझावपछि बाबुरामले आफ्नो अन्तर्मुखी स्वभावलाई बहिर्मुखी र हंसमुखी बनाउँदै लगेका छन् ।
उनको राजनीतिक शिक्षा सत्ताबाहेक ‘अरू सबै भ्रम हो' बाट सुरु भएकाले अहिलेसम्म त्यसको धङधङी रहेको महसुस हुन्छ । तर अहिले गतिशील लोकतन्त्रको दर्शनलाई आत्मासात गर्नुले यो धङधङी सकिँदै गएको बुझिन्छ । यसको पुष्टि नयाँ शक्ति पार्टीको विधान र राजनीतिक दर्शन तथा तयार भएका विधि र संहिताहरू उनकै नेतृत्वमा बनेर लागू भएकाले स्पष्ट छ ।
बाबुरामजीको अनुहारको लोकप्रियता र क्षमतालाई बुझ्नेहरूमा उनलाई उपयोग गरेर आफू शक्तिशाली हुन चाहने लोभी स्वार्थीको भीड कम छैन । परिवार, नातेदार, नजिकका चाकरीदार राजा वीरेन्द्र, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाको जस्तै समस्याले बाबुरामजीलाई पनि छोडेको छैन । यस्तो समस्या न्यूनीकरण गर्न नयाँ शक्तिको विधानमा दलको सदस्यलाई सार्वभौम अधिकार दिइएको छ । नेताले टीका लगाएर नेतृत्व छान्न पाउँदैन । यसले नेतृत्वलाई स्वेच्छाचारी हुनबाट जोगाउनेछ ।
बाबुरामले गरेका कामको कमजोरी केलाउँदा पहिलोपटक आफैं प्रधानमन्त्री हुँदा संविधान बनाउन नसक्नु हो । जनयुद्धमा निर्दोष नागरिक पनि मारिएकै हुन् र दुःख पनि पाएकै हुन् । युगान्तकारी काममा क्षतिखती हुनु स्वाभाविक नै हो । हतियारधारीलाई हराउन हतियारको प्रयोग गर्दा लडाइँ हुने नै भयो, युद्धमा नोक्सानी पनि हुने भयो । आन्दोलनमा भएको खतीक्षति व्यक्तिगत बदनियत वा कमजोरीले भन्दा पनि धेरैजसो परिवेशजन्य घटनाले भएको वा हुन्छ ।
गुणदोषको सूची लामो छ, संसारमा कोही पनि मानिस अपरिहार्य छैन र हँुदैन । त्यसैले बाबुरामजी पनि अपरिहार्य होइनन्, महत्ववपूर्ण भने अवश्य हुन् । बाबुरामजीबारे आज यति नै । अद्भूत लागेको अर्को गजबको आत्मा हुन् रामेश्वर खनाल । उनीसँगको चिनारी एन्टेना फाउन्डेसन नेपालले ‘मेरो जिन्दगी मेरो विश्वास कार्यक्रम' मा नेपालभरका असल काम गर्ने २६ जनालाई छान्दा हामी दुई पनि थियौं । अर्थ सचिवबाट राजीनामा गरेपछि उनीजस्तो सिपालुले राजनीतिमै प्रवेश गर्नुपर्छ भन्ने कुरा गर्न जाँदा उनकै घरमा भेट भएको हो ।
त्यसबेला म एउटा साँच्चिकै प्रणालीमा चल्ने वैकल्पिक लोकतान्त्रिक दलको निर्माण वा खोजीमा थिएँ र यो अभियानमा खनालजस्तो सिपालु र चोखो मान्छेलाई संलग्न गराउन चाहन्थें । वैकल्पिक लोकतान्त्रिक दल नेपालमा चाहिन्छ भनेरै ०५६ सालमा कांगे्रस छोडेदेखि नै निर्माणमा लागिपरेको थिएँ । नयाँ शक्तिमा संलग्न हुनुअघिसम्म ६ वटा प्रयासमा पंक्तिकार असफल भइसकेको थियो । सजिलो रहेनछ, राम्रो काममा समाज जुटाउन ।
खनालजीको बोलाइ, लेखाइ र गराइको तादात्म्य र मिठास देखेर म ज्यादै प्रभावित भएको थिएँ । बाबुरामजीको भन्दा अझ सरल र मीठो लाग्छ, खनालजीको शैली । यस्ता मानिस राजनीतिमा आउनैपर्छ भन्ने मान्यता राख्थें । राजनीतिमा रामेश्वरजीलाई संलग्न गराउन बाबुरामजी र रवीन्द्र मि श्रजीसँग निकै कुरा चल्थ्यो । उनीहरू दुवैजना र मैले पनि रामेश्वरजीप्रतिको आकर्षण धेरै देख्ने गथ्र्यौं । किनकि उनी असल मात्र होइन, हामी भएकामध्ये आफ्नो विषयमा धेरै जान्ने मान्छे पनि ।
बाबुरामजीले हामीले राखेका सर्त मान्ने र दललाई लोकतान्त्रिक विधिमा लैजाने सर्तमा हामी दुई नयाँ शक्ति पार्टी निर्माणमा हौसलाका साथ जुट्यौं । यस्तै हौसलासहित हामीसँग धेरै विषयविज्ञहरू, अनुभवी साथीहरू जोडिए । मधेसको अनुहारमा टावरिङ पर्सनालिटी रामचन्द्र झा र देशव्यापी महिला अधिकार सञ्जाल सफलताका साथ सञ्चालन गर्ने लिली थापा पनि साथै हुँदा हौसला त्यसै राम्रो हुने भयो । नेपालको राजनीतिक दलमा संयोगवश यतिधेरै सिपालुहरू एक ठाउँमा संगठित भएको सायद पहिलो दल हो, नयाँ शक्ति ।
यसैको आधारमा बाबुरामजी, रामेश्वरजीलगायत हामी सबैले सञ्चारको विभिन्न माध्यमबाट ०७४ सालमा नयाँ शक्ति सरकारमा जान्छ भन्यौं । जनलहर राम्रो बन्यो । उत्साह धेरै उठ्यो । तीसबुँदे आचारसंहिता गज्जबको बन्यो । १५ पेजको आर्थिक कार्यविधि रामेश्वरजी आफैंले मेहनत गरेर बनाई प्रस्तुत गरे । यी दुवै दस्ताबेज पढेर म खुसीले भावविभोर हुन्थें । नेपाललाई सुशासन दिने कल्पनाको युगान्तकारी सुरुआत हुने भो जस्तो लाग्थ्यो ।
नयाँ शक्ति दलको विधान प्रत्यक्ष लोकतन्त्र (सदस्य सार्वभौम) र समावेशी (५ क्लस्टर) सिद्धान्तसँग मिल्ने खालको बन्यो । यो विधान कुनै अरू राजनीतिक दलको भन्दा अलग र असल बन्यो । यो विधान मस्यौदालाई हामी सबैको सामुन्ने रामेश्वरजी आफंैले अन्तिम रूप दिएका हुन् ।
मैले बाबुराम भट्टराई र रामेश्वर खनालसँग केही लिनु छैन । न यिनले लिनेवाला नै छन् । मेरो चासो र चिन्ता यति मात्र हो, मेरो मातृभूमि नेपाल हाम्रै खराब राजनीतिक संस्कारले यति धेरै थलिएकी छन्, कसरी हामीले मिलेर यिनलाई सुस्वास्थ्य र समृद्ध बनाउने भन्ने मात्र हो ।
नयाँ शक्तिको आर्थिक नीति रामेश्वरजीले धेरै मेहनत गरेर तयार गरेका हुन् । आर्थिक नीतिको सारांश नेपालका प्रमुख उद्योगपति र व्यापारीहरूलाई रामेश्वरजीले यति गज्जबले प्रस्तुत गरेका थिए कि खुसी नहुने कोही थिएनन् । समिट होटेलको प्रस्तुतिमा पंक्तिकार खुसीले रोएको थियो । रामेश्वरजीसँग लगातार वर्ष दिन काम गर्दा हर्ष र ऊर्जा मिल्थ्यो । सारै सरल, चोखो र स्पष्ट मान्छे । कञ्चन चामल जस्तै, कलकल छहरा जस्तो विचार र अभिव्यक्ति । साधा जीवन जिउन, पैदल हिँड्न, भुइँमा बस्न रुचाउने । आजको आडम्बरी, अहंकारी, ठालू समाजमा को हुन्छ यस्तो ?
नेपालको म्याक्रो इकोनोमिक्स र नेसनल एकाउन्टिङमा खनालजतिको अभ्यस्त र जान्ने कमै होलान् । बाबुरामजीलाई अर्थमन्त्रीमा सफल बनाउने मुख्य हात खनालजीकै हो । उनको यही असल गुण बुझेर होला बाबुरामजीले अति नै श्रद्धा गर्ने नेपालीमा एक नम्बरमा खनालजी नै पर्नुपर्छ । । मेरो लागि पनि बाबुरामजी भन्दा बढी श्रद्धा गर्ने व्यक्ति नै रामेश्वर खनालजी हुन् ।
रामेश्वरजी पनि मानिसै हुन् । उनको कमजोरीमध्ये ठूलो कमजोरीमा अधैर्य स्वयं आफैंले भनिसकेका छन् । आफूले भनेको कुरा भएन भने सहने कम, मन दुखाउने बढी । सीधा हिँड्न खोज्ने समाज बांगोटिंगो हिँडेको देखेर दुःखी भइहाल्ने । उनलाई चिन्ने साथीहरू भन्ने गर्छन्, ब्रिलियन्ट मानिस, कञ्चन मन, तर राजनीतिको फोहोरमा कसरी टिक्न सक्छन् ? नयाँ शक्तिको प्रणाली निर्मातामध्येका मुख्य सदस्य हुन् रामेश्वर । सबैभन्दा ठूलो योगदान उनकै छ । एक अंशमात्र धैर्य हुनासाथ उनी परमब्रह्म हो । यो कमजोरी ठूलो होइन, सच्याउन सक्छन् ।
नयाँ शक्तिमा यी दुई आत्मा एक ठाउँमा भए ‘म बूढो हलीको हलो यसमा गज्जबले जोड्ने थिएँ' भनेर यिनी दुवैलाई भनेको हुँ । भयो पनि त्यसै । मैले नेपाललाई २० वर्षभित्र संसारकै पहिलो अर्गानिक कृषि पर्यटनको देश बनाउने भनेर माइक्रो तहमा काम गरिरहेकै हो । नयाँ शक्तिमार्फत म्याक्रो तहमा पुग्न सकिन्छ भने किन नजोडिने भनेर खुसीसाथ जोडिएको हो । अर्थतन्त्रमा कृषि, त्यसमा पनि अर्गानिक कृषिको भूमिका अतुलनीय छ । यसमा परिपूरक हुन सक्छु भनेर कस्सिएर लागेको हुँ ।
यसै साथ हामीसँग पूर्वाधार, शिक्षा, स्वास्थ्य, सुरक्षा, उद्योग, व्यापार आदि क्षेत्रमा विशिष्ट सफलता हासिल गरेका सिपालु व्यक्तिहरू संलग्न भएका छन् । त्यस्तै ज्येष्ठ, बयस्क र युवाको सम्मि श्रण पनि राम्रै बन्दो छ । नेपालका राजनीतिक दलहरूले पूर्व ब्रिटिस गोरखा सैनिक र सिंगापुर पुलिस तथा भारतीय गोरखा सैनिकहरूको विशाल सीप, क्षमता र स्रोत चिनेर प्रयोग गर्न सकेका छैनन् । नयाँ शक्तिले भरपूर उपयोग गर्न तयारी गर्दैछ ।
नयाँ शक्तिले तयार गरेको विचार, नीति र कार्यक्रमलाई संघ, प्रान्त, जिल्ला हुँदै स्थानीय तहसम्म लगेर जनतामाझ पुर्याउनुपर्छ । यो हुनुपर्ने जसरी भएन । यहींबाट हामी सबैको विशेषगरी बाबुरामजीको कमजोरी देखा पर्यो । यसो हुनको कारण हामी बीचकै अक्षमता, लोभ, लालच, स्वार्थ, अविश्वास, फरक शैली हो । यसैबेलादेखि रामेश्वरजीको मन दुःखेजस्तो लाग्छ ।
आफैंले दुःख गरेर बनाएको प्रणाली उपयोग नगरी सबैले आआफ्नै शैलीमा पुरानै डम्फु बजाएपछि कसको मन दुख्दैन र ? देश बनाउने ठूलो सपना बोकेर, हौसिएर गरेका काम सामुन्नेमै सेलाएर, हेलाएर, क्रमशः जाँदा कसको मन भाचिँदैन ? मानिस बस्ने समाजमा कमजोरी, कमी र समस्या आउने भएकैले समाज व्यवस्थापन गर्न राजनीतिक प्रणाली बनेको होला । बनेपछि बिग्रने र बिगे्रपछि बन्ने नियमै हो । बिग्रिरहन्छ, बनाउनकै लागि संगठन र प्रणाली चाहिएको । नयाँ शक्ति पनि त्यही नै हो । यसमा हाम्रो भूमिका भनेको बिग्रेकोलाई सपार्ने र अरू नयाँ कुरा सिर्जना गर्दै जाने हो । मनिसले गरेको त्रुटि मानिसले नै सच्याउनुपर्छ ।
पंक्तिकार चिन्तित छ, कतै नेपालका जान्ने सिपालु विद्वान्हरू बल्लबल्ल राजनीतिमा रुचि राख्दै लोकतान्त्रिक राजनीतिमा नेतृत्व गर्न अग्रसर भइरहेको परिवेशमा फेरि कतै धक्का लाग्ने त होइन ? यसो हुन गयो भने न बाबुराम, न रामेश्वर, न मदन राई, न रामचन्द्रलाई नोक्सान हुनेछ, नोक्सान त गलत राजनीतिक संस्कृतिले थलिएको मातृभूमि नेपालको हुनेछ । यो कुरा हामी सबै प्रविधिले सम्पन्न र व्यक्तिगत लोभमुक्त भएका तथा पारिवारिक दायित्व कम भएका सबैले सोच्नैपर्छ ।
नेपाली समाज बिग्रेकैले त हामी चाहिएको हो, केही सपार्न । नजान्ने भएरै त हो पछि परेको । हामी जान्नेले नै हो जान्न सघाउने । हुन्छ र हुँदैन भन्ने दुई कुरामा हामी हुन सकेकाहरूमा पर्छौं । हामी भयौं भने अरू किन नहुने ? भलै हुनलाई जादुजस्तो वा चाहेजस्तो नहोला । तर गरेपछि एक त किन नहोला ? एकले एक गर्दै लैजान सकियो भने १० वर्षमा नभए ५० वर्षमा होला । हाम्रो पालामा नभए हाम्रो सन्ततिको पालामा किन नहोला ? म त सबै सिपालु, इमानदार, सक्षम, विद्वान् नेपालीलाई हार्दिक अपिल गर्न चाहन्छु- बाबुराम भट्टराई र रामेश्वर खनाललाई आआफ्नो कमजोरी सच्याउँदै मिलेर कोरेको प्रणालीको गोरेटोमा फेरि हिँड्ने प्रयास गरौं । म, हामी धेरैधेरै सिपालु साथीहरू तपाईंहरूसँग जोडिएर आशा गरिबसेका छौं । साथ सहयोग र सुधार गर्न हरदम तयार छौं । थलिएको मातृभूमिलाई स्वस्थ र समृद्ध बनाउन बलिदान गर्न तयार छौं ।
मैले बाबुराम भट्टराई र रामेश्वर खनालसँग केही लिनु छैन । न यिनलाई नै व्यक्तिगत लाभ हुने गरी केही दिनु नै छ । न यिनले लिनेवाला नै छन् । मेरो चासो र चिन्ता यति मात्र हो, मेरो मातृभूमि नेपाल हाम्रै खराब राजनीतिक संस्कारले यति धेरै थलिएकी छन् कि कसरी हामी नेपाली छोराछोरीले मिलेर यिनलाई सुस्वास्थ्य र समृद्ध बनाउने भन्ने मात्र हो । म त त्यसै पनि उमेर सकिएको मानिस, बाबुराम र रामेश्वर खनालको पनि धेरै समय बाँकी देखिँदैन । थलिएको आमालाई उपचार गर्ने सीप र क्षमता भएको र यहाँको समाजले आशा गरेको नागरिकहरूमा हामी नै हौं ।