ट्रम्पद्वारा जलवायु परिवर्तन नीति खारेज
वासिङटनः संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभित्रै ऊर्जामा आत्मनिर्भरता बढाउने उद्देश्यले मंगलबार कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनको यो आदेशसँगै अमेरिकामा पूर्वराष्ट्रपति बाराक ओबामा प्रशासनले लिएका प्रायी सबै नीति समाप्त हुनेछन् ।
ट्रम्पले राष्ट्रपतिको निर्वाचनकै बेला ओबामा प्रशासनका जलवायु परिवर्तनसम्बन्धी नीतिको आलोचना गर्दै आएका थिए । उनले उत्पादन बढाउन कोइला प्रयोग गर्नुपर्नेमा जोड दिँदै आएका थिए । मंगलबार हस्ताक्षर गर्दै उनले जलवायु परिवर्तन विषयमा ओबामाको भन्दा आफ्नो नीति नितान्त फरक भएको स्पष्ट पारेका थिए ।
विश्वमा देखापरेको जलवायु परिवर्तनलाई आँखा चिम्लन नहुने ओबामाको मान्यता थियो । यसैलाई आधार बनाएर ओबामा प्रशासनले जलवायु नीति बनाएको थियो । यसै अवधारणअन्तर्गत पेरिस सम्झौताको पालना गर्न अमेरिका तयार भएको थियो । यसैगरी अमेरिकाका सबै राज्यमा कार्बन उत्सर्जनको सीमा घटाउन आदेश दिएका थिए । उनले स्वच्छ ऊर्जा योजना लागू गरेका थिए । ट्रम्पको आदेशसँगै ती सबै अब खारेज भएका छन् । नयाँ आदेशले लाखौं मानिसले रोजगारी पाउने र विदेशबाट इन्धन आयात कम हुने ट्रम्प सरकारको दाबी छ ।
चुनावी अभियानका बेला ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तनबाट अमेरिका पछि हट्ने बताएका थिए । नयाँ आदेशमा हस्ताक्षर गर्दै उनले भने, ‘सरकारले कोइलाका विषयमा भइरहेको विवाद अन्त्य गर्ने घोषणा गर्छ । आज जारी गरिएको आदेशले अमेरिकी ऊर्जामा लागेको प्रतिबन्ध, सरकारी रोकटोक र रोजगारी अन्त्य गर्ने नीतिमा ऐतिहासिक कदम लिएको छु ।’ यसबाट उर्जाका लागि प्रयोग गरिने कोइलाको विरोध र रोजगार रोक्ने नीति समाप्त भएको उनले घोषणा पनि गरे । औद्योगिक क्षेत्रले ट्रम्पको नीतको प्रशंसा गरेको छ भने वातावरण क्षेत्रमा काम गर्ने संस्थाले असन्तुष्टि व्यक्त गरेका छन् ।