पेरिसमा तनावः प्रहरीको गोलीबाट एक चिनियाँकाे मृत्यु

पेरिसमा तनावः प्रहरीको गोलीबाट एक चिनियाँकाे मृत्यु

पेरिसः चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरू तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् ।

सरकारविरोधी प्रदर्शनको दोस्रो दिन मंगलबार राति पेरिसको उत्तरपूर्वी इलाकामा ठूलो संख्यामा चिनियाँ मूलका फ्रान्सेलीहरू भेला भई प्रहरी-अत्याचारको घोर विरोध गर्दै हिंसात्मक प्रदर्शनीमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले यस घटनाको उच्चस्तरीय कूटनीतिक अनुसन्धान गरिनुपर्ने र हत्यारा प्रहरीलाई कडाभन्दा कडा सजाय दिइनुपर्ने माग गरेका छन् ।

गत आइतबार साँझ चिनियाँ मूलका एकजना पेरिसवासी - ५६ वर्षीय साओयो लिउलाई उनी बस्ने अपार्टमेन्टमा पुगेर फ्रान्सेली प्रहरीले गोली हानी हत्या गरेको थियो । हत्या भएपछि फ्रान्सवासी सम्पूर्ण चिनियाँहरू आक्रोशित भएका थिए । उनीहरूले त्यसको विरोधमा प्रदर्शन गर्दा घटनाले अकल्पनीय रूप लिन पुगेको जनाइएको छ ।

घटनाको प्रारम्भिक र उत्पन्न कारणको सम्बन्धमा स्थानीय बासिन्दा, प्रदर्शनकारी तथा सरकारको आ-आफ्नै भनाइ र दाबी रहेको छ । मृतक लिउले नशाको सुरमा प्रहरीलाई बिनाकारण ठूलो र धारिलो हतियारले प्रहार गरी मार्ने प्रयास गरेको प्रहरीको आरोप छ । उनले आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा दुर्भाग्यपूर्वक उनको मृत्यु हुन पुगेको प्रहरीको दाबी छ । प्रहरीले जानाजानी मारेको होइन भन्ने सरकारी कथन छ।

स्थानीय बासिन्दा तथा मृतकका आफन्तहरूले भने सरकारको यस्तो भनाइप्रति आपत्ति जनाएका छन् । आफ्नो घरभित्र बालबच्चा तथा परिवारजनसँगसँगै बसी रमाइलो गरी बसेका व्यक्तिले प्रहरीमाथि आक्रमण गरेको भन्ने तर्क गर्नु हास्यास्पद रहेको चिनियाँहरूको भनाइ छ । मृतकका आफन्त र परिवारजनले बेलुका खानाका लागि माछाको तरकारी काटिरहेको अवस्थामा प्रहरी जबरजस्ती घरभित्र घुसेर आतंक मचाएको बताएका छन् । प्रहरीले जानीजानी ताकेरै गोली हानी लिउको हत्या गरेको, लिउको हातमा कुनै ठूलो र धारिलो हतियार पनि थिएन, कसैलाई कुनै चोट पनि पुर्‍याएको थिएन भन्दै उनीहरूले घटनामा प्रहरीले गल्ती गरेको उनीहरूको भनाइ छ । परिवनरजनले भने, ‘प्रहरीले नै उनको ठाडो र निर्मम हत्या गरेको छ ।'

अत्यन्त आक्रोशित प्रदर्शनकारीहरूद्वारा गत सोमबार राति पेरिसमा गरिएको हिँसात्मक विरोध प्रदर्शनले भयानक रूप लिएको थियो । चिनियाँ प्रदर्शकारी र प्रहरीबीच घण्टौंसम्म भएको झडपमा तीनजना प्रहरी अधिकारीहरू नराम्ररी घाइते भएका थिए । प्रहरीले भने आफूमाथि जथाभावी ढुंगामुढा गरिएको, सार्वजनिक सम्पत्ति तोडफोड गरिएको, यातायात अवरुद्ध पारिएको र सडकमा गुडिरहेका थुप्रै गाडीमा आगजनी गरिएकाले आफूले भीडमाथि कारबाही गर्नु बाध्य भएको जनाएको छ । आइतबार र सोमबार दुई दिनमा ७५ जनाभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले स्पष्ट पारेको छ ।

फ्रान्समा बसोवास गर्दै आउने एसियाली आप्रवासीहरूको संख्यामध्ये चिनियाँहरूको संख्या नै सबभन्दा बढी रहेको जनाइन्छ । करिब ६ करोड साठी लाख जनसंख्या रहेको फ्रान्समा बीस लाख जति चिनियाँ आप्रवासी तथा चिनियाँ मूलका पुराना बासिन्दा स्थायी बसोवास गर्दै आएका छन् । जनसंख्या यो हिस्साले आफूहरूलाई फ्रान्सेली रैथाने बासिन्दा र सरकार समेतले जहिले पनि थिचोमिचो र अन्याय गरिरहने, विदेशी हरिकंगालहरू भनी हेप्दै बारम्बार घृणा र अवहेलना गरिरहने, सरकारले पनि कहिल्यै कुनै सामाजिक संरक्षण उपलब्ध नगराउने उनीहरूको गुनासो छ ।

यता, चीन सरकारले बेइजिङस्थित फ्रान्सेली राजदूतावाससँग उक्त घटनाको कारण र मानव क्षतिका सम्बन्धमा स्पष्टीकरण मागेको छ । चीनले फ्रान्सेली सरकारसँग उक्त घटनाको गहिराइसम्म पुगी छानबिन गर्न र चिनियाँ नागरिकले विश्वको जुनसुकै कुनामा शान्तिपूर्ण मार्गबाट आफ्ना भावना र आकांक्षा व्यक्त गर्न पाउनुपर्ने माग गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले जानकारी दिए । —रासस/एपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.