इयुबाट बेलायत बाहिरिन सुरु

इयुबाट बेलायत बाहिरिन सुरु

लन्डनः बेलायतले युरोपेली संघ (इयु)बाट बाहिरिने प्रक्रिया (ब्रेक्जिट) बुधबार सुरु गरेको छ । पुरानै अवस्थामा नरहने र ऐतिहासिक मोडतर्फ मुलुकलाई लैजान चाहेकाले संघबाट बाहिरिने प्रक्रिया सुरु गरेको बेलायतले जनाएको छ । इयुको ६०औं वार्षिकोत्सव मनाएको केही दिनपछि बेलायत त्यसबाट बाहिरिने पहिलो देश बनेको हो ।

‘यो एउटा ऐतिहासिक क्षण हो, जहाँबाट हामी पछाडि फर्कन चाहन्नौं', बेलायतकी प्रधानमन्त्री थेरेसा मेले संसद्मा भनिन् । बेलायतका जनताले इयुबाट बाहिरिने पक्षमा मतदान गरेको केही महिनापछि प्रधानमन्त्री मेले आगामी दुई वर्षमा बेलायत बाहिरिने गरी प्रक्रिया सुरु गरेकी हुन् । उनले भनिन्, ‘अनुच्छेद ५० को प्रक्रिया सुरु भएको छ । बेलायतका जनताको चाहनाको सम्मान गर्दै बेलायत इयुबाट अलग भएको छ ।' यसका साथै थेरेसाले बेलायतमा रहेका इयुका सदस्य देशका नागरिक र इयुमा रहेका बेलायती नागरिकको अधिकारको सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिएकी छन् । यसका निम्ति ‘प्रारम्भिक सम्झौता' चाहेको उनले स्पष्ट पारिन् ।

ब्रसेल्सस्थित युरोपेली संघका लागि बेलायती राजदूत सर टिम ब्यारोले संघबाट बाहिरिनका लागि युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टस्कलाई प्रक्रिया अगाडि बढाउन बुधबार पत्र हस्तान्तरण गरेका थिए । ब्यारोले पत्रकारको उपस्थितिमा बेलायतका तर्फबाट आधिकारिक पत्र टस्कलाई बुझाएका थिए । पत्रमा इयुका अरू २७ सदस्यहरूलाई आधिकारिक सूचना दिएर बेलायतले लिस्बन सन्धिको अनुच्छेद ५० लागू गरेको जानकारी दिइएको छ । अनुच्छेद ५० मा अहिले तोकिएको समयसीमा नबढाइएको अवस्थामा बेलायत सन् २०१९ देखि इयुबाट अलग हुने व्यवस्था छ ।

पत्र पाएपछि अध्यक्ष टस्कले आफूहरूले बेलायतलाई गुमाउनुपर्दा दुःख लागेको बताउँदै यस बारेमा चाँडै छलफल सुरु गर्ने जानकारी दिएका थिए । सम्बन्ध विच्छेद बारेको सहमति र भविष्यमा बेलायत र इयुको सम्बन्धका बारेमा छलफल हुने भएको हो । गत जुनमा भएको जनमत संग्रहमा ब्रेक्जिट पक्षधर विजयी भएपछि इयुसँग बेलायतको लामो सम्बन्ध तोडिने निश्चित भएको थियो ।

बेलायत बाहिरिनु इयुका लागि नराम्रो

स्लोभानियाः स्लोभानियाका विदेशमन्त्री कार्ल इर्जाभेकले इयुबाट बेलायत बाहिरिँदा बेलायत र संघ दुवैलाई राम्रो नहुने बताएका छन् । इयुबाट बाहिरिनका लागि बेलायतले युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कलाई प्रक्रिया अगाडि बढाउन पत्र दिएपछि उनले दुःख व्यक्त गरेका हुन् । उनले बेलायत र इयुको आगामी दिनको सम्बन्धका बारेमा स्लोभानियाका लागि बेलायती राजदूत सोफी होनीसँग आफूले विचार आदानप्रदान गर्न लागेको जानकारी दिएका थिए । विदेशमन्त्री इर्जाभेकले बेलायत र स्लोभानियाको सहकार्यमा यसले कुनै असर नपार्ने विश्वास व्यक्त गरेको स्लोभानियाको सरकारी समाचार संस्था स्लोभानियन प्रेस एजेन्सीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.