डी-म्याक्स मोडेलका इसुजु गाडी
काठमाडौः इसुजुको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा भर्खरै डी-म्याक्स मोडेलमा ‘भी-क्रस' र ‘एस-क्याब' गाडी भित्र्याएको छ । इसुजु डिजेल इन्जिनमा आधारित यी गाडी नयाँ युगको डी-म्याक्स प्ल्याटफर्ममा निर्माण गरिएको छ । यी गाडी टफ, टिकाउका साथै आकर्षक रहेका छन् । यी गाडीले इसुजुको परिचय दिने पनि बताइएको छ ।
कम्पनीका अनुसार डी-म्याक्स मोडेलको भी-क्रस दोस्रो पुस्ताको पिक-अप भ्यान हो । १३४ एचपी पावरमा आधारित यो पिक-अपमा हाई प्रेसर कमन रेल फ्युल इन्जेक्सन डिजेल इन्जिनको प्रयोग गरिएको छ । पाँच स्पिड म्यान्युएल ट्रान्सिमिसनमा आधारित यो इन्जिनले ३२० एनएममा १८००-२८०० आरएमपीसम्मको टर्क पावर प्रदान गर्नेछ ।
यो पिक-अप अफ रोडका लागि आवश्यक पर्ने फोरडब्लूडी ड्राइभ मोड, हाई राइड सस्पेन्सन, हाई ग्राउन्ड क्लियरनेसजस्ता विशेषता छन् । यो गाडीमा प्रोजेक्टेड हेडल्याम्प, १६ इन्चको एल्लोइ ह्विल, स्पोर्टी रुफटफ, आकर्षण भित्रि बनावट, आरामदायी सिट, स्टेयरिङमा अडियो कन्ट्रोल सिस्टम, आईपड र ब्लुटुथ कनेक्टिभिटीजस्ता सुविधा छन् । यो पिक-अप २.५ लिटर र ३.० लिटर गरी दुई भेरिएन्टमा बजारमा उपलब्ध छ । यसको बजार मूल्य क्रमशः ६० लाख ९० हजार र ७२ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनीले बजारमा ल्याएको अर्को पिक-अप डी-म्याक्स ‘एस-क्याब' मा पाँच सिट क्षमता छ । ७८ एचपी पावर भएको यो पिक-अपले १७६ एनएममा १८००-२८०० आरएमपीसम्मको टर्क पावर प्रदान गर्नेछ । सुरक्षा र आरामदायी यो गाडीको बाहिरी र भित्रि बनावट आकर्षक रहेको कम्पनीले जनाएको छ । यसको बजार मूल्य ३९ लाख ९० हजार रहेको कम्पनीले जनाएको छ ।