संविधान संशोधन नभए चुनावविरुद्ध सशक्त प्रतिकारः यादव
धनकुटा: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए अहिलेकै परिस्थितिमा स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका हुन्।
संघीय समाजवादी फोरम नेपाल धनकुटाको प्रथम जिल्ला अधिवेशनको बिहीबार उद्घाटन गर्दै यादवले मधेसी, जनजाति र आदिवासी खसक्षत्रीको भावनालाई कुल्चेर चुनाव भए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्। ‘संघीयतामा स्थानीय तहको निर्वाचन प्रदेश सरकारले गर्छ। तर, ठूला दलको आडमा केन्द्रीय सरकारले चुनाव गराउने तयारी गरिरहेको छ। यो संघीयताको मर्म विपरीत छ,’उनले भने।
अहिलेको स्थानीय तह विकेन्द्रित र प्रशासनिक संघीयता मात्रै भएको बताउँदै उनले जातीय र पहिचानको अधिकारलाई सम्बोधन नगरेको बताए।उनले भने,‘स्थानीय तहले जनतालाई सेवा दिने भन्दा पनि यातना दिने कार्य गरिएकोले पुर्नसंरचना आवश्यक छ।’ यादवले नेपालको संविधान अन्तर्राष्ट्रिय जगतले अस्वीकार गरेकाले संविधान संशोधन नगरे आन्दोलनबाट संविधान खारेज गर्ने चेतावनी समेत दिए।